Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार ०७:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काठमाडौं मेयर कप : एपिएफ र  पुलिस भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार ०७:३२:००

दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धासँगै शनिबार काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो विजेताको टुंगो लाग्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक आयोजना गरेको यो प्रतियोगितामा विभागीय टोलीहरूले नै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । त्यसमध्ये एपिएफमा यो लगातार दोस्रो फाइनलका रूपमा रहेको छ । 

एपिएफले गत महिना त्रिवि क्रिकेट मैदानमै प्रधानमन्त्री कपको फाइनल खेलेको थियो । उक्त फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएपछि एपिएफ उपाधिबाट चुकेको थियो । लगातार दोस्रोपटक फाइनल पुग्दा एपिएफले उपाधिकै लक्ष्य बनाएको छ । 

यो सिजन पहिलो फाइनल खेल्न लागेको पुलिसको योजना पनि उपाधि नै छ । यी दुवै टोलीका कप्तानले शनिबार उपाधि जित्ने दाबी गरेका छन् ।  ‘फाइनल खेलअघि खेलाडीको हौसला राम्रो छ । अहिलेसम्म सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ एपिएफका कप्तान शरद भेषावाकर भन्छन्, ‘अब उपाधिका लागि अन्तिम एक खुट्किलो बाँकी छ । त्यसका पनि सशक्त प्रदर्शनको अपेक्षा छ ।’

फाइनल खेलअघि खेलाडीहरूको हौसलाबाट आफू पनि उत्साहित रहेको पुलिसका कप्तान मन्जित श्रेष्ठ बताउँछन् । ‘सबै खेलाडीमा राम्रो गर्नुपर्छ भन्ने भावना देखेको छु,’ उनी भन्छन्, ‘एपिएफ बलियो टोली हो । उनीहरूसँग कसरी खेल्ने भन्ने योजना बनाएका छौँ । त्यसलाई भोलि मैदानमा उतार्ने प्रयास हुनेछ ।’

यी दुई टोलीले समूहगत चरणमा पनि एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलेका आर्मीसहित तीन विभागीय टोली, बागमती प्रदेश र काठमाडौं महानगरपालिकाको काठमाडौं मेयर ११ गरी पाँच टोलीले राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्दा यी दुई टोली पनि भिडेका थिए । उक्त खेलमा एपिएफ विजयी बनेको थियो । उक्त खेलको नतिजालाई आधार मान्दा एपिएफ उपाधिको बलियो दाबेदार देखिएको छ ।