Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्बिर
२०७८ बैशाख ५ आइतबार १९:२४:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाले रोजगारी गुमेपछि घर फर्कँदै नेपाली

Read Time : > 3 मिनेट
२०७८ बैशाख ५ आइतबार १९:२४:००

अछामको चौरपाटी घर भएका मानबहादुर साउद कामको खोजीमा भारतको महाराष्ट्र पुगेको दुई महिनामै आइतबार घर फर्कँदै थिए । महाराष्ट्रको पुनामा होटेलमा वेटरको काम पाएका उनले आगामी दशैँमा घर फर्कने सोच बनाएका थिए । तर, लकडाउनका कारण काम गुमेपछि उनी दुई महिनामै घर फर्कन बाध्य भएका हुन् ।

महाराष्ट्रमा कोरोना संक्रमण तीव्र बनेपछि गरिएको लकडाउनका कारण होटेल बन्द हुँदा साताअघि रोजगारी गुमेको उनले बताए । ‘कोरोना बढेको भन्दै उता होटेल, बजार सबै बन्द छन् । लकडाउनमा अर्काको देशमा थुनिनुभन्दा आफ्नै देश फर्केँ,’ आइतबार बिहान त्रिनगर नाकामा भेटिएका साउदले भने, ‘केही महिना काम गर्ने सोच थियो । तर, कोरोनाका कारण काम बन्द भएपछि फर्कनुप¥यो ।’ 

उनीसँगै महाराष्ट्र पुगेर विभिन्न ठाउँमा काम गरिरहेका चौरपाटीका अन्य चारजना पनि घर फर्कँदै थिए । दुई महिनामै फर्कनुपरेकाले कमाइ नहुँदा घरमा छोराछोरी र परिवारका लागि लुगाफाटो पनि लग्न किन्न नसकेको दुःखेसो उनीहरूले पोखे ।


लकडाउनका कारण रोजगारी गुमेपछि बर्दियाको राजापुरका विष्णु कामी पनि भारतको पुनाबाटै घर फर्केका छन् । गत पुसमा भारत गएका उनी त्यहाँ एक होटेलमा काम गर्थे । कोरोना बढे पनि काम चलेको भए उतै बस्ने उनको सोच थियो । तर, होटेल बन्द भएपछि सात–आठ दिनदेखि खाली बसेका उनी पछि लकडाउनमा समस्या होला भन्ने डरले फर्केका हुन् ।
    
त्रिनगर नाकामा कोरोना परिक्षण गर्दैगर्दा भेटिएका विष्णुलाई घर गएर बेरोजगारी बस्दा आर्थिक समस्या हुने चिन्ता छ । स्वदेशमा सामान्य काम पनि नपाएपछि अर्काको देश जानुपरेको गुनासो उनले गरे । ‘गरिबीका कारण परिवार पाल्न समस्या भएपछि अर्काको देशमा जानुपरेको हो,’ उनले भने, ‘के गर्नु, स्वदेशमा काम पाइँदैन । परिवार पाल्नका लागि पनि विदेश जानुपर्ने बाध्यता हो ।’ कोरोना बढेर लामो समय भारत फर्कन नपाए गुजारा गर्न समस्या हुने उनको भनाइ छ ।

नाकामा घुइँचो
भारतमा कोरोना संक्रमण तीव्र बनेपछि कामको खोजीमा भारतमा रहेका नेपाली अहिले धमाधम घर फर्कन थालेका छन् । कतिपय लकडाउनका कारण काम गुमेपछि र कतिपय कोरोनको त्रासले घर फर्कन थालेका हुन् । पश्चिमी नाका त्रिनगर र गड्डाचौकीमा केही सातायता भारतबाट फर्कनेको घुइँचो लाग्ने गरेको छ । त्रिनगर नाकाबाट मात्रै दैनिक सात–आठ सयजना आउने गरेका छन् । 

यी नाकाबाट फर्कने अधिकांश सुदूरपश्चिमका बासिन्दा छन् । चरम गरिबीका कारण सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जानेको संख्या ठूलो छ । यहाँबाट कामको खोजीमा भारत गएकाहरूको यकिन तथ्यांक नै सरकारसँग छैन । तर, हजारौँको संख्यामा भारतीय रोजगारीमा रहेको अनुमान छ । ‘धनसम्पत्ति जोड्न अर्काको देश गएका होइनौँ,’ भारतबाट फर्केका कैलालीको पहलमानपुरका लोकबहादुर शाहीले भने, ‘परिवार पाल्नका लागि पनि यहाँ काम पाइँदैन, त्यसैले भारत जानुपरेको हो ।’ 

गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि संक्रमण उत्कर्षमै रहेका वेला उनीहरू केही महिनामै भारत फर्केका थिए । लकडाउनको सुरुमा घर आउनेकोजस्तै भिड संक्रमणकै वेला भारत जानेको देखिएको थियो । 

कोरोनाका वेला हजारौँ युवा फर्के पनि उनीहरूलाई रोजगारी दिने कार्यक्रम सरकारले ल्याउन नसकेको सरोकारवाला बताउँछन् । गरिबीका कारण मजदुरी गर्न भारत जानुपर्ने विगतदेखिको बाध्यता अन्त्यका लागि तीनै तहका सरकारले काम गर्न नसकेको उपप्राध्यापक देवराज अवस्थीले बताए । 

‘संक्रमणकै वेला ज्यान जोखिममा राखेर भारत जान बाध्य भएकाहरूको भिड सरकार, राजनीतिक दलका नेता र नीति निर्माणकर्ताले देखेनन् । सामान्य कामका लागि पनि भारत जानुपर्ने बाध्यताको पीडा देश चलाउनेहरूले बुझेनन्,’ अवस्थीले भने, ‘कोरोनाकै वेला नाकामा आउने र जानेको भिड देखेको भए रोजगारी सिर्जना गर्ने योजनाहरू आउँथे ।’ 

विद्यालय जानुपर्ने किशोरदेखि कपाल सेताम्य फुलेका वृद्ध काम खोज्न भारत जाँदै गरेको दृश्यले राज्य सञ्चालनमा रहेकाहरूलाई नछुनु विडम्बना भएको उनले बताए । कोरोनापछि पनि सरकारले रोजगारी सिर्जनमा ध्यान नदिएको अवस्थीले बताए ।

कामदारसँगै भित्रिँदै कोरोना, सुदूरपश्चिम उच्च जोखिममा
भारतबाट फर्केकामा धमाधम कोरोना देखिन थालेपछि सुदूरपश्चिममा संक्रमण फैलने जोखिम बढेको छ । भारतबाट फर्कने सबैको नाकामा कोरोना परीक्षण हुने गरेको छैन । परीक्षण गरिएकामध्ये धेरैमा संक्रमण देखिन थालेका वेला परीक्षणविनै पठाउँदा कोरोना फैलने जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
    
नाकामा हुने अव्यवस्थित भिडमा स्वास्थ्य सावधानी पनि अपनाएको देखिँदैन । भारतबाट फर्कने धेरैजसोमा संक्रमण देखिन थालेकाले सुदूरपश्चिममा दोस्रो लहरको संक्रमण फैलने जोखिम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । पछिल्लो केही सातायता सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको उनले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भारतबाट आएका दुईजना संक्रमितको केही दिनयता मृत्यु भएको छ । 
    
त्रिनगर नाकामा मात्रै २ चैतयता भारतबाट फर्केका आठ सयजनामा कोरोना पजिटिभ देखिएको छ । यो अवधिमा नौ हजार नौ सय ६६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा आठ सयजनामा पजिटिभ देखिएको स्वास्थ्य परीक्षणमा खटिएका अहेव गणेश बोहराले जानकारी दिए ।
    
एन्टिजेन किट र जनशक्तिको अभावले भारतबाट आउने सबैको परीक्षण गर्न नसकिएको उनले बताए । आइतबार मात्र भारतबाट करिब सात सयजना आएकोमा तीन सय ६१ जनाको परीक्षण गरिएको बोहराले जानकारी दिए । तीमध्ये ४० जनामा कोरोना देखिएको छ ।
    
भारतमा संक्रमण फैलिएका क्षेत्रबाट आएका र कोरोनाको लक्षण देखिएकाहरूमा एन्टिजेन परीक्षण गर्ने गरिएको निर्देशक अवस्थीले बताए । ‘प्रत्येक मान्छेको परीक्षण सम्भव हुँदैन । भारतमा कोरोना प्रभावित क्षेत्रबाट आएका र लक्षण भएकाहरूलाई जाँच्ने हो,’ उनले भने ।
    
कोरोना पजिटिभ देखिएकाहरूलाई धनगढीमा बनाइएको आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ । १० दिन आइसोलेसनमा राखेर घर पठाउने गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यसअघि संक्रमित सार्वजनिक सवारीसाधन चढेर घर जाने गरेका थिए । अहिले गाडी बुक गरेर जान सक्नेहरूलाई मात्र होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।