Skip This
धितो पास गरेर ऋण लिँदा ठगिएका महानन्द : तीन लाखमा गयो डेढ करोडको घरजग्गा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
घर जग्गा डुबेपछि खड्गबहादुरसँग गरिएका कागजात देखाउँदै महानन्द नेपाल
२o८१ बैशाख २६ बुधबार ११:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धितो पास गरेर ऋण लिँदा ठगिएका महानन्द : तीन लाखमा गयो डेढ करोडको घरजग्गा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:२o:oo

०७० मा शिवसताक्षी– ११ का भवानीशंकर नेपाललाई घरायसी कामका लागि तीन लाख रुपैयाँ आवश्यक पर्‍यो । खेती किसानी गरेर खाने भवानीशंकरसँग सम्पत्तिको नाममा आठ कठ्ठा १२ धुर जग्गा र भत्कन लागेको काठको घर मात्र थियो । उनलाई अप्ठ्यारो परेपछि छिमेकी खड्गबहादुर काम्बाङकहाँ पुगे । खड्गबहादुरले तीन लाख दिने भए । तर, सर्त तेर्स्याए– घरजग्गा धितो पास गर्नुपर्छ । भवानीशंकरले सम्झिए– बैंकमा जग्गा राखेजस्तै होला, पैसा फिर्ता पाएपछि जग्गा पाइन्छ होला । उनी तयार भए । पैसा तिर्ने समय तीन वर्षको राखियो । फैसा फिर्ता गरेपछि जग्गा फिर्ता गर्ने घरायसी कागज गरियो ।

भवानीशंकरले मालपोत कार्यालय दमकमा गएर घरजग्गा धितोका रूपमा राजीनामा पास गरिदिए । तर, भवानीशंकरलाई के थाहा गाउँले खड्गबहादुरले बेइमानी गर्छन् भनेर । ‘बुबाले लिएको पैसा तीन वर्ष नपुगी हामीले फिर्ता गर्न खोज्यौँ । उहाँ (खड्गबहादुर)ले लिन मान्नुभएन । तीन वर्ष पुगेपछि पनि पैसा लिन मान्नुभएन । शंका लागेर बुझ्दा त जग्गा त हामीबाट गएपछि पनि धेरैजनाको नाममा पुगिसकेछ,’ छोरा महानन्द भन्छन्, ‘अहिले पनि तीन लाखको साँवा–ब्याज दिन खोज्दा भोलि–भोलि भन्दै टार्छन् ।’ 

भवानीशंकरको कित्ता नम्बर २७०१ (ख) र २८९४ (ख) को जग्गा खड्गबहादुरबाट अशोककुमार कोइराला, सुरजकुमार बस्नेत हुँदै अहिले अहिले हिमा लिम्बू र हरिमाया पौडेलको संयुक्त नाममा आएको छ । हिमा लिम्बूको संरक्षकमा श्रीमान् डम्बर पुलामी बसेका छन् । उनी नेकपा माओवादीनिकट वाइसिएल प्रदेश– १ का संयोजक हुन् । खड्गबहादुरले नेपाल परिवारसँग जग्गा फिर्ता गर्ने भन्दै कागज गरेका छन् ।

पछिल्लोपटक शिवसताक्षी नगरपालिकाको न्यायिक समितिमा भवानीशंकरका छोरा महानन्दले उजुरी दिएपछि पनि खड्गबहादुरले ११ भदौ ०७६ मा तीन महिनाभित्र जग्गा फिर्ता गराउने प्रतिबद्धतासहित कागज गरेका छन् । यद्यपि अहिलेसम्म जग्गा फिर्ता गरेका छैनन् ।

भवानीशंकरको गत असोजमा मृत्यु भयो । त्यसयता वाइसिएल नेता पुलामीले नेपाल परिवारलाई बारम्बार घर खाली गर्न धम्की दिइरहेका छन् । ‘हजुरबुबा पनि यही पिरले बित्नुभयो । अहिले हामीलाई बारम्बार घर खाली गर्न माओवादीको नेता डम्बर पुलामीले धम्की दिनुहुन्छ,’ नाति मञ्जिल भन्छन्, ‘दुईवटा घडेरी दिन्छु भनेका छन् । त्यसले के गर्नु ?’ 

यो जग्गा पूर्वपश्चिम राजमार्गदेखि सात सय मिटर दक्षिणमा मात्र पर्छ । तीन लाखमा डुबेको नेपालको घरजग्गा अहिले करिब ढेड करोडको भएको छ । नेपाल परिवारको आर्यस्रोत नै आठ कठ्ठा जग्गा हो । ‘म रतुवामाई वृक्षरोपण आयोजनामा वनपालेको काम गर्छु । यहीँ खेती गरेर चारजनाको परिवार पालेको छु,’ महानन्द भन्छन्, ‘दुईवटा छोरा पनि यसले नै पढाएको छु । यदि यो डुब्यो भने त म सुकुम्बासी हुन्छु । बर्बाद हुन्छु ।’ 

गत वर्ष यो जग्गाका विषयमा न्यायिक समितिमा मुद्दा चलिरहेको थियो । तर, त्यही समयमा जग्गा हिमा लिम्बू र हरिमाया पौडेलको नाममा पुग्यो । ‘अचम्म लागेको छ । यो जग्गामा यति धेरै भूमाफिया कसरी लागे ? न्यायिक समितिमा मुद्दा चल्दै छ । तर, जग्गा कसरी अर्काको नाममा गयो ?’ महानन्द भन्छन्, ‘हामीले केही बुझेका थिएनौँ । कागज गरेर राजीनामा पसा गरिदियौँ । तर, गरिबलाई डुबाउन सबै लाग्दैछन् ।’ 

नेपाल परिवारले खड्गबहादुरसँग गरेको कागजले दराज भरिएको छ । तर, जग्गा फिर्ता हुने टुंगो छैन । अदालत जाने तयारीमा थिए, महानन्द । तर, न्यायिक समितिमै मिल्न भनियो । छिमेकी खड्गबहादुर जग्गा फिर्ता गर्छु भन्न छाड्दैनन् । तर, अहिलेसम्म जग्गा फिर्ता दिएका छैनन् । 

वाइसिएल नेता पुलामीले भने आफूले जग्गा किनेर लिएको बताए । उनले मानवीयताको हिसाबले आफूले दुईजना छोरालाई जग्गा दिन खोजेको पनि बताए । ‘यो जग्गा कानुनी हिसाबले मैले किनेर ल्याएको हुँ । तर, दुई छोरा रहेछन् । उनीहरू पनि मेरो भाइभतिजा जस्तै हुन् । सहमतिमा आए दुई टुक्रा जग्गा दिन्छु भनेकै छु । तर, उहाँहरू सहमतिमा आउनुभएन,’ पुलामी भन्छन्, ‘उहाँहरू सहमति र सम्झौतामा आए म उहाँहरूलाई केही गर्छु । मैले घर खाली गर्न सर्वोच्चबाट ल्याएको छु र जिल्ला प्रशासन कार्यालयबाट पनि पत्र ल्याएको छु । मैले सम्झाएको नमाने म कानुनअनुसार अघि बढ्छु ।’ 


 

ad
ad