प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद प्रदीप गिरिले दोस्रोपटक पनि संसद् भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सकुनीले जसरी दोस्रोपटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गरे ।
उनले संसद्लाई पूरा कार्यकाल काम गर्न दिने अवस्था सिर्जना गर्न आग्रह गरे । उनले राष्ट्रिय नीतिलाई आफ्नो तजबिजको कुरा नमानीकन संसद्का प्रत्येक पार्टीले उठाएका र नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाइ प्राप्त गर्न पनि सुझाब दिए ।
उनले भने, ‘जालझेल गरेर सकुनीले पासा फ्याँकेजस्तो गरेर दुवारा पासा फ्याँकेर, सकुनीले दुईपटक पासा फ्याँकेका थिए । एकपटकको पासालाई द्रौपतीको प्रतिउत्तरले निरस्त्र गरेको थियो । दुवारा पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाएजस्तो संसद् विघटन गर्ने दिशामा कृपया नगइदिनोस् ।’
व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै उनले व्यवस्थामा भएका त्रुटिलाई व्यक्तिले सही नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद् नै भंग गरेको टिप्पणी गरे । ‘म मेरै गोरुको बाह्रै टक्का भन्ने पक्षमा छैन, तर मलाई शंका छ, हाम्रा शीर्षस्थ मानिस, मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस (प्रधानमन्त्री भन्न चाहन्न) भन्दै हुनुहुन्छ कि मै ठीक छु, मेरा कुरा सबै तिमिहरूले मान ।’
सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरिले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टिहरू थपिँदै आएर चरम राजनीतिक संकटको रूपमा देखापरेको टिप्पणी गरे । अरूलाई दोषारोपण गर्नुभन्दा आफैँभित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘यो संकट एक दिनमा आएको होइन, संकट क्रमशः आएका छन् र म विनम्रतापूर्वक आह्वान गर्छु । मुख्यतः प्रधानमन्त्रीका कारण आएका छन् । दिन प्रतिदिनको विवाद, दिन प्रतिदिनको भ्रष्टाचारको कथा हाम्रो संसद्को भनाभनबाट जुहारीबाट हल हुँदैन । हामी जुहारीमा व्यस्त छौँ । आमजनताको, कर्मचारीको, महिलाको, दलितको, महँगाईको दुःखमा हामीले सम्बोधन गरेका छैनौँ । त्यसैले भावुक भएर म भन्दै छु, आज मुलुकलाई यो अवस्थामा पु¥याउनका लागि म दोषी छु । संसद्का हामी सबै दोषी छौँ । ठण्डा दिमागले हामी सबैले किन हामी यहाँ आईपग्यौँ ? किन ४७ सालको संविधान असफल भयो ? अब हामी यसपटक अर्को बाटो जान चाहन्छौँ भने को जिम्मेदार छ ? जिम्मेदार खोजिन्छ ।’