१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format o७:२६:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कल्याणपुर नगरपालिकामा  जनप्रतिनिधिले नै गरे तालाबन्दी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२६:oo

कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मिलेमतोमा अपारदर्शी निर्णय गरेको आरोपसहित बहुमत कार्यपालिका सदस्य नै आन्दोलित

आर्थिक अनियमितता र विभिन्न विवादमा तानिँदै आएको सिराहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरिएको छ । कार्यबाहक नगरप्रमुख रोहणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासले मिलेमतोमा विभिन्न निर्णय गरेको आरोपसहित ११ सूत्रीय माग राख्दै बहुमत कार्यपालिका सदस्यले सोमबार तालाबन्दी गरेका हुन् । 

कल्याणपुर नगरपालिकाका २१ मध्ये १७ जना कार्यपालिका सदस्य आन्दोलनमा उत्रिँदै मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण दैनिक कामकाज ठप्प भएको छ । नगरपालिकाका १२ मध्ये नौजना वडाध्यक्ष र आठजना कार्यपालिका सदस्यले संयुक्त विज्ञप्ति निकालेर ११ सूत्रीय माग अगाडि सारेका हुन् । आफूहरूको माग पूरा नभएसम्म तालाबन्दी जारी रहने कल्याणपुर नगरपालिका–३ का वडाध्यक्ष अशोक मण्डलले बताए ।

वृद्ध भत्ता, ज्येष्ठ नागरिक, अपांगता, बालपोषण भत्ता अविलम्ब वितरण गर्नुपर्ने, नगरपालिकाले गरेका ठेक्कापट्टा अपारदर्शी भएकाले बदर गरी नगर कार्यपालिकाको निर्णयअनुसार गर्नुपर्ने, नगरस्तरीय योजना संशोधन गर्नुपर्ने, नगर योजना कार्यपालिकाको बैठकबाट सञ्चालन गर्नुपर्ने, कार्यपालिका बैठकबाट निर्णय भएर कार्यान्वयन भइसकेको योजनाको भुक्तानी गर्नुपर्ने माग वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले राखेका छन् ।

कार्यपालिकाको निर्णयविना शिक्षा र स्वास्थ्यमा कर्मचारी भर्ना गरेको, आर्थिक अनियमितता गरी पोखरी ठेक्का, हाटबजार, नदीनाला, ठेक्का लगाएको, नगरस्तरीय योजनाहरूको उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाध्यक्षलाई जानकारी नगराएकाले रोक्का गर्नुपर्ने र नगर क्षेत्रमा शिक्षाको गुणस्तर खस्किँदै गएकाले छानबिन समिति गठन गर्नुपर्नेलगायतका माग अघि सारिएको छ ।

कार्यबाहक नगरप्रमुख यादवले बहुमतको आडमा आफूमाथि राजनीतिक रूपमा प्रहार गर्न खोजेको आरोप लगाएकी छिन् । ‘तालाबन्दी गर्नुअघि ज्ञापनपत्र बुझाउनुपथ्र्यो,’ उनले भनिन्, ‘हामी बाहिर हुँदा अचानक कार्यालयमा तालाबन्दी गरिएको छ । जनप्रतिनिधि आफैँले तालाबन्दी गर्नु दुःखद हो ।’ महिला भएकाले पनि आफूमाथि दबाब दिन खोजेको भन्दै यादवले तालाबन्दी खुलाउने विषयमा छलफलको तयारीमा जुटेको बताइन् ।

स्थापनादेखि नै नगरपालिकामा विवाद
कल्याणपुर नगरपालिका स्थापनाकालदेखि नै विवादमा तानिँदै आएको छ । ९ चैत ०७४ मा २० हजार घुससहित तत्कालीन लेखापाल जयराम चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । घुसकाण्डमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वासुदेव यादवको संलग्नता भेटिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको र दुवैजना निलम्बनमा परेका छन् ।

३१ असार ०७७ मा कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा सनतकुमार मण्डललाई पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । त्यसमा नगरप्रमुख मण्डलको पनि संलग्नता भेटिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मण्डल पनि निलम्बनमा परेका छन् ।

प्रदेश २ सरकारले लकडाउनले प्रभावित बनेका दैनिक ज्यालादारीका विपन्न दलित गरिब परिवारलाई बाँड्न ५८ प्याकेट राहत पठाएको थियो । तर, कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले राहत नबाँडेपछि कुहिएको र खानेतेलको म्याद गुज्रिएको थियो । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि वडाध्यक्ष राइनले राहत वितरण गरेका थिए ।