१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार १५:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षामन्त्री भन्छन्– कुनै पनि तहको परीक्षा रोकिँदैन, असारदेखि नयाँ शैक्षिक सत्र (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार १५:४५:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले २५ वर्षमुनिको उमेर समूहमा  कोरोना संक्रमणको दर बढेकाले पठनपाठनलाई अनलाइन माध्यमबाट गर्ने गरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताएका हुन् ।

उनले भने, ‘२५ वर्षमुनिका विद्यार्थी भाइबहिनीमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफलपछि कोभिडको असर सबैभन्दा बढी बालबालिकामै पर्ने हुनाले आजको मन्त्रिपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई नियमित गर्ने, भौतिक रूपमा विद्यालयमा विद्यार्थी भाइबहिनीलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने, वैशाख मसान्तसम्मको स्थितिलाई हेर्दैै जाने निर्णय भएको छ ।’

मन्त्री श्रेष्ठले कोरोना संक्रमण दर उच्च रहेका जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा विद्यार्थीलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले तोकेका जिल्लाहरू र घोषित सहरहरू जुन क्षेत्रमा कोभिडको प्रभाव व्यापक छ ती सहरहरू र जिल्लाहरूमा डिसिसिएमसीको तर्फबाट गरिएको सिफारिसको आधारमा ती सहर र जिल्लामा वैशाख मसान्तसम्म भौतिक रूपमा विद्यार्थीलाई स्कुलमा आउन अनिवार्य नगर्ने । वैकल्पिक व्यवस्थाबाट पठनपाठन गर्ने गरी वैशाख मसान्तसम्मका लागि स्थगित गरिएको छ ।’

मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पारे । असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने पनि उनले बताए ।