१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १९:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा कडाइ : दैनिक चार घन्टा मात्र पसल खोल्ने पाइने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१३:oo

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै रसुवामा मानवीय गतिविधिमा कडाइ गरिएको छ । जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार सदरमुकाम धुन्चेमा बसेको बैठकले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि १३बुँदे निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दुर्गा थापाले जानकारी दिइन् । 

अब उपभोग्य सामग्रीका पसल दिनमा चार घन्टा मात्र खोल्न पाइनेछ । जिल्लाका सबै स्थानीय तहमा सञ्चालित दैनिक उपभोग्य सामग्रीका पसल बिहीबारबाट लागू हुने गरी बिहान र बेलुका गरी दिनमा दुई चरणमा खोल्न पाइने भएको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने निर्णय बैठकले गरेको छ । होटेलहरू भने बेलुकी ८ बजे बन्द गर्नुपर्ने भएको छ । 

१० दिन क्वारेन्टिनमा 
कोरोना संक्रमितसँगको सम्पर्कमा आएका व्यक्तिलाई १० दिनसम्म क्वारेन्टिनमा राखिने भएको छ । उत्तरगया गाउँपालिकाको सिमानामा स्वास्थ्य जाँच कक्षबाट ट्राभल हिस्ट्रीको आधारमा कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई १० दिनसम्म क्वारेन्टिनमा राखिने निर्णय भएको छ । 

पछिल्लो समय कोराना संक्रमितको सम्पर्कका व्यक्तिहरू क्वारेन्टिनमा नबसी आवातजावत गरिरहेको गुनासो बढेको थियो । 
जिल्ला प्रवेश बिन्दु बेत्रावतीबाट प्रवेश गर्ने सबै सवारीसाधनका चालक एवं यात्रुको स्वास्थ्य जाँच गरिने भएको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्डको पालन गराइनेसमेत जनाइएको छ । 

करारमा स्वास्थ्यकर्मी राखिने 
जिल्लामा करार सेवामा स्वास्थ्यकर्मी लिने निर्णयसमेत भएको छ । स्थानीय तहका अस्पताल, प्रयोगशाला, सूचीकृत आइसोलेसन, क्वारेन्टिन, सीमानाकामा रहेका स्वास्थ्य जाँच कक्ष र केस इन्भेस्टिकेसन तथा कन्ट्र्याक्ट ट्रेसिङका लागि आवश्यकताअनुसार करारमा स्वास्थ्यकर्मी लिइने निर्णय भएको हो । 

आवश्यकताअनुसार बढीमा एक वर्षका लागि स्वास्थ्यकर्मीहरू करार सेवामा लिइने बताइएको छ । नियुक्त गरिएका स्वास्थ्यकर्मीहरूलाई ६ महिनासम्म सम्बन्धित तहको सुरुको तलब स्केलमा ५० प्रतिशत थप गरी र बाँकी ६ महिनाका लागि सम्बन्धित तहको सुरुको तलब स्केलबराबरको पारिश्रमिक उपलब्ध गराइने भएको छ । 

जिल्लाका स्थानीय तहहरूमा सञ्चालित एम्बुलेन्सहरूलाई तयारी अवस्थामा राखिने भएको छ । स्थानीय तहहरूमा स्थापना भएका क्वारेन्टिन र आइसोलेसन केन्द्रहरूको सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । हरेक केन्द्रहरूमा आवश्यक पर्ने अक्सिजन सिलिन्डर र पल्स अक्सिमिटरको यथोचित प्रबन्ध मिलाइने निर्णय भएको छ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका पाँचवटै स्थानीय तहले शंकास्पद बिरामीको स्वाब संकलन गर्न जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएको छ । स्थानीय तहकै स्रोतसाधनबाट आरटी पिसिआर परीक्षणका लागि ढुवानीको व्यवस्थापना गर्नुपर्ने भएको छ । स्वाब संकलनसम्बन्धी अभिमुखीकरणको आवश्यकता परेमा स्वास्थ्य कार्यालय रसुवाले सहजीकरण गर्ने भएको छ ।

त्यस्तै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमातहत रहेका स्वास्थ्य संस्थामा फिभर क्लिनिक सञ्चालन गर्नुपर्ने भएको छ । स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको सम्पर्क नम्बर उपलब्ध गराउने, सामान्य लक्षण भएका बिरामीहरूको प्राथमिक उपचार गर्न तोकिएका औषधिहरू उपलब्ध गराउने, बिरामीको नियमित फलोअप गर्ने, जटिल समस्या देखिएमा रिफर गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । 

कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारका लागि स्थानीय तहको आन्तरिक स्रोत पर्याप्त नभएमा नेपाल सरकार तथा प्रदेश सरकारसमक्ष स्थानीय तहबाट स्रोत व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय भएको छ । 

कोरोना नियन्त्रण एवं रोकथामका लागि विभिन्न क्षेत्रमा गरिएका निषेधाज्ञा तथा बन्दाबन्दीको क्रममा जिल्लाका स्थानीय तहले लैंगिकमैत्री क्वारेन्टिन निर्माण गर्नुपर्ने भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक रूपले सबल एवं लैंगिक अल्पसंख्यकहरूमाथि हुन सक्ने हिंसा न्यूनीकरण÷नियन्त्रणमा पूर्वतयारी गर्न लिंग, वर्गमैत्री क्वारेन्टिनको समयमै प्रबन्ध मिलाउनुपर्ने बताइएको छ । 

बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लाका मुख्य व्यापारिक केन्द्रहरूमा माइकिङ गरिने भएको छ । जिल्लाका मुख्य व्यापारिक केन्द्रहरू बेत्रावती, कालिकास्थान, जिबजिबे, मैलुङ, धुन्चे, स्याफ्रुबेंसी, टिमुरेमा स्थानीय तहले नजिकको प्रहरी चौकीसँग समन्वय गरेर हरेक दिन माइकिङ गर्ने निर्णय भएको छ । 

आपतकालीन स्वास्थ्य सेवा तथा व्यवस्थापनका लागि स्थानीय तहमा द्रुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राखिने भएको छ । कोरोना महामारीको अवस्थामा यो समूहको आवश्यकता रहेकाले सबै स्थानीय तहले परिचालन गर्ने बताइएको छ । 
त्यसैगरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रसुवागढी नाकामा स्वास्थ्य जाँच कक्ष स्थापना गरिने भएको छ । रसुवा भन्सार कार्यालयले जाँच कक्ष स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि स्थानीय प्रशासनमार्फत सुरक्षाकर्मी खटाइने भएको छ । त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रुबेंसीमा स्वास्थ्य जाँच कक्ष स्थापना गरी स्वास्थ्य चेकजाँच गर्ने र अनावश्यक आवतजावत रोक्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

भन्सार कार्यालयले कार्यालय हाता र यार्डमा नियमित रूपमा निसंक्रमित गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । निजी क्षेत्र–छाता संगठनहरूले आफ्ना व्यवसायी, कर्मचारी, कामदारलाई स्वास्थ्यसँग सम्बन्धित मापदण्ड अनिवार्य रूपमा पालना गर्न लगाउनुपर्ने बताइएको छ । चीनबाट आयात हुने स्वास्थ्यलगायतका आवश्यक सामग्रीहरू प्राथमिकताका साथ सहज पैठारीको व्यवस्था मिलाउनुपर्ने भएको छ ।

भन्सार नाकामा विभिन्न भूमिकामा कार्यरत कर्मचारी र कामदारलाई चीन सरकारले उपलब्ध गराएको खोप स्वास्थ्य कार्यालय, रसुवाले उपलब्ध गराउने भएको छ । 

कोरोना महामारीको समयमा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गरे नगरेको जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायले नियमित अनुगमन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी थापाले बताइन् ।
 

ad
ad