मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
डा. लुना भट्ट शर्मा
२०७८ बैशाख २७ सोमबार १०:०४:००
Read Time : > 13 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

खोप लगाएका व्यक्ति संक्रमित हुन सक्छन्, तर गम्भीर बिरामी हुने सम्भावना कम छ

Read Time : > 13 मिनेट
डा. लुना भट्ट शर्मा
२०७८ बैशाख २७ सोमबार १०:०४:००

भ्याक्सिनप्रति अति विश्वास हुने वा भ्याक्सिन केही पनि हैन भनेर अति निराश हुनेलाई के सन्देश दिनुहुन्छ ?
अहिलेसम्म सबैभन्दा धेरै रोगप्रतिरोधी क्षमता दिनेचाहिँ दादुराविरुद्धको खोप हो । मैले त्यसैमा विद्यावारिधि गरेको हो । कोभिडको खोप आपत्कालीन अवस्थामा विकास गरिएको हो । अनुसन्धानदेखि उत्पादनसम्म एक वर्षभित्रै भयो । खोप प्रभावकारी हुने तरिका फरक–फरक हुन्छ । कतिपय कुरा ट्रायल गर्दागर्दै सिक्दै छन् ।

अस्ट्राजेनेका खोप बनाउने क्रममा सुरुमा आधा डोज दिइयो, एक महिनापछि पूरै डोज । त्यसको ‘इम्युन रेस्पोन्स’ राम्रो देखियो । कोरोना भाइरस हरेक वर्ष आइरहने भाइरस हो । वास्तै नगरेको भाइरस, आउँथ्यो–जान्थ्यो । इबोला पनि त्यस्तै वास्ता नगरिएको भाइरसले ल्याएको हो । यसैले धेरै अध्ययन भएन, औषधि पनि थिएन । भ्याक्सिन त झन् सोच्दै सोचिएन । सार्सको संकटमा थोरै थाहा भयो । तर, सार्स थोरै देशमा फैलिएको थियो, नियन्त्रणमा आइहाल्यो । मर्स आयो, त्यो पनि खास–खास क्षेत्रमा मात्रै देखियो, नियन्त्रण भयो । यसबारे ठोस ज्ञान थिएन । 

‘इम्युन रेस्पोन्स’ कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । पुनः संक्रमण हुन्छ कि हुँदैन, थाहा थिएन । मौसमी कोरोना भाइरसमा पुनः संक्रमण भए पनि सार्स, कोभिडमा हुन्छ कि हुँदैन, थाहा थिएन । खोप त आयो, तर यसले कति समयसम्म रक्षा गर्छ, थाहा छैन । हरेक दिन अध्ययन/अनुसन्धानका नतिजा आइरहेका छन् । खोपले कति र कसरी काम गर्छ भन्नेमा हामी सिक्ने चरणमै छौँ । अनन्त कालका लागि नभए पनि, पुनः संक्रमण हुने भए पनि हामीले खोप लगाउनुपर्छ । पहिले खोप १८ वर्षमाथिकालाई मात्रै थियो । अहिले १८ वर्षमुनिकालाई पनि ट्रायल भइरहेको छ । 

यहाँ दोस्रो डोज लगाएपछि संक्रमित भएका केसहरू सुनिए । यो भ्याक्सिनको कारणले हैन है । पहिलो डोज लगाउने चरणमा दोस्रो लहरले कहरको रूप लिइसकेको थिएन । दोस्रो डोज लगाउने वेलामा त दोस्रो लहरको कहर सुरु भइसकेको थियो, खोप केन्द्रमा भीडभाड पनि धेरै भयो । भीडभाड, अव्यवस्थाको कारण खोप केन्द्रबाटै धेरैले भाइरस लिएर घर फर्किएको अनुमान गर्न सकिन्छ । दोस्रो डोज लिएको चार–पाँच दिनमा लक्षण देखिएको सुनिएको छ । खोप लगाएपछि पूरै सुरक्षित भइयो भन्ने पनि धेरैलाई लाग्यो । खोप औषधि हैन, शरीरमा अब हुने संक्रमणसँग लड्न बलियो पार्ने मात्रै हो । त्यो पनि निश्चित समय मात्रै । खोप लगाएका व्यक्ति संक्रमित हुन सक्छन्, तर गम्भीर बिरामी हुने सम्भावना कम छ ।

तपाईं त भाइरोलोजिस्ट, भाइरसका भेरियन्टबारे भन्दिनुहुन्छ कि ? 
भेरयिन्टहरू थरीथरीका छन् । युके भेरियन्ट सुरुमै देखिएको हो, अत्यन्त संक्रमणशील छ । ब्राजिल भेरियन्ट यहाँ आएको छैन । साउथ अफ्रिकन भेरियन्ट पनि छ । अहिले इन्डियन भेरियन्ट चलिरहेको छ । भारतमा पनि साउथमा एउटा, पन्जाबमा अर्को, पश्चिम बंगालतिर अर्को खालको भेरियन्ट फैलियो । दक्षिण भारतमा पनि पहिले एउटा र पछि अर्को भाइरस फैलियो । यसमा पुनः संक्रमण हुने धेरै केस देखिए । नयाँ चरणमा भाइरसलाई फैलिन र प्रतिरोधी क्षमता दबाउन सजिलो हुन्छ । यस्तो खालको भाइरसले पुरानोलाई विस्थापित गरेर स्थापित हुन थाल्छ । यही क्रममा भारतमा डबल म्युटेन्ट देखियो । पश्चिम बंगालमा देखिएकाले रोगप्रतिरोधी क्षमतालाई नै छल्न सक्ने देखियो । अहिले भारतमा पुराना भेरियन्टहरूलाई विस्थापित गरेर नयाँ भेरियन्टहरू बढी आक्रामक देखिएका छन् । 

महामारीले आमनिराशा पैदा गरेको छ । लकडाउनमा रोजगारी गुम्नु, काम ठप्प हुनु, परिवारका सदस्य संक्रमित हुनु वा गुमाउनु, अस्पतालमा बेड नपाउनु आदिले निराशा थपिदिएको छ । आममानिसमा आशा जगाउने कसरी ?
लकडाउनले दैनिकी असामान्य बनाएकाले पनि डिप्रेसन बढाइरहेको छ । संक्रमण नियन्त्रण गर्न लकडाउनको अवधि लम्ब्याउँदै लानुपर्ने हुन सक्छ । यस्तोमा अवस्था सहज बनाउन राहत व्यवस्था गर्ने हो । राहत व्यवस्थापन गर्न मेकानिजम बनाउने हो । लकडाउनमा दैनिक ज्यालामजदुरी गरेर खाने वर्गलाई व्यवस्थापन गर्नुपर्‍यो । सरकारले खोप अभियान सुरु ग¥यो, तर खोप केन्द्रबाटै कोभिड संक्रमण भइरहेका उदाहरण छन् । नियन्त्रणका प्रभावकारी कदमका साथै राहतबाटै आशा जगाउनु पर्‍यो । 
संक्रमित भइसकेका व्यक्तिले खोपको एक डोज मात्रै लगाउँदा प्रभावकारी हुन्छ ?
सामान्यतया संक्रमण भोगिसकेकामा एन्टिबडी उत्पादनको प्रक्रिया सुरु भइसकेको हुने र एक डोज खोप लगाउँदा एन्टिबडी छिटो उत्पादन हुुने भएकाले दुइटा खोप लगाएसरह हुने गर्छ । एकपछि अर्को भाइरसका अनेकन् म्युटेन्ट देखिएकाले सबैमा यही लागू हुन्छ भन्ने चाहिँ छैन । यसैले महामारी अन्त्य नभएसम्म सावधानी अपनाउन आवश्यक छ |

 

भेरिएन्ट नयाँ–नयाँ आउँछन्, गम्भीर तयारी गर्नु आवश्यक छ : डा. जनक कोइराला

सिकिस्त बिरामीको जीवनरक्षा हुने आसमा मान्छे प्लाज्मा खोज्दै भौँतारिएका छन् । प्लाज्माथेरापीले जीवन रक्षा गर्ने सम्भावना कति छ ?
उपचारमा प्लाज्मा चलाउन थालेको करिब ६० वर्ष भइसक्यो । भ्याक्सिन लिँदा जस्तै एन्टिबडी संक्रमणबाट गुज्रिसकेका मान्छेको रगतमा पनि हुन्छ । एन्टिबडी कसैको धेरै हुन्छ, कसैको कम । उपचारका उपाय पहिचान नभएको महामारीको सुरुवात कालमा प्लाज्माको एन्टिबडीले बचाउँछ कि भनेर उपचारमा थोरै यो विधि प्रयोग गरियो । केहीलाई फाइदा पनि भयो । अमेरिकामा विस्तृत अध्ययन भयो । प्रमाणको आधारमा वृद्धवृद्धा, दीर्घरोग भएकालाई सुरुकै चरणमा प्लाज्मा दिइयो भने मृत्युबाट बचाउन पनि सकिने देखियो ।

गम्भीर भएर अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्लाज्माले खासै लाभ गर्दैन, डुबिरहेकालाई सिन्काको सहारा भने जस्तो मात्रै हो । अगाडि नै दिइयो भने चाहिँ प्लाज्माले काम गरेर जोगाउन सक्छ । सुरुकै अवस्थामा प्लाज्मा दिनका लागि खोज्नुप¥यो । त्यतिको धेरै प्लाज्मा पाउन पनि गाह्रो छ । बिरामी गम्भीर अवस्थामा भएको वेला हतासमा परिवारजनले उपचार मात्र होइन, पूजा–पाठ, भाकलले हुन्छ कि भनेर हरसम्भव यत्न गर्छन् । चिकित्सकले प्लाज्माले गर्छ कि भन्दिए प्लाज्मा खोज्न थाल्छन् । तर, चिकित्सकले त्यो अवस्थामा के गर्ने, के नगर्नेमा सही निर्णय गर्न सक्नुपर्छ । गम्भीर अवस्थामा पुगेपछि भाइरसलाई मार्नेभन्दा पनि दबाउने हो । यसमा स्टेरोइड प्रकारका औषधि, अक्सिजन काम लाग्छ भन्ने वैज्ञानिक रूपले प्रमाणित भइसकेको छ । गम्भीर अवस्थामा पुगिसकेकोमा प्लाज्मा प्रभावकारी हुँदैन । 

रेम्डेसिभिर सुईको कालोबजार भइरहेको छ । यसको प्रभावकारिताको प्रमाण के छ ? कि प्लाज्माकै जस्तो फाइदै नहुने अवस्थाका लागि बिरामीका परिवारजन सुई खोज्दाको सास्ती व्यहोरिरहेका छन् ?
कोभिडका दुइटा चरण छन् । पहिलो दुई–तीन दिनदेखि भाइरस मल्टिप्लाई (गुणा) गर्दै विकसित हुँदै जान्छ । शरीरले भाइरसलाई चिनिसकेको हुँदैन । प्रतिरक्षा गर्ने प्रणाली बनाइसकेको हुँदैन । तर, भाइरस यस्तोसँग फैलिँदै जान्छ कि हप्तादिनमा शरीरका कोषहरूमै आक्रमण गर्न थाल्छ । कोषहरूमा आक्रमण भएपछि हाम्रै प्रतिरक्षा प्रणालीले हामीलाई बिरामी पार्ने हो । यसवेलामा प्लाज्मा पनि काम छैन, रेम्डेसिभिर पनि काम छैन, कुनै एन्टिभाइरल काम छैन । त्यो वेला हाम्रो रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि स्टेरोइड नै हो । यसैले ढिलो भएपछि प्लाज्माका लागि हारगुहार गर्न जरुरी हुन्न । कालोबजारमा रेम्डेसिभिर खोजेर सास्ती व्यहोर्नु पर्दैन । 
दोस्रो लहरमा युवा काफी प्रभावित भए । तेस्रो लहर फैलिए बालबालिका उच्च जोखिममा रहने अनुमान गरिन थालिएको छ । कतिको सत्य हो ?
सुरुमा देखिएको भाइरसले बालबालिकामा संक्रमण गराउँदैन, भइहाले पनि लक्षण नहुने अध्ययनले देखाएको थियो । बिस्तारै भाइरस म्युटेसन (रूपान्तरण) हुँदै गएपछि बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ । हाल प्रयोग गरिएका भ्याक्सिनबाट बालबालिका लाभान्वित नहुनु, विद्यालय खोलिनु आदिले अर्को लहरमा बालबालिका बढी प्रभावित हुने अनुमान गरिएको हो । हाल प्रयोगमा आएका खोप १६ वर्षभन्दा माथिकालाई मात्रै प्रयोगमा ल्याइनुले पनि बालबालिका जोखिममा छन् । हालसम्म बालबालिकामा संक्रमणले जटिल रूप नलिए पनि भाइरसले शरीरको प्रतिरोधी क्षमतामा पर्ने असरका कारण केही समयपश्चात् अन्य समस्या देखिने गरेको छ । यस्ता केसहरू हाल थोरै संख्यामा हुँदा जोखिम नदेखिए पनि महामारीमा बालबालिकाको ख्याल राख्न आवश्यक छ । 
कोभिड नियन्त्रणका लागि लकडाउन वा निषेधाज्ञा कति लम्ब्याउन सकिन्छ ? 
यो बाध्यता हो । निषेधाज्ञा–लकडाउन लम्बिँदै जाँदा खान–बस्नै मुस्किल हुन थालेको छ । ताइवान, न्युजिल्यान्ड आदि देशले लकडाउनविनै संक्रमण नियन्त्रण गरेका छन् । हामीकहाँ दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने, भीडभाड नगर्ने, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने जस्ता मापदण्ड पालन गराउन सकिएन ।

भारतमा जस्तो अक्सिजन र बेड नपाउने अवस्था नआओस् भन्नका खातिर मात्रै निषेधाज्ञा आवश्यक भएको हो । अस्पताल भर्ना हुने, संक्रमण र मृत्युदर नघटेसम्म लकडाउन आवश्यक छ, कम्तीमा एक महिना जान सक्छ । धेरै लम्ब्याउने कि नलम्ब्याउने चाहिँ नागरिकको हातमा पनि छ । सुरक्षा सतर्कता एकदमै पालना भए लकडाउन नगरी लड्ने जोखिम मोल्न सकिन्छ । 
संक्रमण व्यवस्थापनका लागि समुदायले आइसोलेसन सेन्टर निर्माण गर्न थालेका छन् । दक्ष जनशक्ति र व्यवस्थापनमा कमी भई ती आइसोलेसन सेन्टर नै संक्रमण सेन्टर बन्ने जोखिम छ कि छैन ? 
समुदायमा संक्रमण फैलिन नदिन आइसोलेसन सेन्टर आवश्यक देखिएको हो । पछिल्लो समय अक्सिजन र चिकित्सक आवश्यक पर्ने बिरामीको संख्या बढी हुँदा आइसोलेसन सेन्टरको आवश्यकता झन् बढेको छ । लक्षण नभएका संक्रमित घरमै आइसोलेसनमा बस्न उचित हुन्छ । आइसोलेसन सेन्टर व्यवस्थित नहुँदा जोखिम बढ्न सक्छ । अक्सिजन, औषधि चलाउन दक्ष जनशक्तिको सेवा अपरिहार्य हुन्छ । साथै, संक्रमण नियन्त्रणको उपाय नभई आइसोलेसन सेन्टर खोल्न दिनु हुँदैन । 
दोस्रो लहर भारत हुँदै नेपाल आयो । यो हाम्रो लागि कति अपेक्षित थियो ? अर्काे, यो जति घातक देखिएको छ, घातक भाइरसको शक्तिले हो या हाम्रो अव्यवस्थाले हो ?
दोस्रो लहर आउँछ, तेस्रो पनि आउँछ भन्ने पूर्वानुमान थियो । श्वासप्रश्वासबाट सर्ने यस्ता भाइरस यसै गरी आउने गरेको विगत छ । कोरोना भाइरस पुरानै हो, आइरहेकै छ । यो (नोवेल कोरोना) भाइरस अझै सिकिस्त पार्ने किसिमको हुनाले वर्षैपिच्छे आउने र हामीबीच रहनेवाला छ । रोगप्रतिरोधी क्षमता विकसित हुँदै गएपछि कम सिकिस्त बनाउला, तर यो हराइहाल्नेवाला छैन । त्यसैले हामी तयारी अवस्थामा रहनुपथ्र्यो । पहिलो लहर हाम्रोमा खासै घातक देखिएन ।

सुरुमा देखिएको भाइरसले बालबालिकामा संक्रमण गराउँदैन, भइहाले पनि लक्षण नहुने अध्ययनले देखाएको थियो । बिस्तारै भाइरस म्युटेसन हुँदै गएपछि बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ ।

सरकार–नागरिक सबै सतर्क भएका पनि हौँ । सीमा बन्द गर्ने, घरभित्रै बस्ने, मास्क लगाउने आदि सुरक्षा सतर्कता अपनाएका थियौँ । लकडाउनको पनि धेरै हदसम्म पालना भएको थियो । मान्छेले दुःख पाए पनि दुःखअनुसारको फल पनि पाइएको थियो । भाइरसले भयानक रूप देखाउन पाएन, मानवीय क्षति थोरै भयो । त्यसपछि हामी नेपालीलाई त कोरोनाले नसक्ने रहेछ भन्ने भ्रम पर्‍यो ।

कसैले हिमाली चिसो हावा पाएकालाई कोरोनाले केही गर्न सक्तैन भने, कसैले बर्गर खाने पो कमसल हुन्छन्, मसलासहितको तरकारी, दाल–भात खानेलाई कोरोनाले के गर्न सक्छ भन्ठाने । कसैले पूर्वीय सभ्यता किन पश्चिमभन्दा उत्कृष्ट छ भनेर व्याख्या गर्न भ्याए । कुरा पूर्व वा पश्चिमको होइन, वैज्ञानिक–प्रामाणिकताको हो । पोहोर महामारी नियन्त्रणमै रहेको सत्य हो । अहिले किन यस्तो भयावह ? उत्तर स्पष्ट छ, हाम्रो हेलचेक्र्याइँ । हामीले कोरोनालाई जित्यौँ भन्ने भाव सरकारदेखि सर्वसाधारणसम्मै आयो । कतिपय चिकित्सकमा समेत आयो । अहिलेको भाइरस पोहोरको भन्दा फरक छ, म्युटेसन भएको भाइरस हो, दु्रत गतिमा फैलिन्छ ।

युवा उमेरसमूहका मान्छेमा पनि लक्षण देखिइहाल्छ । भाइरसको मात्रा (भाइरल लोड) पनि बढी देखिएको छ । हाच्छ्युँ गर्दा पहिले सयवटा निस्किन्थ्यो भने अहिले लाखवटा निस्किन्छ । भाइरल लोड बढी भएकाले पहिला एकजनाबाट दुईजनामा सथ्र्याे भने अहिले दर्जनमा सर्छ । 

खोपबारे विविध र परस्पर विरोधी धारणा छन् । बेलायतमै पनि खोप लगाएपछि त्यहाँको एउटा सीमान्त समुदाय ‘हामीमाथि परीक्षण गर्न ल्याएको, बहिष्कार गर्नुपर्छ’ भनेर खोपविरोधी अभियान चलाउन पुग्यो । हाम्रोमा पनि सुरुमा खोप लगाउन उति आकर्षित भएनन् । कतिपय चिकित्सक–स्वास्थ्यकर्मीले लगाएनन् । दोस्रो लहर सुरु भएपछि खोप केन्द्रमा एक्कासि भीड हुन थाल्यो । फेरि पनि खोप लगाएकै संक्रमित भए भनेर त्रास छ ।

खोपले मानिसलाई सुरक्षित बनाउँछ भनेर ढुक्क हुने अथवा यसले केही पनि गर्दैन भनेर डराउने वा उपेक्षा गर्ने ? यी दुवैको बीचमा तपाईंले भन्नुपर्ने विषय केही छ ?
खोप विभिन्न प्रकारका हुन्छन् । जस्तो– बिफर, दादुराको खोप लगाउनेलाई बिफर, दादुरा लाग्दैन । हामीले पनि आशा गरेका थियौँ, खोप त्यस्तै प्रकारको होला भनेर । अहिले विकास भएकामध्ये फाइजर र मोडेर्ना खोपले ९५ प्रतिशत रोक्ने देखिएको छ । त्यो खोप अमेरिकाले दिएन । र, माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले यहाँ चलाउन पनि गाह्रो हुन्छ । अस्ट्राजेनेकाको कोभिसिल्ड नेपालमा आयो । यो औसतमा ७० प्रतिशत प्रभावकारी हुन्छ भने पनि एक सयमा ३० जनालाई त लाग्छ । तर, रोग लागे पनि खोपले भाइरसलाई भयानक हुनबाट रोक्छ, मृत्युदर घटाउँछ । एउटा मात्रै डोज लगाए ५० प्रतिशत मात्रै हुन्छ, यसको असर । 
भाइरसको नयाँ भेरियन्ट भनिएको छ । हामीकहाँ फैलिरहेको भाइरसको भेरियन्ट वुहान हो कि युके भेरियन्ट हो ? कि भारतको डबल म्युटेन्ट हो ? कुन भेरियन्ट भन्ने विषयमा पर्याप्त अनुसन्धान भई भनिएको हो ? 
हामीकहाँ पर्याप्त अनुसन्धान भएको छैन, केही भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भाइरस परीक्षण गर्न पठाएकोमा धेरैजसो युके भेरियन्ट भेटियो । लक्षण हेर्दा भारतमा पनि युके भेरियन्ट नै हो । त्यहाँ डबल म्युटेन्ट पनि भेटियो । अनुसन्धान साझा रूपमा गरिरहेका छौँ । अरू पनि जम्मा गरेर महाशाखाले पठाउनेवाला थियो । त्यसको नतिजा मैले थाहा पाइसकेको छैन ।

युवा धेरै संक्रमित भइरहेको र अरू विशेषता हेर्दा इंग्ल्यान्डमा फैलिएको युके भेरियन्ट नै हो । अर्को ब्राजिल भेरियन्ट छ, त्यो हाम्रोमा आएको छैन । भारतमा पन्जाबतिर युके भेरियन्ट फैलियो । साउथ इन्डियातिर फैलिएको चाहिँ पुनः संक्रमण हुने देखियो । ट्रिपल म्युटेन्ट भनिएकोलाई वेस्ट बंगाल भेरियन्ट भनिएको छ । अहिले देखिएको डबल म्युटेन्ट धेरै नै संक्रमणशील छ भने रोगप्रतिरोधात्मक क्षमतालाई पनि प्रभाव पार्छ । बैंगलोरमा देखिएको भेरियन्टलाई पनि बदलेर अहिले भारतमा युके र डबल म्युटेन्ट भेरियन्ट फैलिरहेको छ । नयाँ भेरियन्ट प्रत्येक दिन आउने हुन सक्छ ।

 

 

परामर्श केन्द्र  बनाएमा धेरै बिरामीलाई बचाउन सकिन्छ

अनियन्त्रित महामारी : रोकथामको जिम्मेवारी, उपचारसम्बन्धी जानकारी   

नयाँ पत्रिकाले ‘होस्ट’ गरेको ‘ट्विटर स्पेस’मा डा. अनुप बास्तोलाकाे दृष्टिकोण, अनुभव र सुझाबहरू

कोभिड–१९ को पहिलो लहरमा जहाँ रहेर उपचार गर्नुभयो, दोस्रो लहरमा पनि त्यहीँ हुनुहुन्छ । दुवै लहरको प्रभावमा के–कति फरक पाउनुभयो ?
पहिलो लहरमा १५–२० दिनसम्म अस्पतालमा बसेर पूरै निको भई जाने अवस्था थियो । चैतको दोस्रो हप्तादेखि बिरामीको संख्या बढ्न थाल्यो । ३०–४०–५०–६० वर्ष उमेरसमूहका बिरामीको संख्या बढ्यो । पहिलो लहर सकिँदा अब कोरोना सिद्धियो भन्ठानियो, कोभिड वार्डहरू बन्द गरिए । टेकु अस्पतालमा कोभिड÷नन–कोभिड दुवै सेवा सञ्चालनमा थियो । कोभिडका लागि आइसियू बेडहरू मात्रै राखिको थियो ।

पुसमा २७, माघमा २८, फागनुमा २९ बिरामी भर्ना भए । चैत महिनामा ४६ बिरामी पुगे, दुई–तीनजनाको मृत्यु पनि भयो । पोहोर निमोनिया भएको युवा बिरामी आउँदा ‘युवालाई पनि यस्तो’ भन्थ्यौँ । अहिले यो समस्या भएकामा सबैजसो युवा छन् । १९ वर्षीया महिला निमोनियाले सिकिस्त भएर भर्ना छिन् । इमर्जेन्सीमा पाँच बेड चलाइआएकोमा १८ बेडसम्म पुर्‍याएका छौँ ।

सिकिस्त बिरामी भर्नाका लागि फोन आएकोआयै हुन्छ । छैटौँ, सातौँ दिनका निमोनियासहितका बिरामी आइरहेका छन् । निमोनिया भएका र अक्सिजन घटेका बिरामीलाई ४८–७२ घन्टा हेर्दा त्यो बिरामी सिकिस्त हुन सक्ने वा नहुने अनुमान गर्न सकिन्छ । यसैका आधारमा बिरामी डिस्चार्ज गरी नयाँ बिरामी भर्ना गर्ने क्रम (टर्नओभर) बढाएका छौँ । यसले एकाध अप्रिय घटना हुन सक्लान्, तर टर्नओभर अहिलेको बाध्यता हो ।

अहिले निमोनिया भएको युवाको स्वास्थ्य ४८–७२ घन्टामा बिग्रिएन, अक्सिजन ९०–९१ हुन थाले घर पठाएर अर्काे सिकिस्त बिरामी भर्ना गर्छौं । वैश्विक महामारीमा बेडको व्यवस्थापन सहज हुँदैन, यसै गरी टर्नओभर हुनैपर्छ । हाम्रोमा कतिपय अस्पतालले संकट व्यवस्थापनका लागि बिरामीलाई टर्नओभर गराउन नसक्ता खतरामुक्त बिरामी बेडमै छन् भने सिकिस्त बिरामीले बेड नपाइरहेको अवस्था छ । 

लक्षण देखिएको ६–७ दिनमा निमोनियासहित बिरामी अस्पताल आउँछन् त भन्नुभयो, हामीसँग जे जस्ता स्वास्थ्य पूर्वाधार छन्, सिकिस्त नभएसम्म अस्पताल जाने सुविधा छैन, लक्षण देखिए पनि अस्पतालमा उपचार पाउने अवस्था नभएकाले संक्रमितले उपचारका लागि के–कस्तो उपाय अपनाउने होला ?
महामारीमा अनेकन् सूचना प्रवाह हुन्छन्, सही र गलत पनि । अहिले पिसिआर पोजिटिभ आएका तर लक्षणविहीन पनि अत्तालिएका छन् । सामाजिक सञ्जालमा सिफारिस गरिएका अनेक थरी औषधि खाइदिएका छन् । सामान्य ज्वरो/खोकी छ भने औषधि प्रयोग गर्न सकिन्छ । ज्वरो–खोकी बिसेक नहुने, शरीर शिथिल हुने, पाँचौँ/छैटौँ दिनसम्म पनि लक्षणहरू कायम रहे चिकित्सकको परामर्श जरुरी हुन्छ । बिरामीका यस्ता समस्या सम्बोधन गर्न व्यस्त नरहेका चिकित्सकहरूको टिम बनाएर परामर्श केन्द्र बनाउन सकिए गम्भीर बिरामी हुने अवस्थाबाट बचाउन सकिन्थ्यो । चिकित्सकसँग पहुँच नहुने सर्वसाधारणले पनि सेवा पाउँथे । 

मिडियाले सही सूचना आममानिससामु लैजाने त छँदैछ, गलत सूचनालाई यो झुटा हो भन्दिने जिम्मेवारी पनि निभाउनुपर्छ । एउटा गैरजिम्मेवारले कोरोनाको उपचार गरिदिन्छु भनेरै १४ मिलियन ‘भ्यु’, ‘लभ÷लाइक’ पाउने वेला छ । कति मान्छे निमोनिया भएर आउँदा पनि पिसिआर गरेको हुँदैन । अस्पतालबाहिर कुर्सीमा राखेर अक्सिजन दिँदै तीन घन्टा पिसिआर रिपोर्ट कुरेपछि भर्ना गर्नुपरेको छ । लक्षणहरू बढ्यो भने के गर्ने, कुन ठाउँमा जाने भन्ने सही सूचना दिन जरुरी छ ।

हामीले त्यत्रा कल सेन्टर खोलेका छौँ, १०२ ले सित्तैमा बिरामी ओसार्छ । तर, पढालिखा सहरवासी धेरैलाई यो थाहै छैन ।  अक्सिजन सिलिन्डर घरमा राखे कति सुरक्षित भइन्छ ? रोगप्रतिरोधी क्षमता बढाउँछ भनेर भिटामिनहरू (भिटामिन सी, डी, जिंक आदि) खाने चलन पोहोरैदेखि चलेको छ । यो आफैँ डाक्टर हुने बानी लाभदायक छ कि घातक ?
महामारीमा स्रोत–साधन सक्दो सञ्चित गर्ने प्रवृत्ति देखिन्छ । अस्पतालमा बेड छैन, अक्सिनधरी पाइँदैन भन्ने हल्लाले सञ्चित गर्ने कोसिस हुन्छ । एक हदसम्म भारतमा देखिएको संकट यही प्रवृत्तिको नतिजा हो । यसो हुँदा एकदमै आवश्यकता भएकाले अक्सिजन नपाउने अवस्था बन्न सक्छ । दोस्रो, अक्सिजन मात्रै कोभिडको उपचार हैन । निमोनिया भई अक्सिजन नपुगेको अवस्थामा अक्सिजन लगाउँदा बढ्छ । तर, औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । औषधिविना घरमा अक्सिजन दिएर राख्दा बिरामीलाई केही राहत देखिएला, तर अक्सिजनको आवश्यकता बढ्दै जान्छ । आइसियू, भेन्टिलेटरमा जानुपर्ने अवस्था सिर्जना हुन्छ । बिरामी टर्नओभरका लागि सिकिस्त हुँदैन भन्ने विश्वासमा चिकित्सकले ‘घरैमा अक्सिजनमा बस्नुहोला’ भनेर पठाएको बिरामीका लागि घरमा सिलिन्डर आवश्यक हो । त्यस्तै, निमोनियाबाट निको भए पनि बिग्रिएको फोक्सो पूरै निको हुन केही समय लाग्ने, अक्सिजन लेभल मेन्टेन नहुने बिरामीलाई लामो समय अक्सिजन आवश्यक पर्न सक्छ । यस्ता बिरामीलाई अस्पतालमा राखेर बेड ओगटिराख्नुभन्दा अक्सिजनसहित घर पठाउँदा संकट व्यवस्थापन गर्न मद्दत पुग्छ । भिटामिन हामी नेपालीको ‘नानीदेखि लागेको बानी’ हो । भिटामिन–डीले केही राम्रो गरेका उदाहरण छन् । जिंक, भिटामिन–डी वा अन्य भिटामिनले कोरोना निको बनाउन खासै भूमिका खेल्दैनन् । 
 

उपलब्धताको अवस्था हेर्दा हामी पूर्ण खोपयुक्त हुने सम्भावना तत्कालका लागि छैन । खोप नलगाएको अवस्थामा पनि हामी सुरक्षित हुन सक्ने अवस्था कस्तो  छ ? हामीले समुदायलाई कसरी बचाउन सक्छौँ ? 
भारत नै महामारीको चपेटामा परेपछि हाम्रोमा खोपको उपलब्धता झन् चुनौतीपूर्ण भयो । लगाइएको खोपले पनि कहिलेसम्म जोगाउँछ भन्ने प्रश्न छ । हामी ‘न्यु नर्मल’तिर नगई सुखै छैन । तर, पुस, माघ, फागुनमा जस्तो बेपरवाह हुनुहुँदैन भन्ने दोस्रो लहरले देखाइसकेको छ । संक्रमणबारे काफी अध्ययन–अनुसन्धानका नतिजा सार्वजनिक भएका छन् ।

सुरुमा डब्लुएचओले जंगली जन्तुको मासु नखानु पनि भन्यो । गुम्म परेका कोठामा भाइरस तीन घन्टासम्म हावामा रहने अनुसन्धानमा देखियो । अर्थात्, हावाका माध्यमबाट पनि संक्रमण हुन सक्ने सम्भावना उच्च छ । हामीले भुइँ पुछेकोपुछ्यै गर्‍यौँ, हात धोएकोधोयै भयौँ, तर मास्क लगाएर कोठामा भेला भए पनि खाने वेला खोलेर मज्जाले गफ गर्‍यौँ ।

चुनौती यस्तै व्यवहारले ल्यायो । खोप उपलब्ध नभएसम्म संक्रमण दर घट्न थाले पनि सावधानीमा कुनै सम्झौता गर्नुहुँदैन । सबैले खोप पाइसकेपछि पनि विभिन्न समस्या आइरहन सक्छन्, तदनुरूप व्यवहार गर्दै जाने हो । हावाबाट हुने भाइरसको प्रसार संक्रमण रोकथामको ठूलो चुनौती हो । त्यसैले अबका दिनमा हाम्रा अड्डा–अफिस खुला वातावरणमा हुनुपर्छ । एसी भएको, हावा नखेल्ने कोठाभन्दा पनि भेन्टिलेसन भएको कोठा बनाउनुपर्छ । यो भाइरस फर्की–फर्की आउने सम्भावना छ । भारतमा धेरै वैज्ञानिकले डबल मास्क लगाउनुपर्छ भनेका छन् । घरमा पनि सावधानी अपनाइरहनुपर्‍यो । अहिले त घरमै पनि मास्क लगाएर परिवारका सदस्यसँग संवाद गर्नुपर्ने अवस्था छ ।

 सामान्यतः संक्रमण भएको पाँचदेखि सात दिनमा लक्षण देखिन्छ भनिएको छ । संक्रमितले पाँचदेखि सात दिनमा सार्ने हो वा संक्रमित हुनेबित्तिकै अरूलाई सार्ने हो ? १० दिनभित्र भाइरस मरिसकेको हुन्छ, रिपोर्ट पोजिटिभ आए पनि चिन्ता गर्नुपर्दैन भनिन्छ । यो हो कि होइन ? 
संक्रमित भएपछि लक्षण देखिन लाग्ने इन्कुभेसन पिरियड १४ दिन हो । यद्यपि, २८ दिनपछि पनि लक्षण देखिएको अध्ययनमा पाइएको छ । धेरैजसोमा पाँचदेखि सात दिनभित्र लक्षण देखिएको छ । लक्षण देखिनु दुई–तीन दिनअघिदेखि लक्षण देखिएको सात दिनसम्मको अवधिमा संक्रमितले धेरै भाइरस सार्न सक्छन् ।

लक्षणविनाको संक्रमितले पनि सार्न सक्छ । बालबालिकामा लक्षणविहीनले सार्न सक्ने भएकाले पनि हामीले विद्यालय बन्द गर्न भनेका थियौँ । लक्षण देखिसकेपछि सुरुका दिनमा घाँटी, शरीर दुख्ने र रुघाखोकी सुरु हुन्छ भने ६–७ दिनको अवधिमा भाइरस फोक्सोमा पुगेर निमोनिया हुन सक्छ । अनुसन्धानमा नाक, घाँटीबाट निकालिएका र्‍यालका नमुना नौ दिनपछि हेर्दा जिउँदो भाइरस देखिएन । देखियो भने पनि सर्दैन । यद्यपि, कसैमा लक्षण ९–१० दिनभन्दा बढी छ भने सर्न सक्ने सम्भावना रहन्छ पनि भनिएको छ । एउटा अध्ययनले त १६ दिनसम्म पनि सर्न सक्छ भन्यो । अध्ययनहरूले तीन महिनासम्म पनि र्‍यालको नमुनामा पोजिटिभ देखिएको भन्छ । तर, यसमा डराउनु पर्दैन । 

आममानिसमा अक्सिजन लेभल ९४ भन्दा तल भए असामान्य भन्ने परेको छ । यद्यपि, शरीरमा अक्सिजनको लेभल व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले पल्स अक्सिमिटरको आधारमा अक्सिजन कति भएकाले अस्पताल जानुपर्ने हुन्छ ?
पल्स अक्सिमिटरले केही राहत दिने भए पनि धेरै बिरामी झुक्किने गरेका छन् । पल्स अक्सिमिटरले अक्सिजनको वास्तविक लेभल नदेखाउने भएकाले बिरामी अत्तालिएर अस्पताल आउने गर्छन् । हात चिसो हुँदा वा सुरुमा न्यून देखाउन सक्छ ।

सामान्यतया निमोनिया भए अक्सिजनको लेभल कम हुने गर्छ । यसका लक्षण साइलेन्ट हुने भए पनि असहज, थकान महसुस भए, रातको समयमा श्वासप्रश्वासमा समस्या भए, रुघाखोकी वा ज्वरोको असामान्य लक्षण देखिए, श्वासप्रश्वास दरमा परिवर्तन आए, अक्सिमिटरले लगातार न्यून देखाए अक्सिजन कम भएको मानिन्छ । लक्षण देखिएको ६–७ दिनमा देखिने समस्याका आधारमा अक्सिजनको लेभल यकिन गर्न सकिन्छ । 

मौसमी रुघाखोकी र कोभिडको लक्षण कसरी छुट्याउन सकिन्छ ?
मौसमी रुघाखोकीमा यो मौसममा इन्फ्लुएन्जा बढी देखिएको छ । कोभिडको तुलनामा इन्फ्लुएन्जाका लक्षण एक्कासि देखिने गर्छन् । रुघाखोकी, ज्वरो दुई–तीन दिनमा आफैँ निको भएर जान्छ । केहीमा लक्षणहरू लामो समय रहेर निमोनिया हुने गर्छ । यस्तोमा अत्यधिक टाउको दुख्ने, उच्च ज्वरो, मांसपेशी दुख्ने र रुघाखोकी हुन्छ । कोरोनाका लक्षण बिस्तारै देखिन्छन् । जस्तै– सुरुमा घाँटी खसखस हुने, खोकी लाग्ने र ज्वरो आउने लक्षण देखिन्छन् । ६–७ दिनमा निमोनिया हुन्छ । मौसमी रुघाखोकीको तुलनामा कोभिडमा निमोनियाको दर निकै बढी छ । 

कोभिड संक्रमितले खानपानमा कसरी ध्यान दिने ?
संक्रमितले पोषणयुक्त खाना पर्याप्त खानुपर्छ । संक्रमणको समयमा धूम्रपान–मद्यपान पूरै त्याग्न आवश्यक छ । साथै, जथाभावी औषधिको प्रयोग गर्नु भएन । लक्षण नदेखिएका बिरामीले पनि सामाजिक सञ्जालमा सिफारिस गरिएका अनावश्यक औषधिको प्रयोग गरेर प्रतिकूल असर भोगेको पाइएको छ । चिकित्सकको परामर्शबेगर औषधि प्रयोग गर्न भएन ।