Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७८ बैशाख १५ बुधबार ०९:५९:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७८ बैशाख १५ बुधबार ०९:५९:००

भारतमा लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का संगठन प्रमुख डा. टेड्रोस गेब्रेयेससले चिन्ता जनाएका छन् । डब्लुएचओका संगठन प्रमुख गेब्रेयेससले स्थिति नियन्त्रणमा ल्याउन भारतमा रहेका २६ सय कोरोना एक्सपर्टलाई तत्कालै काममा लगाउने कार्य भइरहेको जानकारी दिएका छन् । ‘भारतको अवस्था डरलाग्दो छ, यसले हामीलाई समेत भयभीत बनाएको छ,’ डा. गेब्रेयेससले भने, ‘भारतमा रहेका हाम्रा कोरोना एक्सपर्टलाई काममा लगाउने प्रक्रिया अगाडि बढाइएको छ ।’ 

भारतलाई डब्लुएचओबाट चाहिने सबै सहयोग प्राप्त हुने उनले विश्वास दिलाएका छन् । ‘भारतलाई हामी सक्दो सहयोग गर्र्छाैं,’ डा. गेब्रेयेससले भने । यसैगरी, संयुक्त राष्ट्रसंघले स्वास्थ्य आपत्काल भनी भारतका अस्पतालमा अक्सिजनको आपूर्ति व्यवस्था गर्ने भएको छ । ‘तत्काल अस्पतालको आवश्यकता अक्सिजन नै हो, यसको समाधानका निम्ति हाम्रो सहकार्य हुनेछ,’ संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पछिल्लो डेढ सातादेखि भारतमा कोरोना संक्रमित तथा मृतक संख्या बढ्दो छ ।

एक सातायता विश्वभरिको दैनिक संक्रमित संख्या विश्लेषण गर्दा भारतले मात्र ४८ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । कोरोना नियन्त्रण गर्नकै लागि नयाँदिल्लीलगायत अन्य विभिन्न सहरमा लकडाउन घोषणा भइरहेको छ । अस्पतालमा कोरोना संक्रमित तथा घाटमा पार्थिव शरीर भरिएका छन् । डब्लुएचओले यसलाई ‘हृदयविदारक’ भनेको छ । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच सोमबार टेलिफोन वार्ता भएको भारतीय एजेन्सीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले भारतमा कोभिड–१९ महामारीविरुद्ध आफूहरूको सहयोग हुने प्रतिबद्धता जनाएका छन् । 

‘जब अमेरिका कोभिड–१९ को महमारीविरुद्ध लडिरहेको थियो, त्यसवेला भारतले निकै ठूलो सहयोग गरेको थियो,’ बाइडेनले भने, ‘अब सहयोग गर्ने पालो अमेरिकाको हो ।’ अमेरिकाले सहयोग गर्ने भएपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन् । बाइडेनसँगको फोनवार्तापछि मोदीले सोसियल मिडियामा त्यसको जानकारी गराएका हुन् । अमेरिकाले भ्याक्सिन उत्पादनका निम्ति आवश्यक पर्ने सबै सामग्री अमेरिकाले सहयोग गर्ने मोदीले जानकारी दिएका छन् । ‘हामीलाई भ्याक्सिन बनाउन र औषधि उत्पादनमा चाहिने सामग्री उपलब्ध गराउने प्रतिबद्धता अमेरिकाले जनाएको छ,’ मोदीले भने, ‘अमेरिका र भारत संयुक्त रूपमा हेल्थकेयरअनुसार अगाडि बढ्नेछन् ।’ 

डब्लुएचओ, संयुक्त राष्ट्रसंघ तथा अमेरिका मात्र नभएर विश्व नै भारतको अवस्थाप्रति चिन्तित छ । जापानका प्रधानमन्त्री सोसिहिदो सुगाले पनि भारतीय प्रधानमन्त्री मोदीसँग फोनवार्तामा सहयोग गर्ने बताएका छन् । यसैगरी, साउदी अरेबियाले भारतलाई ८० टन अक्सिजन उपलब्ध गराउने भएको छ । साउदी अरेबियाको दमाम बन्दरगाहबाट ८० टन भरिएको कार्गो जहाज भारततर्फ लागेको एजेन्सीहरूले जनाएका छन् । यो कार्गो जहाज भारतको मुन्द्रा बन्दरगाहमा पुग्नेछ । त्यहाँबाट नै अक्सिजन अभाव भएका राज्यहरूमा वितरण हुनेछ ।

भारतको वर्तमान अवस्था समाधान र सहयोगका निम्ति अस्ट्रेलियामा राष्ट्रिय सुरक्षा बैठक बस्ने भएको छ । अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हान्टले मानवता धर्मअनुसारै भारतलाई सहयोग गर्ने हेतु राष्ट्रिय सुरक्षा बैठक बसेको जानकारी दिएका छन् । ‘मानव धर्म नै एक–अर्कोलाई सहयोग गर्नु हो, यो वेलामा हामीले भारतलाई सहयोग गर्नुपर्छ,’ स्वास्थ्यमन्त्री हान्टले भने । अस्ट्रेलियाले भारतलाई फाइजर भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको उनले बताएका छन् । ‘भारतको समस्या नै अक्सिजन अभाव हो, भारतको अनुरोधपछि नै हामी अक्सिजन सहयोग गर्न तयार भएका छौँ,’ उनले भने ।