मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत २९ आइतबार १०:३०:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बर्दिवासमा तीन सय परिवारले पाए लालपुर्जा

Read Time : > 1 मिनेट
२०७७ चैत २९ आइतबार १०:३०:००

बर्दिवास नगरपालिका–७ का करिब तीन सय घरपरिवारले जग्गाको लालपुर्जा पाएका छन् । पुस्तौँदेखि जग्गामा बस्दै आए पनि शुक्रबार मात्रै उनीहरूले धनीपुर्जा पाएका हुन् । यसअघि ती जग्गा गाउँ ब्लकको नाममा रहेको थियो । पाँच वर्षअघि नै नापनक्सा भइसकेर शुक्रबार प्रमाणित सरकारी कागजात जग्गाधनीले पाएका हुन् । साविकमा किसान नगर र पशुपति नगर दुई छुट्टाछुट्टै गाउँ रहेकोमा देश संघीयतामा गएपछि वडा नम्बर ६, ७ र ९ लाई एउटै वडा बनाइएको थियो । 

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साहले यो क्षण लालपुर्जा पाउनेहरूका लागि अति मूल्यवान भएको बताए । उनले आफ्नै जग्गा भएर पनि जग्गाको प्रमाणित कागजात नहुँदा स्थानीयले पुस्तौँदेखि कागजात अभावमै भोग्नुपरेको विभिन्न समस्याको समाधान भएको उल्लेख गरे । मन्त्री साहले गाउँ ब्लकको जग्गा वडावासीहरूले पाएको र अधिकांश वडावासी कृषि पेसामै भएकोमा मन्त्रालयबाट कृषिसम्बन्धी सम्पूर्ण सेवासुविधा लिनसमेत आग्रह गरे । 

प्रदेश सभा सदस्य शारदा थापाले भूमिमा महिला र पुरुष दुवैको स्वामित्व हुनुपर्छ भन्ने आवाज उठे पनि बल्ल त्यसको सुनुवाइ भएको बताइन् । गाउँ ब्लकको जग्गाको लालपुर्जामा श्रीमान् र श्रीमती दुवैको नाममा दिइएकोमा सरोकारवाला सबैलाई उनले धन्यावाद दिइन् । 

बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीले पुर्खाले गरेको प्रतीक्षा र धैर्यतापछि लालपुर्जा हातमा आएकोमा उक्त लालपुर्जा ठूलो सम्पत्ति भएकाले जग्गा बेच्ने विषय कल्पनासमेत नगर्न स्थानीयलाई आग्रह गरे । उनले पूर्वजले आर्जेको सम्पत्तिलाई धरोहरका रूपमा राख्न र सम्भव भए आफूहरूसँग भएको खेतलाई चक्लाबन्दी गरी कृषिमा क्रान्ति ल्याउन अगुवाको भूमिका निर्वाह गर्नसमेत आग्रह गरे । 

नापी कार्यालय महोत्तरीका प्रमुख राकेशकुमार झाले केही दिनअघि सिरसिया, धिरापुर बस्तीका गाउँब्लकभित्रका एक सय ६३ घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेको बताए । भूमिअधिकार मञ्च महोत्तरीका राजकुमार बस्नेतले विगतदेखि नै जग्गाधनी लालपुर्जाका लागि भएको संघर्षको परिणाम सार्थक भएको बताए ।