Skip This
एमालेका सबै सांसदले फिर्ता लिए प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १८ बुधबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७७ चैत १८ बुधबार १३:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेका सबै सांसदले फिर्ता लिए प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ चैत १८ बुधबार १३:१६:oo

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव एमालेका सबै सांसदले फिर्ता लिएका छन् । तत्कालीन नेकपा पार्टीबाट हस्ताक्षर गर्ने ३७ जना सांसदमध्ये एमालेका सबै २२ सांसदले प्रस्ताव फिर्ता लिएका हुन् । हस्ताक्षर गर्ने ६ एमाले सांसदहरूले पहिले नै अविश्वासको प्रस्ताव फिर्ता लिइसकेका थिए । बाँकी रहेका  माधव खनाल समूहका १६ जना सांसदले पनि संसदीय दलले एक हप्ताको अल्टिमेटम दिएपछि समयभित्रै अविश्वासको प्रस्ताव मंगलबार  फिर्ता लिएका हुन् । 

११ चैतमा दलका नेता शेरधन राईको नेतृत्वमा बसेको एमाले प्रदेश १ संसदीय दलको बैठकमा नेपाल–खनाल समूहलाई एक हप्ता मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको थियो । बैठकमा सहभागी माधव नेपाल समूहका सांसदहरूले पनि एक हप्ताभित्र सामूहिक रूपमा तोकिएको समयभित्र हस्ताक्षर फिर्ता लिने प्रतिबद्धता जनाएका थिए ।  

सोही प्रतिबद्धताअनुसार एमाले माधव समूहका सांसद प्रस्तावको  समर्थकसमेत रहेका लक्ष्मण तिवारीले मंगलबार बाँकी १६ जना सांसदहरूले अविश्वासको प्रस्ताव फिर्ता लिएको निवेदन प्रदेश सभालाई जानकारी गराएको प्रदेश सभा सचिव गोपाल पराजुलीले बताए ।  

माओवादी केन्द्रका १६ जना सांसदमध्ये एक जना ओली समूहमा प्रवेश गरेर केन्द्रीय सदस्य बनी मन्त्रीसमेत नियुक्त भइसकेका छन् । बाँकी १५ जना सांसदहरूले चाहिँ हस्ताक्षर फिर्ता लिएका छैनन् । १६ चैतमा बसेको माओवादी केन्द्रको संसदस्य दलको बैठकले केन्द्रको निर्देशनअनुसार अविश्वासको प्रस्ताव फिर्ता लिने वा तामेलीमा लैजान दिनेबारे निधो गर्ने ठहर गरेको छ । माओवादी केन्द्र संसदीय दलका उपेनता रामकुमार राईले भने, ‘केन्द्रले जे निर्देशन गर्छ हामी त्यही गर्छाैँ, सायद २३ चैतसम्ममा टुंगो लाग्छ होला ।’ 

एमाले सबै सांसदहरूले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अब अल्पमतमा परेको छ । यसैले माओवादी केन्द्रका सांसदहरूले फिर्ता नलिए पनि त्यो स्वतः असफल बनेपछि मुख्यमन्त्री शेरधन राई बलियो बन्न पुगेका छन् । माओवादी केन्द्रका सांसदहरूले अविश्वासको प्रस्ताव फिर्ता नलिएमा प्रदेश सभा सचिवालयले आवश्यक ठानेर छलफलमा लगे मुख्यमन्त्री राई बहुमतले असफल बनाउन सफल हुनेछन् । 

प्रदेश सभा बैठक २३ चैतमा बस्ने 
दर्ता भएपछि पटकपटक स्थगित हुँदै आएको प्रदेश सभाको हिउँदे अधिवेशको चौथो बैठक २३ चैतमा बस्ने भएको छ । 
प्रदेश १ सभाका सचिव  गोपालप्रसाद पराजुलीका अनुसार १ चैतमा अनिश्चित कालका लागि स्थगित भएको  जारी हिउँदे अधिवेशनको चौथो बैठक २३ चैत सोमबार  बस्ने तय भएको हो । 

२ चैतमा बस्ने तय भएको प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठक प्रदेश सभा सचिवालयले १ चैतमा सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गराएको थियो । त्योभन्दा अघि पनि  पटकपटक बैठक स्थगित हुँदै आएको थियो ।