मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ०९:२०:००
Read Time : > 5 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

परामर्श केन्द्र  बनाएमा धेरै बिरामीलाई बचाउन सकिन्छ

अनियन्त्रित महामारी : रोकथामको जिम्मेवारी, उपचारसम्बन्धी जानकारी  

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ०९:२०:००

नयाँ पत्रिकाले ‘होस्ट’ गरेको ‘ट्विटर स्पेस’मा डा. अनुप बास्तोलाकाे दृष्टिकोण, अनुभव र सुझाबहरू

कोभिड–१९ को पहिलो लहरमा जहाँ रहेर उपचार गर्नुभयो, दोस्रो लहरमा पनि त्यहीँ हुनुहुन्छ । दुवै लहरको प्रभावमा के–कति फरक पाउनुभयो ?
पहिलो लहरमा १५–२० दिनसम्म अस्पतालमा बसेर पूरै निको भई जाने अवस्था थियो । चैतको दोस्रो हप्तादेखि बिरामीको संख्या बढ्न थाल्यो । ३०–४०–५०–६० वर्ष उमेरसमूहका बिरामीको संख्या बढ्यो । पहिलो लहर सकिँदा अब कोरोना सिद्धियो भन्ठानियो, कोभिड वार्डहरू बन्द गरिए । टेकु अस्पतालमा कोभिड÷नन–कोभिड दुवै सेवा सञ्चालनमा थियो । कोभिडका लागि आइसियू बेडहरू मात्रै राखिको थियो ।

पुसमा २७, माघमा २८, फागनुमा २९ बिरामी भर्ना भए । चैत महिनामा ४६ बिरामी पुगे, दुई–तीनजनाको मृत्यु पनि भयो । पोहोर निमोनिया भएको युवा बिरामी आउँदा ‘युवालाई पनि यस्तो’ भन्थ्यौँ । अहिले यो समस्या भएकामा सबैजसो युवा छन् । १९ वर्षीया महिला निमोनियाले सिकिस्त भएर भर्ना छिन् । इमर्जेन्सीमा पाँच बेड चलाइआएकोमा १८ बेडसम्म पुर्‍याएका छौँ ।

सिकिस्त बिरामी भर्नाका लागि फोन आएकोआयै हुन्छ । छैटौँ, सातौँ दिनका निमोनियासहितका बिरामी आइरहेका छन् । निमोनिया भएका र अक्सिजन घटेका बिरामीलाई ४८–७२ घन्टा हेर्दा त्यो बिरामी सिकिस्त हुन सक्ने वा नहुने अनुमान गर्न सकिन्छ । यसैका आधारमा बिरामी डिस्चार्ज गरी नयाँ बिरामी भर्ना गर्ने क्रम (टर्नओभर) बढाएका छौँ । यसले एकाध अप्रिय घटना हुन सक्लान्, तर टर्नओभर अहिलेको बाध्यता हो ।

अहिले निमोनिया भएको युवाको स्वास्थ्य ४८–७२ घन्टामा बिग्रिएन, अक्सिजन ९०–९१ हुन थाले घर पठाएर अर्काे सिकिस्त बिरामी भर्ना गर्छौं । वैश्विक महामारीमा बेडको व्यवस्थापन सहज हुँदैन, यसै गरी टर्नओभर हुनैपर्छ । हाम्रोमा कतिपय अस्पतालले संकट व्यवस्थापनका लागि बिरामीलाई टर्नओभर गराउन नसक्ता खतरामुक्त बिरामी बेडमै छन् भने सिकिस्त बिरामीले बेड नपाइरहेको अवस्था छ । 

लक्षण देखिएको ६–७ दिनमा निमोनियासहित बिरामी अस्पताल आउँछन् त भन्नुभयो, हामीसँग जे जस्ता स्वास्थ्य पूर्वाधार छन्, सिकिस्त नभएसम्म अस्पताल जाने सुविधा छैन, लक्षण देखिए पनि अस्पतालमा उपचार पाउने अवस्था नभएकाले संक्रमितले उपचारका लागि के–कस्तो उपाय अपनाउने होला ?
महामारीमा अनेकन् सूचना प्रवाह हुन्छन्, सही र गलत पनि । अहिले पिसिआर पोजिटिभ आएका तर लक्षणविहीन पनि अत्तालिएका छन् । सामाजिक सञ्जालमा सिफारिस गरिएका अनेक थरी औषधि खाइदिएका छन् । सामान्य ज्वरो/खोकी छ भने औषधि प्रयोग गर्न सकिन्छ । ज्वरो–खोकी बिसेक नहुने, शरीर शिथिल हुने, पाँचौँ/छैटौँ दिनसम्म पनि लक्षणहरू कायम रहे चिकित्सकको परामर्श जरुरी हुन्छ । बिरामीका यस्ता समस्या सम्बोधन गर्न व्यस्त नरहेका चिकित्सकहरूको टिम बनाएर परामर्श केन्द्र बनाउन सकिए गम्भीर बिरामी हुने अवस्थाबाट बचाउन सकिन्थ्यो । चिकित्सकसँग पहुँच नहुने सर्वसाधारणले पनि सेवा पाउँथे । 

मिडियाले सही सूचना आममानिससामु लैजाने त छँदैछ, गलत सूचनालाई यो झुटा हो भन्दिने जिम्मेवारी पनि निभाउनुपर्छ । एउटा गैरजिम्मेवारले कोरोनाको उपचार गरिदिन्छु भनेरै १४ मिलियन ‘भ्यु’, ‘लभ÷लाइक’ पाउने वेला छ । कति मान्छे निमोनिया भएर आउँदा पनि पिसिआर गरेको हुँदैन । अस्पतालबाहिर कुर्सीमा राखेर अक्सिजन दिँदै तीन घन्टा पिसिआर रिपोर्ट कुरेपछि भर्ना गर्नुपरेको छ । लक्षणहरू बढ्यो भने के गर्ने, कुन ठाउँमा जाने भन्ने सही सूचना दिन जरुरी छ ।

हामीले त्यत्रा कल सेन्टर खोलेका छौँ, १०२ ले सित्तैमा बिरामी ओसार्छ । तर, पढालिखा सहरवासी धेरैलाई यो थाहै छैन ।  अक्सिजन सिलिन्डर घरमा राखे कति सुरक्षित भइन्छ ? रोगप्रतिरोधी क्षमता बढाउँछ भनेर भिटामिनहरू (भिटामिन सी, डी, जिंक आदि) खाने चलन पोहोरैदेखि चलेको छ । यो आफैँ डाक्टर हुने बानी लाभदायक छ कि घातक ?
महामारीमा स्रोत–साधन सक्दो सञ्चित गर्ने प्रवृत्ति देखिन्छ । अस्पतालमा बेड छैन, अक्सिनधरी पाइँदैन भन्ने हल्लाले सञ्चित गर्ने कोसिस हुन्छ । एक हदसम्म भारतमा देखिएको संकट यही प्रवृत्तिको नतिजा हो । यसो हुँदा एकदमै आवश्यकता भएकाले अक्सिजन नपाउने अवस्था बन्न सक्छ । दोस्रो, अक्सिजन मात्रै कोभिडको उपचार हैन । निमोनिया भई अक्सिजन नपुगेको अवस्थामा अक्सिजन लगाउँदा बढ्छ । तर, औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । औषधिविना घरमा अक्सिजन दिएर राख्दा बिरामीलाई केही राहत देखिएला, तर अक्सिजनको आवश्यकता बढ्दै जान्छ । आइसियू, भेन्टिलेटरमा जानुपर्ने अवस्था सिर्जना हुन्छ । बिरामी टर्नओभरका लागि सिकिस्त हुँदैन भन्ने विश्वासमा चिकित्सकले ‘घरैमा अक्सिजनमा बस्नुहोला’ भनेर पठाएको बिरामीका लागि घरमा सिलिन्डर आवश्यक हो । त्यस्तै, निमोनियाबाट निको भए पनि बिग्रिएको फोक्सो पूरै निको हुन केही समय लाग्ने, अक्सिजन लेभल मेन्टेन नहुने बिरामीलाई लामो समय अक्सिजन आवश्यक पर्न सक्छ । यस्ता बिरामीलाई अस्पतालमा राखेर बेड ओगटिराख्नुभन्दा अक्सिजनसहित घर पठाउँदा संकट व्यवस्थापन गर्न मद्दत पुग्छ । भिटामिन हामी नेपालीको ‘नानीदेखि लागेको बानी’ हो । भिटामिन–डीले केही राम्रो गरेका उदाहरण छन् । जिंक, भिटामिन–डी वा अन्य भिटामिनले कोरोना निको बनाउन खासै भूमिका खेल्दैनन् । 
 

उपलब्धताको अवस्था हेर्दा हामी पूर्ण खोपयुक्त हुने सम्भावना तत्कालका लागि छैन । खोप नलगाएको अवस्थामा पनि हामी सुरक्षित हुन सक्ने अवस्था कस्तो  छ ? हामीले समुदायलाई कसरी बचाउन सक्छौँ ? 
भारत नै महामारीको चपेटामा परेपछि हाम्रोमा खोपको उपलब्धता झन् चुनौतीपूर्ण भयो । लगाइएको खोपले पनि कहिलेसम्म जोगाउँछ भन्ने प्रश्न छ । हामी ‘न्यु नर्मल’तिर नगई सुखै छैन । तर, पुस, माघ, फागुनमा जस्तो बेपरवाह हुनुहुँदैन भन्ने दोस्रो लहरले देखाइसकेको छ । संक्रमणबारे काफी अध्ययन–अनुसन्धानका नतिजा सार्वजनिक भएका छन् ।

सुरुमा डब्लुएचओले जंगली जन्तुको मासु नखानु पनि भन्यो । गुम्म परेका कोठामा भाइरस तीन घन्टासम्म हावामा रहने अनुसन्धानमा देखियो । अर्थात्, हावाका माध्यमबाट पनि संक्रमण हुन सक्ने सम्भावना उच्च छ । हामीले भुइँ पुछेकोपुछ्यै गर्‍यौँ, हात धोएकोधोयै भयौँ, तर मास्क लगाएर कोठामा भेला भए पनि खाने वेला खोलेर मज्जाले गफ गर्‍यौँ ।

चुनौती यस्तै व्यवहारले ल्यायो । खोप उपलब्ध नभएसम्म संक्रमण दर घट्न थाले पनि सावधानीमा कुनै सम्झौता गर्नुहुँदैन । सबैले खोप पाइसकेपछि पनि विभिन्न समस्या आइरहन सक्छन्, तदनुरूप व्यवहार गर्दै जाने हो । हावाबाट हुने भाइरसको प्रसार संक्रमण रोकथामको ठूलो चुनौती हो । त्यसैले अबका दिनमा हाम्रा अड्डा–अफिस खुला वातावरणमा हुनुपर्छ । एसी भएको, हावा नखेल्ने कोठाभन्दा पनि भेन्टिलेसन भएको कोठा बनाउनुपर्छ । यो भाइरस फर्की–फर्की आउने सम्भावना छ । भारतमा धेरै वैज्ञानिकले डबल मास्क लगाउनुपर्छ भनेका छन् । घरमा पनि सावधानी अपनाइरहनुपर्‍यो । अहिले त घरमै पनि मास्क लगाएर परिवारका सदस्यसँग संवाद गर्नुपर्ने अवस्था छ ।

 सामान्यतः संक्रमण भएको पाँचदेखि सात दिनमा लक्षण देखिन्छ भनिएको छ । संक्रमितले पाँचदेखि सात दिनमा सार्ने हो वा संक्रमित हुनेबित्तिकै अरूलाई सार्ने हो ? १० दिनभित्र भाइरस मरिसकेको हुन्छ, रिपोर्ट पोजिटिभ आए पनि चिन्ता गर्नुपर्दैन भनिन्छ । यो हो कि होइन ? 
संक्रमित भएपछि लक्षण देखिन लाग्ने इन्कुभेसन पिरियड १४ दिन हो । यद्यपि, २८ दिनपछि पनि लक्षण देखिएको अध्ययनमा पाइएको छ । धेरैजसोमा पाँचदेखि सात दिनभित्र लक्षण देखिएको छ । लक्षण देखिनु दुई–तीन दिनअघिदेखि लक्षण देखिएको सात दिनसम्मको अवधिमा संक्रमितले धेरै भाइरस सार्न सक्छन् ।

लक्षणविनाको संक्रमितले पनि सार्न सक्छ । बालबालिकामा लक्षणविहीनले सार्न सक्ने भएकाले पनि हामीले विद्यालय बन्द गर्न भनेका थियौँ । लक्षण देखिसकेपछि सुरुका दिनमा घाँटी, शरीर दुख्ने र रुघाखोकी सुरु हुन्छ भने ६–७ दिनको अवधिमा भाइरस फोक्सोमा पुगेर निमोनिया हुन सक्छ । अनुसन्धानमा नाक, घाँटीबाट निकालिएका र्‍यालका नमुना नौ दिनपछि हेर्दा जिउँदो भाइरस देखिएन । देखियो भने पनि सर्दैन । यद्यपि, कसैमा लक्षण ९–१० दिनभन्दा बढी छ भने सर्न सक्ने सम्भावना रहन्छ पनि भनिएको छ । एउटा अध्ययनले त १६ दिनसम्म पनि सर्न सक्छ भन्यो । अध्ययनहरूले तीन महिनासम्म पनि र्‍यालको नमुनामा पोजिटिभ देखिएको भन्छ । तर, यसमा डराउनु पर्दैन । 

आममानिसमा अक्सिजन लेभल ९४ भन्दा तल भए असामान्य भन्ने परेको छ । यद्यपि, शरीरमा अक्सिजनको लेभल व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले पल्स अक्सिमिटरको आधारमा अक्सिजन कति भएकाले अस्पताल जानुपर्ने हुन्छ ?
पल्स अक्सिमिटरले केही राहत दिने भए पनि धेरै बिरामी झुक्किने गरेका छन् । पल्स अक्सिमिटरले अक्सिजनको वास्तविक लेभल नदेखाउने भएकाले बिरामी अत्तालिएर अस्पताल आउने गर्छन् । हात चिसो हुँदा वा सुरुमा न्यून देखाउन सक्छ ।

सामान्यतया निमोनिया भए अक्सिजनको लेभल कम हुने गर्छ । यसका लक्षण साइलेन्ट हुने भए पनि असहज, थकान महसुस भए, रातको समयमा श्वासप्रश्वासमा समस्या भए, रुघाखोकी वा ज्वरोको असामान्य लक्षण देखिए, श्वासप्रश्वास दरमा परिवर्तन आए, अक्सिमिटरले लगातार न्यून देखाए अक्सिजन कम भएको मानिन्छ । लक्षण देखिएको ६–७ दिनमा देखिने समस्याका आधारमा अक्सिजनको लेभल यकिन गर्न सकिन्छ । 

मौसमी रुघाखोकी र कोभिडको लक्षण कसरी छुट्याउन सकिन्छ ?
मौसमी रुघाखोकीमा यो मौसममा इन्फ्लुएन्जा बढी देखिएको छ । कोभिडको तुलनामा इन्फ्लुएन्जाका लक्षण एक्कासि देखिने गर्छन् । रुघाखोकी, ज्वरो दुई–तीन दिनमा आफैँ निको भएर जान्छ । केहीमा लक्षणहरू लामो समय रहेर निमोनिया हुने गर्छ । यस्तोमा अत्यधिक टाउको दुख्ने, उच्च ज्वरो, मांसपेशी दुख्ने र रुघाखोकी हुन्छ । कोरोनाका लक्षण बिस्तारै देखिन्छन् । जस्तै– सुरुमा घाँटी खसखस हुने, खोकी लाग्ने र ज्वरो आउने लक्षण देखिन्छन् । ६–७ दिनमा निमोनिया हुन्छ । मौसमी रुघाखोकीको तुलनामा कोभिडमा निमोनियाको दर निकै बढी छ । 

कोभिड संक्रमितले खानपानमा कसरी ध्यान दिने ?
संक्रमितले पोषणयुक्त खाना पर्याप्त खानुपर्छ । संक्रमणको समयमा धूम्रपान–मद्यपान पूरै त्याग्न आवश्यक छ । साथै, जथाभावी औषधिको प्रयोग गर्नु भएन । लक्षण नदेखिएका बिरामीले पनि सामाजिक सञ्जालमा सिफारिस गरिएका अनावश्यक औषधिको प्रयोग गरेर प्रतिकूल असर भोगेको पाइएको छ । चिकित्सकको परामर्शबेगर औषधि प्रयोग गर्न भएन ।