१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नवराज मैनाली काठमाडौं
२०७८ बैशाख १४ मंगलबार २०:२०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वन्यजन्तु तस्करीका नाइके कुन्जोक दोषी ठहर

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७८ बैशाख १४ मंगलबार २०:२०:००

वन्यजन्तुसम्बन्धी अपराधमा हालसम्मकै ठूला अभियुक्त भनिएका कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङलाई अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत रसुवाले उनलाई ८ वैशाखमा दोषी ठहर गरेको हो । 

१५ वर्षअघिको एक तस्करीमा संलग्न तामाङलाई गत वर्ष १० असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । रसुवाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले उनलाई अवैध रूपमा अखेटोपहार ओसारपसार गरेको मुद्दामा दोषी ठहर गरेको हो । मुद्दामा दोषी ठहर भए पनि सजाय भने  निर्धारण भइसकेको छैन ।  

आगामी २२ वैशाखमा सजाय निर्धारण हुने जिल्ला अदालत रसुवाका तहसिलदार रामचन्द्र मण्डलले बताए । ‘उनलाई दोषी ठहर भएको छ,’ मण्डलले भने, ‘सजायको निर्धारण २२ गते हुन्छ ।’ 
 
कुन्जोक वन्यजन्तु मुद्दामा नेपालमा पक्राउ परेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’ अभियुक्त भएको प्रहरी अधिकारी बताउँछन् । उनी भारतबाट नेपाल हुँदै बाघका छाला तथा हड्डी तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्ये एक भएको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए ।  

प्रहरीको १५ वर्ष लामो मिहिनेत 
१५ वर्षको मिहिनेतपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ०६२ सालमा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा उनको संलग्नता देखिएपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो । त्यसवेला रसुवाको स्याफ्रुबेंसीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवाकाे छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । रसुवास्थित नेपाली सेनाको दुर्गाबक्स गणको चेकिङमा उनीहरू पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा त्यसमा कुन्जोकको संलग्नता खुलेको थियो । त्यसवेला विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । 

सिआइबीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा गत वर्ष १३ असारमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको ९ महिनापछि मुद्दाको फैसला भएको थियो । पुर्पक्षमा पठाउने आदेशविरुद्ध उनी उच्चदेखि सर्वाेच्चसमेत गएकोमा उनको पक्षमा आदेश नभएपछि अहिले पनि उनी थुनामै छन् ।  

कुन्जोक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै खोजी भएका अभियुक्त हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत उनको सूचना संकलन गरी नेपाललाई पठाउँदै आएको थियो । वन्यजन्तु तस्करीको विभिन्न अन्तर्राष्ट्रिय गिरोहमा उनको संलग्नता देखिएको भन्दै इन्टरपोलले सूचना दिने गरेको थियो । मोष्ट वान्टेड भए पनि उनी अमेरिकादेखि विभिन्न देश पुग्ने गरेका थिए । प्रहरीले कुन्जोन लामाको नाममा उनलाई खोजी गरिरहेको थियो । तर, उनले कुन्जोकछिरिङ तामाङको नामबाट नागरिकता बनाई कारोबार गरिरहेका थिए । १५ वर्षपछि कुन्जोक लामा र कुन्जोकछिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि गरेर मुद्दा दायर भएको हो ।  

त्यतिखेर उनले प्रयोग गरेको सिमकार्ड अहिले पनि उनले प्रयोग गर्दै आएको खुलेको छ । अभियुक्तहरूले बयानमा बताएको मोबाइल नम्बर अहिले पनि उनले प्रयोग गर्दै आएका थिए ।  सिमकार्ड लिनेवेला प्रयोग गरिएको हस्ताक्षर र बैंकमा प्रयोग भएको हस्ताक्षर एउटै छ । विगतमा उनको वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा इन्टरपोलबाट रेड नोटिस पनि जारी हुन सकेको थिए । त्यतिवेला राष्ट्रिय निकुञ्जका कर्मचारीले समेत वास्तविक नाम पत्ता लगाउने प्रयास नगरी उनलाई उन्मुक्ति दिने प्रयास  भएको थियो । पक्राउ पर्ने डरले केही महिनायता उनी आफ्नो घरमा समेत बस्न छाडेका थिए । साथीहरूसँग जमघट तथा जुवा खेल्न मात्र कहिलेकाहीँ घरमा जाने गरेको  अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । केही प्रहरी अधिकारीसँगै उनको उठबस भएकाले पनि उनले संरक्षण पाउँदै आएका थिए ।  

६ सय बाघको चोरी सिकारी 
भारतीय अधिकारीहरूबाट नेपाल प्रहरीलाई आएको सूचनाअनुसार उनी आबद्ध समूहले करिब ६ सयवटा बाघको चोरी सिकारी गरेको छ । भारतका कुख्यात वन्यजन्तु तस्कर संसार चन्द तथा सहिबर कुरैसीको समूहसँग मिलेर उनले काम गरेको पुष्टि भइसकेको छ । 

भारतमा प्रहरीले ठूलो मात्रामा  बाघको छाला बरामद भएको घटनामा उनको समेत संलग्नता खुलेको थियो । जसमा उनलाई फरार सूचीमा राखिएको छ । रसुवामा पक्राउ परेकाे समूहले त्यसअघि पनि आफूहरूले पटकपटक बाघका छाला तथा हड्डी ओसारेको बयान दिएका थिए । 

भारतमा पनि उनी मोष्ट वान्टेड छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तर प्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बाघको छाला बरामद भएकोमा त्यसको तस्करीको नाइके उनी भएको खुलेको थियो । सोही आधारमा भारतले पटकपटक नेपालसँग उनलाई पक्राउबारे छलफल गरे पनि उनी फेला परेका थिएनन् । 

उनी करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका– ६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै रहेकोमा कान्छी श्रीमतीसँग जोरपाटीमा बस्दै आएका थिए । प्रहरीदेखि केही नेताहरूसँग समेत उनको निकट सम्बन्ध देखिएको प्रहरी स्रोत बताउँछ । उनी पक्राउ परेपछि सो गिरोहका रहेका अन्य व्यक्तिहरूमाथि अनुसन्धान अघि बढेको छ । जसमध्ये केही अमेरिकामा बस्दै आएको खुलेको छ । वन्यजन्तुसम्बन्धी अपराधमा नेपालमा अहिलेसम्म यति उच्च तहको व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्टरपोलले पनि उनको अन्तर्राष्ट्रिय नेटवर्कमाथि थप अनुसन्धान अघि बढाएको छ । उनको गिरोहका केही व्यक्ति अझै फरार छन् । 

सम्पत्ति शुद्धीकरणको छुट्टै अनुसन्धान  
पछिल्लो १५ वर्षको अवधिमा उनले करिब दुई अर्बको बैंकिङ कारोबार गरेको देखिएको छ ।  प्रारम्भिक छानबिनमा उनले अर्बौँको सम्पत्ति भेटिएपछि प्रहरीले थप अनुसन्धानका लागि विवरण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाएको थियो । जसअनुसारमा उनको सम्पत्तिको समेत छानबिन भइरहेको छ । 

उनले बौद्धको सिमलटारमा १८ आनामा पाँचतले भव्य घर बनाएका छन् । उनको धेरैजसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको छ । गुह्येश्वरी फाइनान्सबाट तीन वर्षअघि मात्र व्यापारका नाममा दुई करोड कर्जा लिएका छन् । उनको कर्णाली गार्मेन्ट पसल पनि छ । आफन्तहरूको नाममा उनले करोडौँ सम्पत्ति लुकाएको प्रहरी आशंका छ । वन्यजन्तु तस्करीकै अपराधबाट उनले यो सम्पत्ति कमाएको प्रहरी आशंका छ । 

उनको नेपालमा कर्णाली गार्मेन्ट पसल नामक कम्पनी छ । आफूलाई गार्मेन्ट व्यवसायीको रूपमा चिनाउने गरेका छन् । तर, अहिले पनि उनी अन्तर्राष्ट्रिय नेटवर्कमा रहेर वन्यजन्तुको तस्करी गरिरहेको स्रोत बताउँछ । भारतको सिलगुढीमा समेत उनको सम्पत्ति छ । त्यहाँ पनि पस्मिनाको नाममा उनले सहतुसको अवैध तस्करी गर्दै आएको सूचना इन्टरपोलको छ ।