१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ बैशाख ४ शनिबार १६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘फ्लोर क्रस’ गर्ने सांसदलाई एमाले कर्णालीले गर्‍यो कारबाही, ज्वालालाई निष्कासन गर्न सिफारिस

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ बैशाख ४ शनिबार १६:५३:००

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमाले कर्णाली प्रदेश कमिटीले कारबाही गरेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले शनिबार विज्ञप्ति जारी गरेर प्रदेश सभाका सदस्य नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको र प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको जानकारी गराएका छन् । 

एकता भंग भएका कारण माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेकाले प्रदेश सरकारका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि ३ वैशाखमा बसेको कर्णाली प्रदेश सभाको बैठकमा एमाले कर्णाली प्रदेश सभा दलको ह्विप उल्लंघन गरेकाले कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । 

‘नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित एवं कर्णाली प्रदेश कमिटीका सदस्यसमेत रहेका निम्न व्यक्तिहरू (नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाही)ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विजयी एवं कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरी जघन्य अपराधपूर्ण काम गरेकाले हाम्रो पार्टीको २०७८ वैशाख ३ गते नै बसेको प्रदेश सभा दलको बैठकको निर्णयअनुसार निजहरूलाई प्रदेश सभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत निष्कासन गर्न भनी आएको सिफारिसलाई समेत आधार बनाई २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी निजहरूलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको व्यहोरा पार्टीका नेता, कार्यकर्ता तथा सम्बद्ध सबैमा जानकारी गराइन्छ ।’