१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०८:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतको विद्युत् आयात–निर्यात कार्यविधिको इप्पानद्वारा स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०८:४५:००

भारतले १४ फागुनमा जारी गरेको अन्तरदेशीय विद्युत् आयात–निर्यात कार्यविधिको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले स्वागत गरेको छ । नयाँ कार्यविधिले भारतमा विद्युत् आयात–निर्यात तथा भारत हुँदै तेस्रो मुलुकमा विद्युत् आदान–प्रदान गर्ने बाटो खोलेको इप्पानले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ‘पछिल्लो व्यवस्थाले क्षेत्रीय ऊर्जा व्यापारलाई मूर्तरूप लिएको छ,’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने । 

भारतले कार्यविधि जारी गरिसकेको अवस्थामा अब नेपाल सरकारले पनि विद्युत् व्यापार गर्न अविलम्ब आवश्यक नीति–नियम प्रक्रियाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अझ ढिलो भएमा अर्थतन्त्रमा दूरगामी असर पर्ने इप्पानको निष्कर्ष छ । यसबाहेक नेपालको जलविद्युत्लाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउन कानुनी तथा प्राविधिक बाधा हटाउन पनि सरकारलाई आग्रह गरिएको छ । इप्पानले सकारसँग ६ बुँदे मागसमेत राखेको छ । 

इप्पानले संसद्मा विचाराधीन विद्युत् विधेयक ऊर्जा व्यापारसम्बन्धी प्रावधानसहित पारित गर्ने, अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका र कार्यविधि जारी गर्ने, नेपाल पावर एक्सचेन्ज कम्पनीलाई ऊर्जा व्यापारका लागि आवश्यक स्वीकृति दिन माग गरेको छ ।

त्यस्तै, ऊर्जा व्यापारका लागि नेपाल, भारत र बंगलादेशको समेत त्रिदेशीय संयन्त्र बनाउने, आन्तरिक खपत वृद्धि गर्न इन्डक्सन चुलो र विद्युतीय सवारीसाधनमा सहुलियतको व्यवस्था गर्नुपर्ने, नेपाली उद्योग तथा कारखानालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउनेलगायतका व्यवस्थाका लागि सरकारसँग माग गरेको छ ।