१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ चैत ४ बुधबार ०८:३१:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल–नारायणगढ सडक विस्तार : उद्घाटनको दुई वर्षमा तीन प्रतिशत काम

Read Time : > 3 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ चैत ४ बुधबार ०८:३१:००

प्रधानमन्त्री केपी ओलीले ८ चैत ०७५ मा बुटवलमा शिलान्यास गरेको बुटवल–नारायणगढ सडक विस्तारको काम अहिलेसम्म ३ प्रतिशत मात्र काम सकिएको छ । सुुरु भएको ४४ महिनामा काम सक्ने योजनाको २३ महिना बितिसकेको छ । काममा ढिलासुस्ती भइरहेको अवस्थामा पछिल्लो वर्ष कोभिड पनि बहाना बनेको छ । 

नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कुल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो ।

दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म करिब ३ प्रतिशत काम भएको बताए । 

 बर्दघाट–गैँडाकोटको पनि उही हालत
त्यस्तै, यस सडकमा पर्ने बर्दघाट–गैँडाकोट खण्डमा पनि प्रगति उस्तै सुस्त छ । बर्दघाट–गैँडाकोट सडकखण्डमा पनि करिब ३ प्रतिशत काम भएको गैँडाकोटका प्रमुख इन्जिनियर रमेश दृष्टिले जानकारी दिए । यो खण्डको लम्बाइ ४२ दशमलव ७ किलोमिटर छ । यो आयोजनाको म्याद गुज्रिन अब करिब डेढ वर्ष मात्र बाँकी छ । चार लेनमा विस्तार हुन तथा सहरी क्षेत्रको करिब १७ दशमलव ६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६–६ मिटरको सर्भिस लेनसमेत निर्माण हुनेछ ।

कुल लागतमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । २२ साउन ०७९ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको ४२ महिनामा सक्ने गरी०७५ चैतमा शिलान्यास भएको हो । तर, सडक विस्तारको काममा सरकारी निकायहरूबीच समन्वयन हुँदा समयमै सुरु हुन नसकेको हो ।

१ सय १५ किमि सडक विस्तार हुने छ । निर्माणको जिम्मा १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । नारायणगढ–दाउन्ने ६५ र दाउन्ने–बुटवल ५० किमिका दुई खण्ड छन् । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँअनुमान गरिएको छ । 

दाउन्नेको ४ दलमलव १ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुनेछ । जटिल भूगोलका कारण दाउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको छ । यो आयोजनाको म्याद गुज्रिन अब करिब डेढ वर्ष मात्र बाँकी छ ।

अहिले बुटवलबाट नारायणगढसम्म पुग्न तीन घन्टा लाग्छ । यो सडक विस्तारसँगै समय घट्नेछ । अहिले नारायणगढ–बुटवल सडकखण्ड दुई लेनको छ । सडकको दुई–दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोप्ने तयारी छ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको हुनेछ । योजनाअनुसार काम भए बुटवल–नारायणगढ सडक विकसित देशका सडकजस्तै हुने सरकारी अधिकारीहरूको दाबी छ ।

 अहिलेसम्म २२ कल्भर्ट निर्माण 
सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको काम सकिएको छ । गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जंगल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । बाइस साना कल्भर्ट निर्माण भएर १२ ठूला पुलको काम पनि तीव्र गतिमा अगाडि बढेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए । दृष्टिकाअनुसार गैँडाकोट क्षेत्रमा पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरेर ठूला पुल निर्माणको काम धमाधम अगाडि बढेको छ । सडकको दायाँ–बायाँ सतह मिलाउने, नाला निर्माण गर्ने र गैँडाकोट क्षेत्रमा पर्ने सडक–भित्ता कटान तीव्र गतिमा भइरहेको उनको भनाइ छ । 

 सडक–किनारका रूख काटिँदै
सडक–किनारका रूख कटान र विद्युत्का तार र खम्बा सार्न ढिलाइ हुँदा समयमै काम सक्न चाप परेको आयोजना प्रमुख दृष्टिले बताए । राजमार्गबाट उत्तरतर्फका रूख कटानको काम तीव्र रूपमा भइरहँदा दक्षिणतर्फको रूख कटान भने हुन सकेको छैन। ‘दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले अनुमति नदिँदा रूख कटान रोकिएको छ,’ आयोजना प्रमुख दृष्टिले भने । 

सडक विस्तार गर्दा झन्डै ११ हजार रूख काटिने आयोजनाले जनाएको छ । यो खण्डको ६ स्थानमा वन क्षेत्र छ । छपान (रूख काट्न नम्बर लगाउने) भइसकेको र मन्त्रालयबाट अनुमतिसमेत पाइसकेको अवस्थामा निकुञ्जले अनुमति नदिँदा काम रोकिएको उनले बताए ।

सडक–किनारका खम्बा निर्माण व्यवसायीमार्फत हटाइने भएकाले सो कार्य छिट्टै सुरु हुने बताए । नारायणगढ–बुटवल सडकखण्ड विस्तारअन्तर्गत पूर्वीखण्डमा १२ ठूला (मेजर ब्रिज) र साना २२ (माइनर ब्रिज) पुल बन्ने आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

हाल ठूलो पुल भएका स्थानमा सडकबाट उत्तरतर्फ दुई लेनका नयाँ पुल बन्नेछन् । दुम्किवासको ज्यामिरेको एउटा पुल मात्रै दक्षिणतर्फ बन्ने आचार्यले जानकारी दिए । रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छोएको सो आयोजनाअन्तर्गत साना २२ पुल सबै नयाँ बन्ने आचार्यको भनाइ छ ।

 चार स्थानमा जैविक मार्ग
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पहिलो खण्ड गैँडाकोटदेखि दाउन्नेसम्मको जंगल क्षेत्रमा चार ठाउँमा जैविक मार्ग निर्माण गरिने आचार्यले जानकारी दिए । जंगली जनावर वारपार गर्नका लागि चार स्थानमा अन्डरपास (सडकमुनिबाट जनावर वारपार गर्ने बाटो) बनाउने र दाउन्ने क्षेत्रमा ओभर पास (सडकको माथिबाट जनावर हिँडडुल गर्ने ठाउँ) निर्माण गरिने योजना छ ।

सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले तिनका लागि वैकल्पिक मार्गका रूपमा जैविक मार्ग निर्माण गर्न लागिएको सूचना अधिकारी आचार्यले बताए । सडकमा अन्डरपासका लागि आयोजनाले केही स्थानमा अहिले रहेका कल्भर्ट नै प्रयोग गर्ने र केही स्थानमा भने नयाँ बनाउने तयारी छ ।