टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १३ बिहीबार
  • Thursday, 27 January, 2022
शुक्रबार अपराह्न बिजुलीबजारमा खिचिएको तस्बिर । राजधानीमा सबैतिर यस्तै तुँवालो थियो । तस्बिर : दीपेन्द्र ढुंगाना
यम बम काठमाडाैं
२०७७ चैत १४ शनिबार ०६:०५:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०७७ चैत १४ शनिबार ०६:०५:००

- एयर क्वालिटी इन्डेक्स (एक्युआई) १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ, तर राजधानीमा शुक्रबार ४७० सम्म पुग्यो

- बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक

- मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न, धुलो उड्ने खाले निर्माण कार्य केही दिनका लागि स्थगन गर्न र अत्यावश्यक नभई सवारीसाधन नचलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

शुक्रबारको अधिकतम  वायु प्रदूषण (एक्युआईमा) 
 - भैँसेपाटी : ४७०
- भक्तपुर (वीरेन्द्र स्कुल) : ४२३
- नेपालस्थित अमेरिका दूतावास : ३५३
- दमक : ३१३
- सिमरा : ३०८
- सौराहा : २४६

एक्युआई : अन्तर्राष्ट्रिय मापदण्ड
- ५० भन्दा कम : उपयुक्त
- ५० देखि १०० : मध्यम
- १०० देखि १५० : संवेदनशील
- १५० देखि २०० : अस्वस्थ
- २०० देखि ३०० : धेरै अस्वस्थ
- ३०० देखि ५०० : घातक

- एक्युआई सूचकांकले वायुमा रहने पिएम २.५ माइक्रोग्रामभन्दा साना कणयुक्त धुलो, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ

- वातावरण विभागका अनुसार उपत्यकाको प्रदूषणमा सवारीसाधनको भूमिका ३० प्रतिशत, पूर्वाधार निर्माणको ५३ प्रतिशत र इँटाभट्टाको नौ प्रतिशत, बाँकी आठ प्रतिशत उद्योग–कलकारखाना, फोहोर जलाउँदा, घरभित्रको धुवाँ

.....                        ........

प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो । यही वेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो ।

बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक छ । यसबाहेक मुलुकका विभिन्न बस्तीमा आगलागी भएको छ । आकाश तुँवालोले ढाक्नुका साथै पानी नपर्दा शुक्रबार ललितपुरको भैँसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा ३०८ सम्म पुगेको थियो । 

शुक्रबार अपराह्न २ बजेयता काठमाडौंमा वायुको गुणस्तर सूचकांक एक्युआई ४७० सम्म पुग्यो । चितवन, धुलिखेल, पोखरा, सिमरा, दमक, धनगढीलगायतका क्षेत्रमा पनि प्रदूषणको मात्रा उच्च पुगेको छ । जब कि यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । तुँवालोका कारण ‘भिजिबिलिटी’ कम हुँदा शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा उडानसमेत प्रभावित भयो ।

‘उपत्यकामा पानी पर्न सकेको छैन, हावाहुरी पनि चलेको छैन,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘लाङटाङ राष्ट्रिय निकुञ्ज र पश्चिमी क्षेत्रमा भएका डढेलाको धुवाँ यहाँको प्रदूषणमा मिसिँदा तुँवालो बन्यो ।’ सन् २०१२ मा पनि लाङटाङमा कैयौँ दिनसम्म डढेलो लाग्दा काठमाडौंको आकाशमा तुँवालो लागेको थियो ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको आइक्यु एयरले त काठमाडौंलाई प्रदूषित सहरमध्ये पहिलो नम्बरमा समावेश गरेको थियो । यद्यपि, विश्व वायु गुणस्तर परियोजनाको तथ्यांकमा उच्च प्रदूषणमा काठमाडौंभन्दा सुडान, चीन र भारतका सहर अगाडि देखिन्छन् । 

मौसमविद् पौडलका अनुसार मुलुकका अन्य क्षेत्रमा स्थानीय र पश्चिमी वायुको हल्का प्रभाव रहेकाले केही क्षेत्रमा वेलावेला फाटफुट वर्षा हुने गरेको छ । तर, उपत्यकामा तत्काल पानी पर्ने सम्भावना छैन । ‘पानी परेन वा ठूलो हावा चलेन भने यहाँको प्रदूषण हट्न गाह्रो हुन्छ,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठका अनुसार वायुमण्डलमा उच्चचापीय क्षेत्र मजबुत बनिदिँदा खासै पानी पर्न सकेको छैन । ‘अहिले तुँवालाको समस्या काठमाडौैंमा मात्र होइन, दिल्ली, राजस्थानमा पनि छ,’ उनले भने, ‘वायुमण्डलको तल्लो तहमा रहेको हावा माथि जान नपाएपछि बादल बन्न सकेन, बादल नबन्दा पानी परेन ।’

उनका अनुसार वायुमण्डलको माथिल्लो तहमा उच्च चापका कारण तल्लो तहमा रहेको हावाले वायुमण्डलसँग स्पर्श गर्न पाएको छैन । ‘न्यूनचापीय प्रणाली विकास भएमा चारैतिरबाट आएको हावा माथि जान्छ । तर, उच्चचापीयमा माथिबाट हावा तल आयो । पानी नपरेपछि धुलोधुवाँ कायमै रह्यो । तुँवालो भयो,’ उनले भने ।
 
घातक प्रदूषण
सरकारले गत वर्ष स्वीकृत गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआई ३०० नाघे विपद्को रूप लिने भनिएको छ । यस्तो वेला सरकारले प्रदूषण नियन्त्रणका लागि कदम चाल्नुपर्ने हुन्छ । तर, वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी आइतबारसम्म अवस्था हेरेर ‘अलर्ट’ जारी गरिने बताउँछन् । यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर ‘मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न, धुलो उड्ने खाले निर्माण केही दिनका लागि स्थगन गर्न र अत्यावश्यक नभई सवारीसाधन नचलाउन’ आह्वान गरेको छ ।

वातावरणविद् भूषण तुलाधरले एक्युआई ३०० नाघ्नु स्वास्थ्यका लागि निकै घातक हुने र यो अवस्थामा विपद् घोषणा गरिनुपर्ने बताए । ‘यो अवस्थामा यातायात आवश्यकताअनुसार मात्र चलाउन भन्नुपर्ने हो । तर, सरकारले प्रदूषण नियन्त्रण कार्ययोजना नै कार्यान्वयन गरेको छैन,’ उनले भने, ‘पुसमा पनि प्रदूषण निकै बढेको थियो, बारम्बार यस्तो हुनु पक्कै राम्रो संकेत होइन । काठमाडौंमा पहिलेदेखि नै बढी प्रदूषण थियो, अब सोच्नुपर्ने वेला आयो ।’ गत पुस २० र २१ गते काठमाडौंमा प्रदूषणको मात्रा घातक अवस्थामा पुगेको थियो ।

एक्युआई सूचकांकले वायुमा रहने पिएम २.५ माइक्रोग्रामभन्दा साना कणयुक्त धुलो, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । शिक्षण अस्पतालका सहप्राध्यापक तथा छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार अत्यधिक प्रदूषणमा क्यान्सरजन्य रसायनसमेत मिसिएका हुन्छन् । ती कण श्वासप्रश्वास नलीको भित्तामा जम्मा भएमा दीर्घकालीन दम, ब्रोङकाइटिस्टजस्ता रोग लाग्नुका साथै मुटुरोग बढ्ने र क्यान्सरको खतरासमेत रहने गरेको उनले बताए ।

काठमाडौं वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा यातायात, निर्माण गतिविधि तथा उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण न्यूनीकरण गरिने उल्लेख छ । केही वर्षअघि वातावरण विभागले गरेको अध्ययनमा काठमाडौंमा प्रदूषणका स्रोत विश्लेषण गरिएको थियो । जसअनुसार उपत्यकाको प्रदूषणमा सवारीसाधनको भूमिका ३० प्रतिशत, पूर्वाधार निर्माणको ५३ र इँटाभट्टाको नौ प्रतिशत छ । बाँकी उद्योग, कलकारखाना, फोहोर जलाउँदा, घरभित्रको धुवाँका कारण प्रदूषण हुने गरेको अध्ययनको निष्कर्ष थियो ।

यही अवस्थालाई मध्यनजर गर्दै नयाँ सवारीसाधनमा युरो ४ मापदण्ड तत्कालै लागू गरिने र प्रदूषणसम्बन्धी मापदण्ड लागू गरी पास हुने सवारीसाधनलाई हरियो स्टिकर दिइने कार्ययोजनामा उल्लेख गरिएको छ । त्यस्तै, उपत्यकामा चल्ने सवारीसाधनको प्रदूषण जाँच गर्न एक वर्षभित्र कम्तीमा दुईवटा प्रदूषण मापन केन्द्र स्थापना गरिने पनि कार्ययोजनामा समावेश छ । ‘मौसम अनुकूल हुँदा प्रदूषणमा सुधार आयो भनेर बस्न मिल्दैन, मन्त्रिपरिषद्बाट पारित कार्ययोजना लागू गर्नुपर्छ,’ वातावरणविद् तुलाधरले भने ।