
मुगु–जोड्ने कर्णाली नदीमा बेलिब्रिज पुल बन्ने भएको छ । आठ वर्षअघि संघीय सरकारबाट निर्माणाधीन पक्की पुलको निमार्ण कार्य अलपत्र परेपछि स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले आगामी असार महिनाभित्रै सम्पन्न गर्ने गरी बेलिब्रिज बनाउन लागेको हो ।
ग्रामीण पहुँच कार्यक्रम (र्याप ३)ले मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिका देउलीसम्म सडक निर्माण गरिसकेको छ । तर, मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो ।
छायाँनाथ रारा नगरपालिका वडा नं ३ र १३ वडाको संगम स्थानमा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलिब्रिज राख्न लागेको स्थानमा बुधबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पुलसम्म पुग्ने सडकको शिलान्यास गरेका छन् ।
यो पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (र्याप ३) को प्राविधिक सहयोगमा निर्माण हुनेछ । बेलिब्रिज निर्माणका लागि जलब रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग सम्झौतासमेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए ।
पाँच करोड २० लाख ५५ हजार नौ सय दुई रुपैयाँको लागतमा बन्ने यो बेलिब्रिजको लम्वाई ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले बताए