१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा अक्सिजन बैंक स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:o६:oo

हेटौँडामा जटिल श्वासप्रश्वाससम्बन्धी समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ । मकवानपुरमा क्रियाशील लायन्स क्लबहरूको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो । अक्सिजन बैंक जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा स्थापना गरिएको छ । अक्सिजन बैंकमा हाल ३० सिलिन्डर अक्सिजन तयारी अवस्थामा राखिएको  छ । दिनानुदिन अक्सिजन मौज्दात वृद्धिका लागि लायन्स क्लबहरूले तयारी अघि बढाएका छन् । कोरोना संक्रमित भई अक्सिजनको व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले अक्सिजन बैंकको स्थापना गरिएको हो । 

लायन्स क्लबका पदाधिकारी तथा सदस्यको आर्थिक सहयोगमा १० केजी तौलका ३० सिलिन्डर अक्सिजन तयार पारिएको अक्सिजन बैंक व्यवस्थापन उपसमितिका संयोजक राजेश वाग्लेले जानकारी दिए । लायन्स क्लबले जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वय, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ सँगको सहकार्यमा अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो । लायन्स क्लबले अक्सिजन बैंक जिल्ला प्रहरी कार्यालय परिसरमै स्थापना गरेको छ ।

अक्सिजन आवश्यक पर्ने बिरामीको आफन्तले चिकित्सकको सिफारिस तथा सम्बन्धित वडाध्यक्षको पनि मौखिक सिफारिसमा जिल्ला प्रहरी कार्यालयबाटै अक्सिजन वितरण गर्ने व्यवस्था मिलाएको छ । अक्सिजन बैंक स्थापना गर्न हेटौँडास्थित अक्सिजन ग्यास विक्रेता कुन्दन ट्रेड कन्सर्नका सञ्चालक नन्दकिशोर साहले धरौटी नराखी ३० थान सिलिन्डर उपलब्ध गराएर सहयोग गरेको संयोजक वाग्लेले जानकारी दिए । 

१० केजीको एक सिलिन्डर अक्सिजनको ६ सय ५० रुपैयाँ पर्छ भने अक्सिजन सिलिन्डरको धरौटी १५ हजार रुपैयाँ पर्छ । लायन्स क्लबले यसअघि कोभिडको पहिलो लहरको समयमा हेटौँडा बजार क्षेत्रमा हात धुने स्थानको स्थापना, खाजा वितरण तथा विभिन्न क्षेत्रमा सहयोग गरेको थियो ।

सात स्थानीय तहमा एन्टिजेन परीक्षण 
कोरोना संक्रमण परीक्षणका लागि मकवानपुरको सात स्थानीय तहमा एन्टिजेन विधिबाट परीक्षण सुरु गरिएको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, कैलाश, बागमती, मनहरी र इन्द्रसरोबर गाउँपालिकाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी ठाकुर पौडेलले जानकारी दिए । 

उनका अनुसार बकैया, भीमफेदी र राक्सिराङ गाउँपालिकामा भने परीक्षण भएको छैन । कोरोना परीक्षणका लागि सम्बन्धित स्थानीय तहले स्वास्थ्य कार्यालय मकवानपुरबाट दुई हजार ७५ एन्टिजेन किट उपलब्ध गराइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त तीन हजार एन्टिजेन किटमध्ये दुई  हजार ७५ किट जिल्लास्थित पालिकाले लगेको सूचना अधिकारी पौडेलले बताए । 

मकवानपुरमा कोरोना संक्रमणको उच्च जोखिममा रहेको हेटौँडा उपमहानगरपालिकाले १२ सय थान एन्टिजेन किट लगेर स्थानीयस्तरमै कोरोना परीक्षण गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । थाहा नगरपलिका र मनहरी गाउँपालिकाले तीन–तीन सय, कैलाश, बागमती र मकवानपुरगढी गाउँ– पालिकाले ७५–७५ थान किट लिएको कार्यालयले जानकारी दिएको छ ।

सबैभन्दा कम ५० थान किट इन्द्रसरोवर गाउँपालिकाले लिएको छ । जिल्लास्थित सरकारी अस्पताल हेटौँडा अस्पतालले एक सय थान किट लिएको सूचना अधिकारी पौडेलले बताए । हेटौँडा अस्पतालबाट पिसिआर परीक्षण पनि भइरहेको छ । स्वास्थ्य कार्यलयममा आठ सय २५ थान किट रहेको छ । 

ad
ad