मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी कर्णाली
२०७७ चैत २० शुक्रबार ०८:४०:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णालीमा र्‍याफ्टिङको रौनक

Read Time : > 1 मिनेट
गगन अयडी, कर्णाली
२०७७ चैत २० शुक्रबार ०८:४०:००

गर्मी मौसम सुरु भएसँगै कर्णाली नदीमा र्‍याफ्टिङ गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका, स्वामी कार्तिक, हिमाली, जगन्नाथ गाउँपालिका तथा मुगु र हुम्ला जिल्लाको बीच भएर बग्ने यस नदीमा र्‍याफ्टिङ गर्न दिनहुँजसो पर्यटकहरू आउन थालेका छन् । 

स्वामी कार्तिक गाउँपालिकाले कर्णाली नदीमा दुई वर्षअघिदेखि व्यावसायिक रूपमा र्‍याफ्टिङ सञ्चालन गरेको हो । सुरुको वर्षदेखि नै आन्तरिक तथा बाह्य पर्यटकले यो पर्यटकीय गन्तव्य मन पराएको स्वामी कार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । कर्णाली नदीमा कम्तीमा १५ देखि २० किलोमिटरसम्म र्‍याफ्टिङ गर्न सकिने उनको भनाइ छ । 

धेरैजसो पर्यटक त एक सातासम्मको यात्रा गरेर कर्णाली नदीमा र्‍याफ्टिङ गर्न आउने गरेको र्‍याफ्टिङ सञ्चालक जनेश भण्डारी बताउँछन् । उनले भने, ‘पर्यटकका लागि कर्णाली नदिको र्‍याफ्टिङ निकै अविस्मरणीय बन्ने गरेको छ ।’ 

चीन स्वशासित क्षेत्र तिब्बतस्थित धार्मिक स्थल मानसरोवर जाने सबैजसो तीर्थयात्री स्वामी कार्तिक गाउँपालिकामा रहेको धार्मिक स्थल पादुका कुण्ड पुग्ने गर्छन् । यस कुण्डमा आउने पानी र मानसरोवर तालको मुहान एउटै भएको जनविश्वास छ । मानसरोवर जान नसक्नेले यही कुण्डको पानी लिएर जाने गरेको स्थानीय निमेन्द्र शाहीले बताए । 

पर्यटकीय गन्तव्यले भरिपूर्ण
बाजुरा धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यले भरिपूर्ण छ । बडिमालिका, बुढीनन्दा, खप्तड, छेडेदह र पोरखे गुफा यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्य हुन् । पादुका मन्दिर भएको पर्वत र पादुका कुण्ड तिब्बतको मानसरोवर जाने तीर्थयात्रीको बाटोमै पर्छ । यसकारण यहाँ मानसरोवर जाने सबैजसो तीर्थयात्री पुग्ने गरेको पादुका मन्दिरका पुजारी मष्टाप्रसाद उपाध्यायले बताए । 

पादुका कुण्डमा आउने पानी मानसरोवरबाट बगेर आएको विश्वासले पनि यहाँ तीर्थयात्रीहरू आउने गर्छन् । किंवदन्तीअनुसार मानसरोवरबाट स्नान गरी फर्केका दर्शनार्थीहरूले पादुकाको दर्शन र यहाँको जल घरमा राख्नाले शुभ हुने विश्वास छ । 

मानसरोवर जान नेपालका अरू बाटोभन्दा यो बाटो सहज रहेको वाई गाउँपालिकाका कपुर गिरीले बताए । उनले भने, ‘बाजुराको यो स्थानबाट तिब्बतको मानसरोवर पुग्न सजिलो र कम खर्चिलो छ ।’ स्वामी कार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीका अनुसार मानसरोवर जाने पर्यटक नेपालगन्ज, सुर्खेतबाट आधा घन्टाको उडानपछि कोल्टी विमानस्थल पुग्न सक्छन् । यहाँबाट नियमित उडान हुन्छ । नियमित उडान हुने भएका कारण पनि कर्णाली नदीमा र्‍याफ्टिङ गर्न जाने पर्यटक बढेको हो ।