मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
अजित अधिकारी काठमाडौं
२०७८ बैशाख ५ आइतबार ०८:१२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमको चुहावट रोक्ने सफ्टवेयर परीक्षणमा समस्या, पुरानै प्रणालीबाट कामकाज

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ बैशाख ५ आइतबार ०८:१२:००

नेपाल आयल निगमले वित्तीय सुशासन कायम गर्ने उद्देश्यले निर्माण गरेको इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सफ्टवेयर शुक्रबारबाट कार्यान्वयन गरेको छ । तर, कर्मचारी र व्यवसायीलाई सफ्टवेयरको विषयमा प्राविधिक जानकारी नहुँदा अधिकांश डिपोले पुरानै प्रणालीलाई निरन्तरता दिएका छन् । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने सबै डिपोमा परीक्षणको काम सुरुवात भएको जानकारी दिए । ‘अहिलेलाई सबैतिरबाट एकसाथ सुरुवात भएको छ । बिस्तारै कमजोरीहरूलाई सुधार गरेर पूर्ण रूपमा कार्यान्वयन गरिनेछ,’ उनले भने । शुक्रबार अमलेखगन्ज डिपोले परीक्षणमा आंशिक सफलता हासिल गर्नुबाहेक अन्य डिपोले दिनभर प्रयास गर्दा पनि नसकेपछि पुरानै सिस्टमबाट पेट्रोलपम्पलाई तेल वितरण गरेका थिए ।

निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जले बिहानदेखि प्रयास गर्दा दिउँसो १ बजे इआरपी सफ्टवेयरबाट निजगढ (बारा) को विनायक आयल सप्लायर्सलाई ९ हजार लिटर पेट्रोल वितरण गर्न सफल भएको थियो । उक्त बिलिङ नै इआरपी सफ्टवेयरको पहिलो सफलता थियो । कार्यालय प्रमुख प्रदीप यादवका सो दिन करिब ५० वटा ट्यांकरलाई इआरपी सफ्टवेयरबाट बिलिङ गरी तेल वितरण गरिएको थियो । अमलेखगन्ज डिपोमा इआरपी कार्यान्वयन गर्न केन्द्रीय कार्यालयबाट वितरण विभाग प्रमुख दीपक बराल र इआरपी परियोजनाको नेपालतर्फका प्रमुख राजन नेपाल खटेका थिए ।

यद्यपि, इआरपीबाट तेलको डिमान्ड गर्न व्यवसायीलाई प्राविधिक ज्ञान कम भएको र निगमका कर्मचारीले समेत असहज महसुस गरेपछि व्यवसायीलाई भौचर मगाएर तेल वितरण गरिएको यादवले बताए । उनी निगमको ५१औँ वार्षिकोत्सव अवसरमा ‘सुवर्णशमशेर स्मृति कर्मचारी पुरस्कार’बाट समेत सम्मानित भएका थिए । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनसमेत यादवकै क्रियाशीलतामा तोकिएभन्दा छिटो (१८ महिना) सम्पन्न भएको थियो । पेट्रोलियम कारोबार गर्ने संस्थाका लागि महत्वपूर्ण मानिएको इआरपी सफ्टवेयर निगमले पहिलोपटक लागू गरेको हो । तर, आवश्यक तयारीविना हतार गर्दा परीक्षण कार्यमा सोचेअनुसारको सफलता मिल्न सकेन । निगमले आगामी १ साउनबाट पूर्ण रूपले इआरपी कार्यान्वयन गर्ने जनाएको छ ।

शुक्रबार दिनभर प्रयास गर्दा पनि इआरपी सफ्टवेयरबाट काम गर्न नसकेपछि लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाले पुरानै म्यानुअल प्रणालीबाट पेट्रोलपम्पलाई तेल वितरण गरेको थियो । ‘धेरै प्रयास गर्दा पनि बैंकमा दाखिला भएको रकम सफ्टवेयरले नदेखाएपछि शुक्रबार सबै पम्पलाई भौचर मगाएर तेल वितरण ग¥यौँ,’ कार्यालय प्रमुख प्रलयंकर आचार्यले भने ।  

निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले पनि दिनभर प्रयास गर्दा नसकेपछि दिउँसो २ बजेपछि भौचर मगाएर तेल वितरण गरेको थियो । थानकोट डिपो प्रमुख अभिषेक ठाकुरले केही सफलता मिलेको र केहीमा प्रयास जारी रहेको दाबी गरे । ‘इआरपी सफ्टवेयर लागू गर्नका लागि केही काममा सफलता मिलेको छ । केहीमा सुधार गरेर अगाडि बढ्दै छौँ,’ ठाकुरले भने । गण्डकी प्रादेशिक कार्यालय, पोखराले पनि दिनभर प्रयास गर्दा इआरपीबाट बिलिङ गराउन नसकेपछि व्यवसायीलाई बैंक भौचर दाखिला गराई ४ सय १२ किलोलिटर डिजेल र २ सय ६० किलोलिटर पेट्रोल वितरण गरेको कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

शुक्रबार अबेर रातिसम्म तेल वितरण
इआरपी सफ्टवेयर कार्यान्वयन गर्न निगमको देशभरका डिपोले बुधबार र बिहीबार तेल वितरण बन्द गरेका थिए । शुक्रबार बिहानदेखि इआरपी सफ्टवेयरबाट बिलिङ गर्न सबै कर्मचारी जुटेका थिए । तर, प्रविधिले साथ नदिएपछि पम्पमा तेल पठाउन डिपो प्रमुखहरू दबाबमा परे । शुक्रबारसमेत तेल वितरण नभए शनिबार कार्यालय बन्द हुने भएकाले तेल वितरण हुने थिएन । लगातार ४ दिनसम्म तेल नदिँदा बजारमा मागअनुसार आपूर्ति नभई उपभोक्ताले सास्ती पाउने चिन्ता निगमका कर्मचारीलाई थियो । त्यसपछि शुक्रबार साँझदेखि बैंक भौचर मगाएर तेल वितरण गरेका थिए ।

इआरपी सफ्टवेयरले के हुन्छ ?

विश्वका ७० भन्दा बढी इन्धन कारोबार गर्ने कम्पनीले इआरपी सफ्टवेयर प्रयोग गरेका छन् । यो सफ्टवेयरले ट्यांकरबाट आयात गर्ने इन्धन, बिक्री परिमाण, मौज्दात इन्धन, लेखा, प्रशासन, आयोजना व्यवस्थापन, जोखिम व्यवस्थापनलगायत आपूर्तिसँग जोडिएका सबै कामहरू गर्न सकिन्छ । सबै काम एउटै सफ्टवेयरमार्फत हुने भएकाले कुन डिपोले कस्तो काम ग¥यो र कहाँ कमजोरी भइरहेको छ भनेर हेरेर निर्देशन दिन सजिलो हुन्छ । खरिद र बिक्री परिमाणसमेत पत्ता लगाई चुहावट नियन्त्रण गर्न र पारदर्शी आर्थिक कारोबार गर्न सघाउ पुग्छ ।

पम्प व्यवसायीले अहिले दिनहुँ निगमको डिपोमा धाएर बैंक भौचर दाखिला गराई तेल लिने गरेका छन् । अबदेखि घरमै बसेर सफ्टवेयरमार्फत नै तेलको माग गर्ने र विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्छन् । त्यस्तै, कुन पम्पमा कति तेल गएको छ भन्ने विवरण सजिलै हेर्न सकिने भएकाले बजारमा आपूर्ति सहज गर्न पनि मद्दत मिल्छ ।