मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
२०७८ बैशाख ७ मंगलबार ०९:४३:००
Read Time : > 3 मिनेट
प्रदेश

कोरोना संकटमा मनाङको पर्यटन : पर्यटक आउन छाडेपछि होटेल व्यवसायी कृषि खेतीमा

Read Time : > 3 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०९:४३:००

अघिल्ला वर्षहरूमा मार्च र अप्रिल महिनामा अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पदयात्रीको भिड लाग्थ्यो । पदमार्ग क्षेत्रका होटेलहरू पनि सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार पारिन्थ्यो । यति बेला पदमार्गका होटेल तथा रिसोर्ट पदयात्रीले खचाखच भरिएका हुन्थे । तर, यसपटक पर्यटकीय सिजन सुरु भइसक्दा पनि एउटै पदयात्री देखिएका छैनन् । दैनिक चार सय पर्यटक आउने अन्नपूर्ण पदमार्ग यति बेला सुनसान बनेको छ । 

विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण पदमार्ग सुनसान बनेको हो । अन्नपूर्ण पदमार्ग मात्र होइन  देशभरका सबै पर्यटकीय गन्तव्य अहिले पर्यटकको पर्खाइमा छन् । 

अन्नपूर्ण क्षेत्र विश्वकै लोकप्रिय पदमार्ग मानिन्छ । नेपालमा पदयात्रा गर्न आउने विदेशी पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण क्षेत्रमा आउने गरेको तथ्यांक छ । पछिल्लो समय आन्तरिक पदयात्रीहरू पनि ह्वात्तै बढेको मनाङका पर्यटन व्यवसायी कर्मछिरिङ लामा बताउँछन् । 

विगतका वर्षहरूमा स्वदेशी तथा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भइसकेको छ । कोभिडको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएपछि विश्वभरका पर्यटक घुमफिर गर्न डराइरहेका छन् । 

पाहुना नपाउँदा पदमार्ग क्षेत्रका व्यवसायीहरूको रोजीरोटी नै गुमेको छ  । ‘दैनिक पाँच सयदेखि एक हजारसम्म स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउन हुने मनाङ सुनसान बनेको छ,’ पर्यटन व्यवसायी गुरुङ भन्छन् । 

सन् २०२० को पहिलो सिजनमै पदयात्री नआएर व्यवसाय बन्द गरेका व्यवसायीले २०२१ मा पनि पदयात्री आउने आशा मारिसकेका छन् । मुलुकमा कोभिडको महामारी फैलिँदै गएपछि पर्यटकीय गतिविधि हुने सम्भावना देखिँदैन । 

योकेल गुरुङ टुरिस्ट गाइड हुन् । कोरोनाका कारण उनी बेरोजगार छन् । भन्छन्, ‘यो सिजनमा अन्नपूर्ण पदमार्गमा पर्यटक नआउँदा एकातिर रोजगारी गुमेको छ भने अर्कोतिर व्यवसाय नै ठप्प भएको छ ।’  विदेशी पर्यटकलाई गाइड गर्दा मासिक ६०/७० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । 

कर्म शेर्पा पनि ट्रेकिङ गाइड हुन् । उनी तीन वर्षदेखि पर्यटकसँग अन्नपूर्ण पदमार्गमा आउने गर्दथे । सिजनमा ५–६ वटा समूह लिएर आउँदा १० लाखदेखि १५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन् । 


पर्यटकको पर्खाइमा मनाङवासी

मनाङका अधिकांश बासिन्दाको रोजीरोटी नै पर्यटन व्यवसाय हो । मनाङका होटेल व्यवसायी यमबहादुर घले दुइवर्ष अघि यही समयमा होटेलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको सम्झन्छन् ।  उनी गुनासो पोख्छन्, ‘अहिले त सिजनमै सबै होटेल खाली छन् ।’ 

मनाङमा पर्यटक आवतजावत गर्दा पदमार्गका चिया पसलदेखि व्यवस्थित रूपमा चलेका होटेल गुल्जार हुन्थे । स्वदेशी तथा विदेशी पर्यटकको खचाखच भिड हुँदा सबैखाले व्यवसायीको राम्रै कमाइ हुन्थ्यो । 

तर, यो वर्ष पर्यटक आउजाउ ठप्प भएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । एक्याप मनाङका अनुसार यो सिजनमा दैनिक पाँच सय विदेशी पर्यटक मनाङमा पुग्ने गर्थे । मनाङमा तीन सय बढी होटेल छन् । एक करोडदेखि १० करोड लगानीमा बनेका होटेल पनि छन् । 


मनाङका आकर्षण
मनाङ क्षेत्रमा पदयात्रीहरू विशेष गरेर थोराङ्ला पास, लार्के पास, कालापास, विश्वकै अग्लो स्थानमा (४,९१९ मिटर) रहेको चित्ताकर्षक तिलिचो तालको अवलोकनका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्यधिक पर्यटकहरू आउने गर्छन् । लमजुङको सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार मानिन्छ । त्यहाँबाट पर्यटक खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानी भएर पोखरा निस्कन पुग्छन् । पदयात्राका सोखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्गसँगै समुद्री सतहबाट सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल पुग्ने पर्यटकहरू पनि प्रशस्तै आउने गर्छन् ।

यो पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । अन्नपूर्ण पदयात्रा मार्ग विश्वका १० उत्कृष्टमध्ये एक हो । गण्डकी प्रदेशको मुख्य मार्गका रूपमा रहेको यो पदमार्गमा सन् २०१९ मा २६ हजार ६४७ विदेशी पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्यांकले देखाएको छ । चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि विदेशी पर्यटकलाई सन् १९७७ बाट खुला गरिएको हो । १९९६ देखि एक्यापले चक्रीय अन्नपूर्ण पदयात्रामा आउने विदेशी पर्यटकको तथ्यांक राख्न थालेको हो ।

चित्ताकर्षक घाँसे मैदान, फापर र उवा 
पर्यटकको रोजाइमा मनाङको चामे, तिमाङ, दानाक्यु, बगरछाप, धारापानी, ढिकुरपोखरी, पिसाङ, हुम्डे, भ्राका, मनाङ, खाङसार, तिलिचो बेसक्याम्प, थोराङ फेदी, नार र पूmलगायतका स्थान पर्छन् । त्यहाँ खान बस्न होटेलको राम्रो प्रबन्ध पनि छ । यो सिजनमा मनाङका खर्क अनि घाँसे मैदानहरू हरियो हुने र त्यहाँ लगाइएको फापर र उवा फुलेको मनोरम दृश्यले पनि पदमार्गमा आउने विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख लेखनाथ गौतम बताउँछन् । 

कृषिमा लागे पर्यटन व्यवसायी 
लामो समयदेखि होटल चलाउँदै आएका मनाङका अगुवा पर्यटन व्यवसायी विनोद गुरुङ कोरोनाका कारण पर्यटक आउजाउ रोकिएपछि खेतीपातीमा लागेका छन् । पर्यटन व्यवसाय धरासयी भएकाले वैकल्पिक पेसा अपनाउन बाध्य भएको उनको भनाइ छ । विगतका वर्षमा तीन रोपनी जग्गामा तरकारी खेती गरेर अधिक समय होटेलमा बिताउने उनले यसपटक १२ रोपनी क्षेत्रफलमा तरकारी रोपेका छन् । भन्छन्, ‘विगतका वर्षमा पाहुनालाई सत्कार गर्दैमा फुर्सद हुँदैनथ्यो । यसपटक कोभिडले पाहुना आएनन्, त्यसैले तरकारी खेतीमा लागेको छु । पर्यटनमा लागेका व्यवसायीले पहिला पहिला तरकारी खेती गर्दा आफूलाई चाहिनेजति मात्र उत्पादन गर्थे, अपुग तरकारी गाउँमै किन्थे । तर, यसपटक सबैजना फुर्सदिला भएर कृषिमा केन्द्रित हुँदा पर्याप्त तरकारी फलेर खपत गर्न नसकेको गुरुङ बताउँछन् ।