१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ को जोखिम बढेसँगै साधारण सेयर निष्कासनमा समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:३९:oo

कोभिड–१९ को संक्रमणको दर बढिरहँदा सेयर बजारमा पनि त्यसको प्रभाव पर्न थालेको छ । संक्रमणको दर बढ्दै जाँदा साधारण सेयर निष्कासन गर्न र आवेदन दिनका लागि समस्या हुन थालेको छ । धितोपत्र बोर्डबाट स्वीकृत लिएका निष्कासनको मिति नै तोकेका केही कम्पनीसमेत रोकिन पुगेका छन् । 

निष्कासनमा आएको मध्य भोटेकोसी जलविद्युत् कम्पनीले वैशाख २१ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन गरेको साधारण सेयर नै बढ्दो कोरोना संक्रमणका कारण रोक्न बाध्य भएको थियो । कोरोना भाइरसको संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा वैशाख २३ गतेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएपछि साधारण सेयर नै स्थगित गर्नुपरेको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

कम्पनीले पहिलो चरणमा १ सय  रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता सेयर आयोजना प्रभावितका लागि निष्कासन सुरु गरेको थियो । सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५, ६, ७ र ८ मा स्थायी बसोवास गर्ने बासिन्दाका लागि निष्कासन सुरु गरिएको सेयर स्थगित गरिएको हो । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसको संक्रमणको कारणले तत्काल साधारण सेयर निष्कासन र आवेदनमा कुनै समस्या नभएको जानकारी दिएको छ । तत्काल स्वीकृत भएको भए पनि कम्पनीले निष्कासन गर्नका लागि २ महिनाको समय लाग्ने गर्छ । तर, अहिले तत्काल आउने कुनै पनि साधारण सेयर छैनन् । कोरोना भाइरसकै कारण साधारण सेयर निष्कासनमा कुनै समस्या नभएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए । 

८५ प्रतिशतभन्दा बढी आवेदन मेरो सेयरबाटै हुने हुँदा अहिले तत्काललाई कुनै समस्या नभए पनि जोखिमको मात्रा सम्बन्धमा मर्चेन्ट बैंकहरूसँग छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने गिरीले बताए । गिरिले भने, ‘अहिलेसम्म कुनै त्यस्तो समस्या आइपरेको छैन, भोटेकोसीको हकमा भने जिल्लावासीको हुने हुँदा बैंकमै पुग्नुपर्ने र सबैको मेरो सेयरबाट कारोबार नहुने हुँदा तत्काललाई रोकेको हो ।’ 

एनएमबि क्यापिटलका प्रमुख श्रीजेस घिमिरेले तत्काललाई कुनै समस्या नभए पनि बोर्डले १ महिनाअघि नै निष्कासन अनुमति दिनुपर्ने साधारण सेयरलाई पनि कोभिडकै कारणले केही ढिलो गरेर अनुमति दिन थालेको हुन सक्ने बताए । निष्कासन प्रबन्धक एनएमबि क्यापिटलबाट मनकामना विकास लघुवित्तको सेयर निष्कासन हुने भएको छ । बोर्डले कोभिडकै प्रभावका कारणले पनि ढिलो गरी अनुमति दिएको घमिरेले बताए । त्यस्तै, सेयर बाँडफाँडमा पनि कर्मचारीको अभाव हुँदा समस्या सिर्जना हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार साधारण सेयर निष्कासन गर्नै नसक्ने, आवदेन नै दिन नसक्ने भने अवस्था अहिले छैन । सबै डिजिटल माध्यमबाट हुने हुँदा समस्या नभएको उनको भनाइ छ । घिमिरेले भने, ‘घरमै बसेर सेयर भर्न सक्ने अवस्था हुँदा कोरोना केही समस्या भएको भए पनि साधारण सेयर निष्कासन र आवदेनमा समस्या छैन, तर पनि केही असहज अवस्था भएका लगानीकर्ताका लागि के गर्न सकिन्छ भन्ने विषयमा बोर्डसँग र कम्पनीसँग समन्वय गरेर अघि बढ्नेछौँ ।’   

ad
ad