मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
निखिल पान्धी
२०७८ बैशाख २७ सोमबार ०८:५४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

भारतले इबोलाबाट सिकोस्

पश्चिम अफ्रिकामा इबोला उपचार एकाइ समुदायस्तरमा गठन गरियो र यसले दुई वर्षसम्म काम गर्‍यो, भारतमा पनि यस्तै एकाइ गठन गरिनुपर्छ

Read Time : > 2 मिनेट
निखिल पान्धी
२०७८ बैशाख २७ सोमबार ०८:५४:००

पश्चिम अफ्रिकामा इबोला महामारीले २८ हजार ६ सय १६ जनालाई आफ्नो गिरफ्तमा जकड्यो । सन् २०१४ देखि ०१६ का बीच सिएरालियोन, लाइबेरिया र गिनिबिसाउमा ११ हजार तीन सय १० जनाको यसबाट मृत्यु भयो । इबोलाबाट भएको मृत्यु एउटा भूगोलमा केन्द्रित भए पनि कोभिड–१९ महामारीको समयमा यो स्मरणयोग्य छ । यतिवेला भारत यसबाट सबैभन्दा धेरै आक्रान्त भइरहँदा, सूक्ष्म र स्थूल दुवैस्तरमा इबोला संकटबाट हामी सबैले सबक लिन सक्छौँ ।

सबैभन्दा पहिले इबोलालाई जस्तै कोभिड–१९ लाई पनि कुरुवामा पनि सर्ने रोगका रूपमा हेरिनुपर्छ । पश्चिम अफ्रिकाको इबोलाप्रतिरोधी अनुसन्धानमा खटिएका विश्वप्रसिद्ध संक्रामक रोग चिकित्सक पोल फार्मरले आफ्नो पुस्तक ‘फेवर्स, फ्युड्स एन्ड डायमन्ड : इबोला एन्ड द रैवेजेज अफ हिस्ट्र’ मा लेख्छन्– हजारौँ मानिसलाई इबोला लाग्नुको महत्वपूर्ण कारण भनेकै के हो भने उनीहरू बिरामीको सेवामा खटिएका थिए अथवा मृतकहरूको अन्तिम संस्कारमा सहभागी थिए ।
कोभिड–१९ का मामिलामा पनि यो विषयमा ध्यान दिन जरुरी छ कि बिरामीको हेरचाहमा खटिनेहरू– डाक्टर, नर्स वा पैरा–मेडिकल स्टाफदेखि घर, अस्पताल, क्लिनिक र चिहानघाटसम्म काम गर्नेहरू नै प्रभावित भएका छन् । यतिवेला सेवाकर्ममा खटिएका सबैले आ–आफ्नो ससानो कमजोरीलाई पहिचान गरी सुधार गर्नु जरुरी छ ।

खोप लगाउनेभन्दा पनि परको कुरा गर्ने हो भने भारत सरकारले कोरोनाविरुद्धको मोर्चामा अग्रपंक्तिमा संघर्ष गरिरहेका योद्धालाई जोखिमबाट जोगाउन ठोस योजना ल्याउनुपर्छ । अग्रपंक्तिका योद्धाहरूको क्षति हाम्रा लागि हुने वास्तविक क्षति हो । मसानघाटमा कार्यरतहरू विशेषतः दलित र दमित वर्गबाट आउने गर्छन्, के उनीहरू राज्यको दृष्टिमा अग्रपंक्तिका योद्धा हुन् ? यो वर्गका श्रमिकका लागि सरकारले बिमाको व्यवस्था गरेको छ ?

स्पष्ट कुरा के हो भने कोरोनाबाट पीडित मानिसका साथ–साथै उनको हेरचाहमा खटिनेलाई पनि त्यति नै गम्भीरतासाथ लिनुपर्छ । दोस्रो, संक्रमितको हेरचाह गर्ने क्षमताको विकास गरेर नै भाइरससँग लड्ने निर्देश जारी गर्नुपर्छ । लकडाउनको घोषणा र जबर्जस्ती रोकथामको उपाय लागू गर्नु आफैँमा समाधानको कुनै उपाय होइन । इबोलाको मामिलामा फार्मर भन्छन्– सार्वजनिक स्वास्थ्य र बायो–मेडिसिन राज्यको सामाजिक अनुबन्धको सबैभन्दा महत्वपूर्ण अंग हो ।

जातका आधारमा, वर्गका आधारमा, हैसियतका आधारमा कत्तिको गम्भीरतासाथ संकटलाई चिर्न र हेरविचार गर्न लाग्नुपर्ने हो भन्ने गरी हाम्रो धारणा तय हुँदो रहेछ भन्ने वर्तमानको अवस्थाले स्पष्ट पारिदिएको छ । हामी सार्वजनिक स्वास्थ्यप्रति त्यति वेला मात्र गम्भीर हुन्छौँ, जब त्यसले उच्च वर्गका मानिसलाई पीडित बनाउन थाल्छ । 

सुरक्षित र प्रभावकारी हेरचाह सुनिश्चित नगरी रोकथाम गर्न चाहनुका आफ्नै सीमा छन् । यस्तो गर्नु संक्रमितको जीवनलाई खतरामा पुर्‍याउनु मात्र होइन कि यो राज्यका खिलाफ आक्रोश पैदा गर्ने औजार पनि हो । यो इबोला संक्रमणका वेला सबैले महसुस गरेको कुरा हो । तेस्रो, भारतमा संकट गहिरिनुको कारणमध्ये त्यहाँ अस्पतालहरू धेरै दबाबमा आउनु पनि हो । राज्य आधारभूत आवश्यकता पूरा गर्नमा नाकाम छ ।

अक्सिजन, बेड, उपकरण, औषधि र खोपको अभाव । इबोला संकटले के पनि स्पष्ट पार्छ भने त्यति वेला न्यूनतम जनशक्ति र मेडिकल सामग्रीको पनि राज्यमा अभाव थियो । पश्चिम अफ्रिकामा इबोला उपचार एकाइ समुदायस्तरमा गठन गरियो र दोस्रो वा तेस्रो स्तरसम्म यसले दुई वर्षसम्म काम गर्‍यो ।

भारतमा ती क्षेत्रमा तीव्रतासाथ चिकित्सकीय एकाइ गठन गरिनुपर्छ, जहाँ मानिसहरू उपचारको अभावमा ज्यान गुमाइरहेका छन् । अझै पनि भारतमा आधारभूत चिकित्साको जग बलियो छैन । आजको आवश्यकता भनेकै तत्कालै चिकित्सा एकाइको गठन र अक्सिजन हबको निर्माणमा जोड दिने हो । चौथो, हामी भाइरल महामारीमा स्वास्थ्यका मानकलाई उपेक्षा गर्न सक्दैनौँ । भारतमा देखिएको दोस्रो लहरको संक्रमणले चिकित्सकीय व्यवस्थाको विफलतातर्फ नै संकेत गरिरहेको छ र यसले मध्यम तथा उच्चमध्यम वर्गका मानिसलाई प्रभावित पारिरहेको छ ।

यो अघिल्लो वर्षको भन्दा भिन्न छ । पहिलो लहरमा दुर्बल श्रमिक, प्रवासी मजदुर, गरिब वा सामाजिक आर्थिक रूपमा पिछडिएकाहरू प्रभावित थिए । हामीले आफैँले प्रश्न उठाउनुपर्छ– पहिलो र दोस्रो लहरबीच यत्तिको समय हुँदाहुँदै पनि वेलैमा पर्याप्त कदम किन चालिएन । जातका आधारमा, वर्गका आधारमा, हैसियतका आधारमा कत्तिको गम्भीरतासाथ संकटलाई चिर्न र हेरविचार गर्न लाग्नुपर्ने हो भन्ने गरी हाम्रो धारणा तय हुँदो रहेछ भन्ने वर्तमानको अवस्थाले स्पष्ट पारिदिएको छ । हामी सार्वजनिक स्वास्थ्यप्रति त्यति वेला मात्र गम्भीर हुन्छौँ, जब त्यसले उच्च वर्गका मानिसलाई पीडित बनाउन थाल्छ । 

इबोलाबाट शिक्षा लिँदै गर्दा हामीले बुझ्नुपर्छ, राम्रो स्वास्थ्य व्यवस्थाले नै भाइरसजन्य खतरालाई रोक्न सक्छ । कुनै आपत्कालीन व्यवस्थाबाट होइन कि दैनन्दिनको असल स्वास्थ्य व्यवस्थाले नै महामारीलाई रोक्ने गर्छ ।
(पान्धी प्रिन्सटन विश्वविद्यालयका शोधकर्ता हुन्) हिन्दुस्तानबाट