मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ बैशाख १० शुक्रबार १८:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रोजगारी गुमाएर ज्यान जोगाउन भारतबाट मातृभूमि फर्किए नेपाली, छैन क्वारेन्टिन र आइसाेलेसन

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ बैशाख १० शुक्रबार १८:३४:००

कञ्चनपुरको बेलडाँडी गाँउपालिका– १ का दीपकराज जोशी भारतको दिल्लीकाे रोहिणीस्थित एक प्रतिष्ठित होटेलमा वेटरको काम गर्दै आएका थिए । गत वर्ष कोरोना कहर नसकिँदै भारत पसेका जोशी पुनः ६ महिनामै मातृभूमि फर्किएका छन् । भारतमा कोरोना कहर बढेसँगै उनी गत चैतमा घर आएका हुन् । गड्डाचौकी नाकामा उनको एन्टिजेन प्रविधिबाट परीक्षण गरियो । तर, कोरोना देखिएन । मासिक १५ हजार रुपैयाँ भारु कमाउँदै आएका जोशी स्वदेश फर्किएपछि बेरोजगार बनेका छन् । 

कञ्चनपुरमा समेत समुदायमा कोरोना कहर बढेसँगै भारतमा रोजगारी गुमाएका नेपाली नागरिक कोरोनाकै सिकार हुने चिन्तामा छन् । ‘उता रोजगारी गरेर आफ्नो र घर–परिवारको खर्च चलाउँदै आएको थिएँ,’ ‘जोशीले भने, ‘भारतमा कोरोना कहरले रोजगारी गुमाए स्वदेश आएँ, यहाँ रोजगारी पाउने आसै छैन, अब कोरोना कहर र भोकले मरिने भयो ।’ 

भारतको महाराष्ट्र जहाँ कोरोना संक्रमण बढेको छ, त्यहाँबाट गत चैतमा स्वदेश आएका भीमदत्त नगरपालिका– १९ बागफाँटाका रमेश सुनार पनि मातृभूमि आएपछि बेरोजगार भएका छन् । उनी महाराष्ट्रको एक कम्पनीमा कार्यरत थिए । उता भारतमा २० हजार भारु रुपैयाँ मासिक कमाउँदै आएका उनले कोरोना कहरका कारण रोजगारी छाडेर मातृभूमि (स्वदेश) फर्किएको बताए । ‘भारतबाट ज्यान जोगाउन नेपाल आएँ,’ ‘उनले भने, ‘नेपालमा पनि कोरोना कहर बढेको रहेछ । यसपटक समुदायमा संक्रमण फैलिएर बाँच्न कठिन भयो ।’ 

किसानले गहुँखेती भित्र्राएसँगै भारतबाट स्वदेश फर्किएका नेपाली खाली हात बस्नुपर्ने बाध्यता रहेको छ । भारतको दिल्लीमा चर्को गर्मीका कारण पनि त्यहाँका नागरिक एवं नेपालीमा श्वास–प्रश्वासमा समस्या देखिएकाले कोरोना संक्रमण बढिरहेको छ । भारतबाट फर्किने सबैको कोरोना परीक्षण नगरिँदा परीक्षणसमेत समुदायमा कोरोना संक्रमण बढिरहेको छ । परीक्षण गरिएका, तर लक्षण नदेखिएकालाई होम क्वारेन्टिन भन्दै घर पठाइन लागिएको छ । 

स्वास्थ्यमा समस्या देखिएकालाई महाकाली अस्पताल र आइसिएच आइसाेलेसन भवनमा राखिएको छ । भारतबाट फर्किकामध्ये केहीको मात्रै एन्टिजेन प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । ८ वैशाखमा एघार सय ५६ नेपाल प्रवेश गरेकामध्ये एक सय ९२ को परीक्षण गर्दा १६ मा पजिटिभ, ९ वैशाखमा सात सय ६६ जना नेपाल प्रवेश गरेका थिए जसमध्ये दुई सय ११ को परीक्षण गर्दा १६ जनामा कोरोना देखियो ।  १० वैशाखमा शुक्रबार गड्डाचौकी नाकाबाट चार सय ९७ नेपाल भित्रिए  । तीन सय २६ को परीक्षण गर्दा ३८ मा कोरोना देखिएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरको शुक्रबारको तथ्यांकअनुसार पिसिआरबाट ३० र एन्टिजेनबाट ४७ गरी ७७ जनामा कोरोना देखिएको छ । तीन दिनको अवधिमा कञ्चनपुरमा ८ वैशाख ७९, ९ वैशाख ८० र १० वैशाख ७७ जनामा कोरोना देखिएको छ । कोरोनाका बिरामीले अस्पताल र आइसाेलेसन भरिभराउ छन् । महाकाली अस्पतालमा ४१, आइसिचएमा ५०, कोरोना अस्पताल पुनर्वासमा आठजना संक्रमित रहेका छन् । महाकाली अस्पताल, पिपलाडी स्वास्थ्यचौकी र पुनर्वास आइसाेलेसनमा स्वास्थ्यकर्मीमै कोरोना संक्रमित देखिएपछि उपचारमा समस्या भइरहेको छ । 

महाकाली अस्पतालमा १५, पुनर्वास कोरोना अस्पतालमा एक, पिपलाडी स्वास्थ्य चौकीमा पाँच स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । कञ्चनपुरमा सरकारी कार्यालय, विद्यालयमा विद्यार्थी, शिक्षक, व्यवसायी गरेर समुदायमा कोरोना संक्रमण फैलिएको छ । महाकाली अस्पतालमा रहेका ६ आइसियू बेडमा कोरोनाकै बिरामी छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना रोकथामका लागि अस्पतालसँग जनशक्ति र उपकरण नहुँदा समस्या भइरहेको बताए ।