मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
डा. आकृति भारती, प्रजनन विशेषज्ञ वात्सल्य नेचुरल आइभिएफ
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १९ बिहीबार ११:५३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनियमित महिनावारी बाँझोपनको संकेत हुन सक्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १९ बिहीबार ११:५३:००

महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । सामान्यतया हरेक २८ दिनको अन्तरालमा महिनावारी हुने गर्छ । नियमित महिनावारी स्वस्थ प्रजननको आधार हो ।  यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेचित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पुर्‍याउन इन्डोमेट्रियमको विकास भएको हुन्छ । निषेचन हुन नसकेको अवस्थामा महिनावारीको रूपमा शरीरबाट बाहिर निस्किन्छ ।

महिनावारीको सुरुको पाँच दिनमा रक्तस्राव हुन्छ । ६ देखि १४ दिनको समयमा डिम्ब र इन्ड्रोमेट्रियमको पुनः विकास हुन थाल्छ र डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ । त्यसपछि गर्भनली हुँदै डिम्ब पाठेघरसम्म पुग्छ । गर्भनलीमा शुक्रकीटसँग मेल भए गर्भधारण प्रक्रिया सुरु हुन्छ अन्यथा इन्डोमेट्रियमसँगै डिम्ब पनि महिनावारीको रक्तस्रावका रूपमा निस्किन्छ । अव्यवस्थित जीवनशैलीका कारण अनियमित महिनावारीले गम्भीर समस्याको रूप लिन थालेको छ । अनियमित महिनावारीका कारणले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

एनोभुलेसन
विभिन्न कारणले डिम्ब निष्कासन नहुनु एनोभुलेसन हो । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना गर्भधारण सम्भव हुँदैन ।

प्रिम्याच्युएर ओभरयिन फेलर (पिओएफ)
डिम्ब पूर्ण रूपमा विकसित नहुँदै महिनावारी हदा अनियमित हुन थाल्छ । कतिपयमा महिनावारी बन्दसमेत हुन सक्छ । शरीरमा एस्ट्रोजोन हार्मोनको कमीका कारण हुने यो समस्याबाट योनी सुख्खा हुने, यौनसम्पर्क पीडादायक हुने, निद्रा नलाग्ने, शरीरको तापमान बढ्ने, डिप्रेसनजस्ता समस्या आउन सक्छ ।

मोटोपन
मोटोपन प्रजननमा असर पुर्‍याउने एक प्रमुख कारण हो । यसले महिनावारी पनि अनियमित बनाउँछ । अधिक मोटो हुनुमा पिसिओएस र थाइराइड पनि मुख्य कारण हुन सक्छ । 

पोलिसिस्टक ओभरियन सिन्ड्रोम 
पिसिओएस इन्ड्रोकाइनसम्बन्धी समस्या हो । यसले सबैमा बाँझोपन ल्याउँछ भन्ने हुँदैन, तर गर्भधारणमा अफ्ठ्यारो हुने गर्छ । आठजनामध्ये एकजनामा बाँझोपन पनि ल्याउन सक्छ । पिसिओएस देखिएकाहरूले गर्भधारण गर्न लामो समय लिन सक्छन् वा उनीहरूमा गर्भपातको समस्या देखिन सक्छ ।

थाइराइडसम्बन्धी समस्या 
अधिक सक्रिय वा न्यून सक्रिय थायरोइड भए महिनावारी र गर्भधारण दुवैमा समस्या देखिन सक्छ । तौल बढ्ने, निद्रा नलाग्ने, थकान, डिप्रेसन हुनेजस्ता समस्या देखिन्छ । महिनावारीसँग सम्बन्धित यस्ता समस्या देखिए गर्भधारणका चुनौती थपिन्छन् तर सन्तान नै नहुने भन्ने हुँदैन । औषधिको प्रयोग र अन्य उपचारको माध्यमबाट प्रजननमा सुधार ल्याउन सकिन्छ । 

उपचार
जीवनशैली, खानपानमा सुधार ल्याउन सके अनियमित महिनावारीको समस्यामा सुधार ल्याउन सकिन्छ । यस्तै तौल व्यवस्थापन र नियमित यौनसम्पर्कको माध्यमबाट ओब्युलेसन चक्रको वेला निषेचन हुने सम्भावना बढाउन सकिन्छ । 

नियमित महिनावारीमा पनि बाँझोपन 
कहिलेकाहीँ महिनावारी नियमित देखिए पनि सन्तान प्राप्तिमा चुनौती देखिन सक्छ । जस्तै, विभिन्न कारणले गर्भनली बन्द हुँदा वा कुनै घाउहरूका कारण समेत प्रजननमा समस्या हुन्छ । कतिपयमा नियमित महिनावारी हुँदाहुँदै पनि डिम्ब निष्कासन नभइरहेको हुन सक्छ । डिम्बको गुणस्तर राम्रो नहुन सक्छ जसले गर्भपात गराउन सक्छ ।

महिनावारीको गडबडीले गर्भधारणमा समस्या थपेको हुन्छ, तर प्राकृतिक रूपमा गर्भ बस्नै नसक्ने हुँदैन । गर्भधारणको प्रयास दुई वर्षसम्म पनि सफल नभएमा वा ३५ वर्षभन्दा माथिको उमेरमा ६ महिनापछि चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।