मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ चैत १८ बुधबार १०:१५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अजोडको सेयरमा इन्साइडर ट्रेडिङ

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ चैत १८ बुधबार १०:१५:००

५० प्रतिशत हकप्रद सेयर निकाल्ने एजेन्डासहित साधारणसभाको सूचना निकाल्नुअघि नै कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक, कुमारी क्यापिटलले सबैभन्दा धेरै खरिद गर्‍यो अजोडको सेयर

सोमबार अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा अचानक सकारात्मक सर्किट ब्रेक लागे पनि लगानीकर्ताले खासै चासो देखाएका थिएनन् । तर, भोलिपल्ट मंगलबार कम्पनीले तेस्रो वार्षिक साधारणसभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने सूचना सार्वजनिक गर्‍यो । यस्तो सूचना आउनासाथ धेरैले अजोडको इन्साइडर ट्रेडिङ भएको थाहा पाए । सामान्य लगानीकर्ताले पनि थाहा पाउने गरी इन्साइडर ट्रेडिङ भएपछि नियामक निकाय धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमाथि दबाब परेको छ । सोही कारण नेप्सेबाट कारोबारको विवरण झिकाएर अध्ययन गरिरहेको धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले जानकारी दिए । उनले भने, ‘भित्री कारोबार भएको प्रमाणित भएमा संस्था वा व्यक्ति जोकोहीलाई कारबाही हुन्छ ।’ 

नेप्सेको सोमबारको फ्लोर सिटको विवरण हेर्दा ३४ नम्बर ब्रोकर भिजन सेक्युरिटिजबाट सबैभन्दा धेरै करोबार भएको छ । सोमबार कम्पनीको कुल १ लाख १७ हजार कित्ता सेयर किनबेच भएर ८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यसमध्ये ३४ नम्बर ब्रोकरबाट मात्रै २९ हजार कित्ता किनबेच हुँदा २ करोड २६ लाखको कारोबार भएको छ । ७ सय ४८ रुपैयाँबाट किन्दै ७ सय ७६ सम्म मूल्य पुगेको छ ।  

नेप्से स्रोतका अनुसार सोमबार कुमारी बैंक र कुमारीकै सहायक कम्पनी कुमारी क्यापिटलले सञ्चालनमा ल्याएको सामूहिक लगानी कोषअन्तर्गतको कुमारी इक्विटी फन्डको नाममा उच्च दरमा खरिद भएको छ । बैंक वा क्यापिटलले कसरी कम्पनीसम्बन्धी सूचना पायो भन्ने खुलेको छैन । नेप्सेले सोमबार अजोडको सेयर उच्च दरमा खरिद गर्ने व्यक्तिको नाम भने गोप्य राखेको छ । 

अजोड र कुमारी बैंकबीचको सम्बन्ध केलाउँदै जाँदा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसम्म पुग्छ । कुमारी बैंकको ०७३/७४ को वार्षिक वित्तीय विवरणमा मीनबहादुर गुरुङ बैंकको प्रमुख लगानीकर्तामध्येमा नै पर्छन् । सो वित्तीय विवरणअनुसार गुरुङको बैंकमा १ दशमलव ८० प्रतिशत सेयर (४ लाख ८० हजार कित्ता) स्वामित्व थियो । त्यसयता भने बैंकले ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीको विवरण सार्वजनिक गरेको छैन । 

अजोडमा पनि मीनबहादुर र उनको कम्पनी भाटभटेनीको समेत करिब १५ प्रतिशत सेयर लगानी छ । त्यसबाहेक यही समूहका अन्य व्यक्तिको समेत लगानी रहेको कम्पनीको ०७५/७६ को वार्षिक प्रतिवेदनले देखाउँछ । 

हालसम्म शून्य कारबाही
सेयर बजारको करिब २५ वर्षको इतिहासमा हालसम्म कसैलाई पनि धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङको विषयमा कारबाही गरेको छैन । सञ्चालकहरूले बैठक बस्दाबस्दै बाहिर निस्किएर सूचना चुहाउने गरेको पाएपछि नेप्सेले सञ्चालक समितिको बैठक नै बजार खुल्नुअघि वा बजार बन्द भएपछि गर्न निर्देशन दिएको छ । बैठकले महत्वपूर्ण निर्णय गरेमा बजार खुल्नुअगावै जानकारी दिइसक्नुपर्ने व्यवस्था गरेको छ । यदि बजार बन्द भएपछि यस्तो बैठक बसेको छ भने पनि भोलिपल्ट बजार खुल्नुअघि नै जानकारी गराइसक्नुपर्छ । नेप्सेले आएको जानकारीलाई सबैले एकैचोटि पाउने गरेर वेबसाइटबाटै सार्वजनिक गर्दै आएको छ । 

तर, यसले पनि भित्री कारोबार नरोकिएको स्पष्ट देखिन्छ । केही समयअघि जनउत्थान लघुवित्त कम्पनीमा पनि यस्तै देखिएको थियो । ६ पुस ०७७ सम्ममा कम्पनीको सेयर प्रतिकित्ता १ हजार ७ सय १७ रुपैयाँमा किनबेच भइरहेको थियो । तर, २० माघ ०७७ मा कम्पनीले ५२ प्रतिशत लाभांश (४९.४ प्रतिशत बोनस सेयर र २ दशमलव ६ प्रतिशत नगद) घोषणा गर्दासम्म मूल्य २ हजार ८ सय १५ पुगिसकेको थियो । सबैले यो सूचना पाएपछि अहिले मूल्य ४ हजार माथि छ ।

सोही समयदेखि ब्रोकर नम्बर ४५ र ५८ ले क्रमिक रूपमा खरिददारी बढाइरहेका देखिन्छन् । पछि भने ५८ नम्बर ब्रोकरमार्फत उच्चदरमा सेयर उठाउन थालेको देखिन्छ । २१ पुसमा १ करोड ४६ लाख कारोबार हुँदा ५८ नम्बर ब्रोकरबाट १ करोड र २२ पुसमा ३ करोड १८ लाख रुपैयाँको करोबार हुँदा २ करोड रुपैयाँको सेयर खरिद भएको नेप्सेको फ्लोरसिटबाट देखिन्छ । त्यतिखेर कम्पनीको सेयर मूल्य २ हजार हाराहारी थियो । 

कम्पनीहरूले लाभांश दिनुअगाडि, उच्च दरमा नाफा बढेको वित्तीय विवरण प्रकाशित हुनुअगाडि, बैंकहरूले धितोमा रहेको उच्च मूल्यको सम्पत्ति बेच्नुअगाडि यसरी सूचना चुहाइने गरेको पाइन्छ ।