१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख ७ मंगलबार ०८:३०:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

सप्तरीका ६ स्थानीय तहमा मात्र कोरोना अस्पताल

Read Time : < 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०८:३०:००

कोरोना भाइरसको संक्रमणको दोस्रो लहर सुरु भइसक्दा सप्तरीका १८ मध्ये ६ वटा स्थानीय तहले मात्रै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । अस्पताल सञ्चालनका लागि ६ महिनाअघि नै प्रत्येक पालिकालाई १० लाख रुपैयाँ अनुुदान उपलब्ध गराइएको थियो । तैपनि ६ वटा पालिकाले मात्रै अस्पताल सञ्चालनमा ल्याएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार अहिलेसम्म कञ्चनरूप, शम्भुुनाथ, सुरुंगा, डाक्नेश्वरी, सप्तकोसी नगरपालिका, तथा तिरहुत र अग्निसाइकृष्णसवरन गाउँपालिकाले मात्रै कारोना अस्पताल सञ्चालनमा ल्याएका छन् । ‘प्रत्येक पालिकामा कोरोना अस्पताल सञ्चालन गर्न रकम गए पनि पालिकाहरू गम्भीर भएर नलागेका कारण अस्पताल सञ्चालनमा आउन सकेन,’ यादवले भने, ‘सप्तरीमा अहिले कोरोनाका तीनजना सक्रिय केस छ ।’ सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले कोरोना संकट व्यवस्थापनको बैठकबाट निर्णय गरेर कुनौली भन्सारमा जाँचको व्यवस्था गरिएको बताए । ‘जिल्लामा यसअघि सञ्चालित क्वारेन्टिन, आइसोलेसनलाई पुनः तयारी अवस्थामा राख्न निर्देशन दिएको छु,’ उनले भने । 

गजेन्द्रसिंह अञ्चल अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले आर्थिक अभावका कारण कोरोना परीक्षणका लागि नियुक्त गरिएका १२ जना स्वास्थ्यकर्मीलाई हटाइएको जानकारी दिए । अहिले दुईजना स्वयंसेवीले सेवा दिइरहेका छन् । गजेन्द्रसिंह अञ्चल अस्पताल राजविराजमा कोरोना परीक्षणका लागि नियुक्त गरिएका १२ जना कर्मचारीका लागि तलब उपलब्ध गराइदिन प्रदेश २ को सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरिएको पोखरेलले बताए ।