१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २६ बिहीबार ०८:११:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

माथिल्लो तामाकोसी अन्तिम चरणमा

१५ दिनभित्र काम सम्पन्न गरी सुरुङमा पानी पठाउने तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २६ बिहीबार ०८:११:००

निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँकी काम १५ दिनभित्र सम्पन्न हुने भएको छ । १० वैशाखभित्र बाँकी काम सम्पन्न गरी ११ गतेदेखि सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गर्ने तयारी सुरु भएको हो । 

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको बताए । आयोजना कार्यालयका अनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरूमा पानी परीक्षण सम्पन्न भएपछि टर्बाइन र जेनेरेटरको परीक्षण थालनी हुनेछ ।

मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका ६ वटा टर्बाइन र त्यति नै जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन सुरु हुने आयोजनाको स्थलगत भ्रमण गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले जानकारी दिए । 

चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ । आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमश : विद्युत् उत्पादन हुनेछ । कार्यकारी निर्देशक शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता र ठेकेदारहरूसँग संयुक्त रूपमा बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिकाबारेमा छलफल गरेका थिए । 

 भइरहेका काम
आयोजना कार्यालयका अनुसार आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सामान्य काम भइरहेको छ । त्यस्तै, माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी ६ वैशाखभित्रमा सम्पन्न गर्ने लट २ हाइड्रो–मेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको आयोजना कार्यालयले जानकारी दिएको छ । भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले यो ठेक्का लिएको छ । 

हाइड्रो–मेकानिकलतर्फका गेटहरू र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम बाँकी छ । बाँकी रहेका काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचनाहरू तथा गेट, म्यानहोल र भल्भहरूको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ । 

यसअघि नै मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रो–मेकानिकल उपकरणहरूको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । 

ढिला हुनुको कारण
पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको १० वर्ष नौ महिनामा पूरा हुनै लागेको छ । आयोजना समयमा सम्पन्न नभएपछि विभिन्न समयमा सम्पन्न हुने मिति तय हुँदै आएको छ । ढिलाइ हुनुलाई आयोजना व्यवस्थापनले २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन तथा बाढी पहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो–मेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारण देखाउँँदै आएका छन् ।

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रो–मेकानिकल उपकरणहरू उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको आयोजनाका अधिकारीहरू बताउँछन् । टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रो–मेकानिकल (लट ३)को ठेकेदारलाई दिइएको थियो । 

भूकम्पका कारण झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठको भनाइ छ । उनले भने, ‘स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठुल्ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा पर्‍यो, त्यसबाट तंग्रिँदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुसीको विषय हो ।’ 

अन्य आयोजनाका लागि पूर्वाधार तयार
आयोजनाले बनाएका सडक तथा पुलहरू अन्य जलविद्युत् आयोजनाका लागि तयारी अवस्थामा रहेको पूर्वाधार बन्ने आयोजनाका अधिकारीहरूको भनाइ छ । आयोजनाले निर्माण गरेको चरिकोट (दोलखा) सिंगटी ३५ किलोमिटर सडकमा करिब १ अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो ।

आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र सातवटा पक्की पुल बनाएको छ । यही पूर्वाधारलाई प्रयोग गरी तामाकोसी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसीबाहेक सानाठूला गरी करिब ७०० मेगावाट जम्मा क्षमताबराबरका २१ जलविद्युत् आयोजना अगाडि बढेको आयोजना कार्यालयको भनाइ छ ।