मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
२०७७ फाल्गुण २० बिहीबार ०४:१५:००
Read Time : > 9 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कालीपारि लडाइँ भएको हो, तर मेचीपारिको भूमि किन गयो भन्ने खोज्न आवश्यक छ

Read Time : > 9 मिनेट
२०७७ फाल्गुण २० बिहीबार ०४:१५:००

बुद्धिनारायण श्रेष्ठ, सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक

नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धिमा हस्ताक्षर भएको आज दुई सय पाँच वर्ष पुगेको छ । इस्ट इन्डिया कम्पनी सरकारले २ डिसेम्बर १८१५ मा पठाएको सन्धिको मस्यौदामा नेपालले सन् १८१६ मार्च ४ मा हस्ताक्षर गरेसँगै नेपालले मेचीपूर्व र महाकाली नदीपश्चिमका भूभाग गुमाउन पुगेको थियो । नेपाल र तत्कालीन भारतबीच विशेषतः सीमा छुट्याउने प्रयोजनका लागि गरिएको सन्धिका कतिपय प्रावधान स्पष्ट नहुँदा नेपाल र वर्तमान भारतबीच सीमा विवाद कायम छ । सुगौली सन्धिका यी दुई सय पाँच वर्षको सन्दर्भमा त्यसले नेपाललाई आजसम्म पारेको असरबारे नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको संवादको सम्पादित अंश :

नेपाल र तत्कालीन ब्रिटिस इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भएको दुई सय पाँच वर्ष भएको छ । सन्धिका विभिन्न आयामबारे राजनीतिक, प्राज्ञिक र आमतहमा विभिन्न कोणबाट व्याख्या भइरहेको छ । आजको परिप्रेक्ष्यबाट त्यो सन्धिलाई कसरी मूल्यांकन गर्ने ? 

पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीले सञ्चालन गरेको नेपालको सीमा एकीकरण अभियान अंग्रेजलाई पचेन । हिमाली राज्य सशक्त हुने भयो, अंग्रेजलाई नटेर्ने भयो भन्ने भएपछि युद्ध सुरु भएको हो । बुटवलको त्यसवेलाको पालिही, स्युराज, माझखण्ड, खजहनीमा भारतले दाबी गर्‍यो । ती भूभाग लखनउको नबाबको भूभाग भएकाले भारतको पर्छ भन्ने अंग्रेजको दाबी थियो । नेपालको भनाइ त्यो पाल्पाको सेन राजाको हो, सेन राज्य नेपालमा गाभिएपछि त्यो भूभाग स्वतः नेपालको हो भन्ने यताका तर्क थियो । यसैलाई लिएर अंग्रेजले सन् १८१४ मा युद्ध सुरु गर्‍यो । करिब दुई वर्ष चलेको युद्धमा कुनै क्षेत्रमा गोर्खालीले पेल्दै लगेर अंग्रेजलाई हरायो, कतिपय क्षेत्रमा अंग्रेजले नेपाललाई हरायो । युद्धबाट नेपाल र अंग्रेज दुवै थाकेपछि अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति तथा मैत्री सन्धिको मस्यौदा पठायो । १५ दिनभित्र सन्धि अनुमोदन गरेर पठाउन भनिएको थियो, तर नेपालले मानेन । काठमाडौंमा भएका तत्कालीन भाइभारदारको बैठकमा मान्नुपर्छ र मान्नुपर्दैन भन्ने दुवै मत रह्यो । अन्योलबीच केही समय नेपालले हस्ताक्षर गरेन । तर, अंग्रेजले अब काठमाडौं र पूरै नेपाल नै कब्जा गर्ने प्रचारबाजी गरेपछि बाध्य भएर नेपालले सन्धिमा हस्ताक्षर गरेको हो, राज्यको प्रतिनिधित्व गरेर चन्द्रशेखर उपाध्याय र गजराज मिश्र सुगौली पुगेका थिए । हाल मकवानपुरको हेटौँडा नगरपालिका–९ मा रहेको सुगौली भन्ने ठाउँमा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेको हो । भारतको रक्सौलभन्दा उतातिरको सुगौली भन्ने पनि छ, तर मेरो अध्ययनमा मकवानपुरको सुगौलीमा हस्ताक्षर भएको हो । यो सन्धिले नेपालको एकतिहाइ भूभाग गुम्यो, दुई खण्ड बच्यो । सन्धिबाट अंग्रेजलाई फाइदैफाइदा, नेपाललाई घाटैघाटा भयो । 

जंगबहादुरले सुगौली सन्धिमा गुमेका मेची र कालीपारिका सबै भूभाग पाउने अपेक्षा गरेका थिए । टिस्टादेखि सतलजसम्म फिर्ता पाउने आशाविपरीत चार जिल्ला मात्रै पाएकोमा जंगबहादुर सन्तुष्ट थिएनन् ।

सुगौली सन्धिले अंग्रेजलाई के फाइदा भयो, नेपाललाई के–के घाटा भयो ? 

अंग्रेजलाई सबैभन्दा ठूलो फाइदा भूगोलमा भयो । मेचीपारि र महाकालीपारिका भूभाग नेपालले गुमायो, अंग्रेजले प्राप्त गर्‍यो । मनोवैज्ञानिक रूपमा नेपालका बहादुर सैनिक कमान्डरहरूको मनोबल गिर्‍यो, उनीहरू विरक्तिनुपर्‍यो । अमरसिंह थापा, बलभद्र कुँवरलगायतका वीरहरूले अपमान महसुस गर्नुप¥यो । अंग्रेजसँग लड्नुपर्छ, सन्धि गर्नुहुँदैन भन्ने अमरसिंह थापाको भनाइ थियो । तर, तत्कालीन सेनाध्यक्ष भीमसेन थापाले स्वीकार गरेनन् । अमरसिंह थापा युद्धमैदानबाट काठमाडौं नआईकन रसुवाको गोसाइँकुण्ड पुगेर देह बिसाए । सशक्त हिमाली राज्य बनाउने नेपालको प्रयासमा तुसारापात भयो, यो अपूरणीय क्षति थियो । पश्चिममा लडाइँ भएको हो । तर, मेचीदेखि टिस्टासम्मको भूभागमा नेपाल र अंग्रेजबीच कहिल्यै विवाद भएको थिएन, त्यहाँ अंग्रेजसँग लडाइँ भएको थिएन । युद्ध नभएको ठाउँबाट पनि गोर्खाली सेना पनि ४० दिनभित्र पछि हट्नुपर्ने प्रावधान राखियो । यसरी नेपालले युद्ध नभएको क्षेत्र पनि गुमाउनुपर्‍यो । त्यसमाथि नेपालको बाटो उत्तर तिब्बतमा व्यापार गर्ने र कब्जा गर्ने अंग्रेज रणनीति थियो, तर त्यो भने सफल भएन । 

नेपालले ठूलो भूभाग गुमायो, त्यसबाहेक पनि एक सार्वभौम देशका रूपमा नेपालको स्वाभिमानमा पनि सम्झौता भयो भन्ने छ, त्यो कसरी भन्ने अलिक खुलाइदिनुहोस् न । 

मुख्यतः नेपालले युरोप र अमेरिकी व्यक्तिलाई सेवामा राख्न पनि ब्रिटिस इन्डियाको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ, यसले नेपालको सार्वभौम स्वतन्त्र पहिचान र अधिकारमाथि हस्तक्षेप गरेको छ । कुनै कारणले सिक्किमसँग विवाद भएमा नेपाल सरकारले ब्रिटिस सरकारलाई जानकारी दिनुपर्ने र उसको फैसला मान्नुपर्ने आपत्तिजनक व्यवस्था पनि यो सन्धिले राखेको छ । यद्यपि, यो सन्धि पूरा कार्यान्वयन भएको छैन, तर नेपालको लागि अपमानजनक छ । त्यस्तै, सुगौली सन्धि असमान छ । सुगौली सन्धिले हाम्रो सिमाना स्पष्ट नपार्दा नेपाल र भारतबीचको आत्मीय सम्बन्धमा पनि वेलावेलामा उतारचढाव आइरहेको छ । उदाहरणका लागि, सुगौली सन्धिमा नेपालका राजा–महाराजा र उत्तराधिकारीले कालीपारिका जनतासँग सम्पर्कसमेत गर्न नपाउने उल्लेख छ । काली नदीको उद्गम कहाँ भन्ने सन्धिमा नलेखिँदा अहिले पनि विवाद आइरहेको छ । भारतले अस्ति भर्खर २ नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेर ती भूभाग उसको नक्सामा पारेपछि नेपालले ०७७ जेठमा नयाँ नक्सा जारी गर्नुपर्‍यो । भूमिमा त विवाद छँदै थियो, अहिले नक्सामा पनि द्वन्द्वको अवस्था आएको छ । यसको कारण सुगौली सन्धि नै हो । मैले अघि पनि भनेँ, सुगौली सन्धि स्पष्ट नहुँदा नेपाल–भारत सीमा क्षेत्रका ७१ ठाउँमा सीमा विवाद छ । सन्धि हुँदा नदीको धारबारे केही उल्लेख गरिएन । नारायणी नदीले धार परिवर्तन गरिरहँदा भारतले सधैँ आफ्नो दाबी गरिरह्यो । सुगौली सन्धिका वेला नारायणी नदी जहाँ बगेको छ, त्यही नक्सा लागू हुनुपर्छ । स्थिर सीमा सिद्धान्तमा दुई देश सहमत भइसकेको हुनाले यसमा विवाद नहुनुपर्ने हो । तर, भारतले यसलाई स्वीकार गरेको छैन । दुई देशबीच ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा स्थिर सीमा सिद्धान्त मानिएको छ । 

सुगौली सन्धिमा नेपालले सदाका लागि अन्य भूभाग छाड्ने भनियो, तर दुईपटक पूरक सन्धिमार्फत नेपालले गुमेको जमिन फिर्ता पाएको छ । यो कसरी सम्भव भयो, अनि नेपाललाई इस्ट इन्डिया कम्पनीले कबुल गरेको दुई लाख रुपैयाँको हिसाबकिताब के भयो ? 

सुगौली सन्धिअनुसार मेचीदेखि कोसीसम्मको बाहेक सबै तराई क्षेत्र ब्रिटिस इन्डियाको हो भन्ने थियो, कोसीदेखि महाकालीसम्मको तराईमा बुटवल मात्र नेपालसँग थियो । अंग्रेजले सुगौली सन्धिबापत नेपालका असन्तुष्ट भाइभारदारका नाममा वार्षिक दुई लाख रुपैयाँ दिने भनिएको थियो, त्यो कहिल्यै आएन । तर, सुगौली सन्धि भएको नौ महिनापछि ११ डिसेम्बर १८१६ मा अंग्रेजले राप्तीदेखि कोसीसम्मको भूभाग नेपाललाई फिर्ता दियो । मेरो अध्ययनमा अंग्रेजले दुई लाख रुपैयाँ दिनुभन्दा राप्तीदेखि कोसीसम्मको जमिन दिनु फाइदा ठाने । सुगौली सन्धिको ४४ वर्षपछि १५ नोभेम्बर १८६० मा जंगबहादुरका पालामा अंग्रेजले नयाँ मुलुकका रूपमा राप्तीदेखि कालीसम्मको तराई अर्थात् बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि फिर्ता दियो । खासमा, जंगबहादुरले भारतमा अंग्रेजविरुद्ध उठेको सिपाही विद्रोह दबाउन गरेको सहयोगबापत नेपालले जमिन फिर्ता पायो । सिपाही विद्रोह साम्य बनाउन सैनिक सहयोग गरेर जंगबहादुरले अंग्रेजलाई सन्तुष्ट बनाए । अंग्रेजले जंगबहादुरलाई खुसी पार्न खोजेको भए पनि जंगबहादुर खुसी थिएनन् । नेसनल आर्काइभ्स अफ इन्डियाको चार खण्ड अध्ययन गर्दा मैले के पाएँ भने जंगबहादुरले सुगौली सन्धिमा गुमेका मेचीपूर्व र कालीपश्चिमका सबै भूभाग पाउने अपेक्षा गरेका थिए । टिस्टादेखि सतलजसम्म फिर्ता पाउने आशाविपरीत चार जिल्ला मात्रै पाएकोमा जंगबहादुर सन्तुष्ट थिएनन् । 

सुगौली सन्धिकै कुरा गर्दा यसको सक्कल प्रति कहाँ छ भन्नेमा द्विविधा छ । सर्वोच्च अदालतले माग्दासमेत सरकारले सुगौली सन्धिको सक्कल प्रति दिन सकेको छैन । तपाईंको खोज अनुसन्धानले यसबारे के भन्छ ? 

मलाई पनि जिज्ञासा लागेको हो, सुगौली सन्धिको सक्कल कहाँ छ ? किन जिज्ञासा लाग्यो भने मेचीदेखि टिस्टासम्म नेपालले अंग्रेजसँग कहिल्यै लडाइँ गरेको थिएन, तर त्यो भूभाग पनि अंग्रेजले छिनेर लग्यो । नेपालबाट लगेको त्यो भूभाग ‘ट्रिटी अफ टिटालिया’ गरेर अंग्रेजले सिक्किमलाई दियो । त्यो भूभागबारे नेपाल र सिक्किमबीच भविष्यमा विवाद भएमा अंग्रेजले छिनोफानो गर्नेछ, नेपालले स्विकार्नुपर्नेछ भनेर सन्धिमा लेखियो । तर, सुगौली सन्धिमा यो विषय उल्लेख छ भन्नेमा मलाई शंका छ । किनभने, युद्ध भएको, रगत बगेको, छाडेको वा लिएको विषयमा पो सन्धि हुन्छ । युद्ध नै नभएको ठाउँको विषयमा कसरी सन्धि भयो ? त्यसैले मैले सक्कल प्रति धेरै ठाउँमा खोजेँ, भेटिनँ । एक प्रति नेपालसँग र अर्को प्रति वर्तमान भारतमा हुनुपर्ने हो । हामीसँग छैन । भारतसँग भएर पनि उसले नदेखाएको हो कि जस्तो मलाई लाग्छ । १८१६ मार्च ४ मा चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेपछि एक कपी ल्याएका छन् । त्यो कपी प्रधानमन्त्री भीमसेन थापालाई बुझाइएको हुनुपर्ने हो । त्यसको मतलव, नेपालको राष्ट्रिय अभिलेखालयमा हुनुपर्ने हो । तर, कहीँ पनि छैन । 

मेचीदेखि टिस्टासम्मको भूभागमा नेपाल र अंग्रेजबीच कहिल्यै विवाद भएको थिएन । त्यहाँ अंग्रेजसँग लडाइँ पनि भएको थिएन । युद्ध नभएको ठाउँमा पनि ४० दिनभित्र गोर्खाली पछि हट्नुपर्ने अंग्रेजको अडान मान्नुपर्ने अवस्था भयो । 

लन्डनस्थित ब्रिटिस लाइब्रेरीमा अध्ययनका लागि जाँदा सन्धिहरूको आर्काइभ छ कि भनेर सोधेँ । त्यसवेला म्याप क्युरेटर ए एन्ड्र्यु कुकबाट मैले जवाफ पाएँ, ‘हामीले सबै दस्तावेज भारतलाई बुझाइसकेका छौँ, हामीसँग छैन ।’ भारतमा गएपछि पाइएला त भनेर सोध्दा कुकले फिस्स हाँसेर जवाफ दिए, ‘त्यो हैदराबाद हाउसमा थ्री लक सिस्टममा छ । तीनवटा साँचो खोलेर त्यो डकुमेन्ट तिमीले पाउने सम्भावना कम छ ।’ उनले पब्लिक रेकर्ड अफिस, क्युरी गार्डेनमा गएर खोज्न सल्लाह दिएअनुसार म गएँ । त्यहाँ मलाई स्कलरका रूपमा जाने अनुमति भयो । मैले नेपाल र तिब्बत तथा नेपाल र अंग्रेजबीच भएका सन्धि छन् कि भनेर सोधेँ । त्यहाँको कर्मचारीले एउटा सन्धि त छ, भोलिपल्ट आउनु भनेपछि म गएँ । एउटा बन्द कोठामा मलाई हातमा पन्जा लगाएर जान भनियो । त्यहाँ १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सक्कल कपी रहेछ । म छक्क परेँ । प्रधानमन्त्री मोहनशमशेर र भारतीय राजदूत चन्द्रेश्वरनारायण सिंहले हस्ताक्षर गरेको सक्कल कपीको छेउमा एउटा लेटर प्याड रहेछ । शाही निसान लगाएको, अंग्रेजीमा बांगो पारेर गरिएको राजा त्रिभुवनको हस्ताक्षर छ । यो सन्धिको सक्कल कपी नेपाल र भारतसँग हुनुपर्ने, बेलायत कसरी आइपुग्यो भन्नेमा मलाई खुल्दुली भयो । रातो मलमल कपडाले बेरेर कुँदेको काठमा राखिएको थियो त्यो सन्धि । मलाई फोटोकपी गर्न दिएनन् । म दुःखसाथ भन्छु, नेपालसँग नेपाल–भारत शान्ति तथा मैत्री सन्धि (सन् १९५०) को सक्कल प्रति पनि छैन । तर, बेलायतको पब्लिक रेकर्ड अफिसमा सन्धिको सक्कल कसरी पुग्यो ? मलाई लाग्छ, सन् ५० को सन्धिको सक्कल कपी नेपालबाट बेचिएकै हो । यो आधारमा अनुमान लगाउन सकिन्छ, सुगौली सन्धिको सक्कल कपी पनि बेचिएकै हुनुपर्छ । बेचिएको सन्धि पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । नेपालले बेलायत सरकारसँग सोधखोज गरेमा उसले बताउन सक्छ ।

सुगौली सन्धि सदाका लागि भनिएको थियो, दुईपटक पूरक सन्धिमार्फत नेपाली जमिन फिर्ता आएको इतिहास छ । यो सदाका लागि होइन भन्ने पुष्टि भइसक्यो । के यो सन्धिलाई अहिलेको परिप्रेक्ष्यमा सच्याउने ठाउँ अझै छ ?

सुगौली सन्धि भएको नौ महिनामा हामीले राप्तीदेखि कोसीसम्मको भूभाग पायौँ, त्यसको ४४ वर्षपछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पायौँ । त्यसकारण यो सदाका लागि हो भन्ने मान्यता व्यावहारिक रूपमा नै खण्डित भएको छ । भारतसँग राम्रोसँग संवाद गर्ने हो र भारतले नमान्दा अन्तर्राष्ट्रिय न्यायालयमा जाने हो भने सुगौली सन्धि सच्याउने ठाउँ अझै छ । सन् १९५० को सन्धिको धारा ८ अनुसार सुगौली सन्धि स्वतः खारेज हुन्छ किनकि यो धारामा यसअघिका सबै सन्धि खारेज हुने भनिएको छ । यो विषय नेपालले उठाउनुपर्छ । सुगौली सन्धिमा गुमाएको भूभाग पाउन समय लाग्छ, तर सम्भव हुन्छ । बेलायतले हङकङ चीनलाई फिर्ता दिएको छ, पोर्चुगलले मकाओ फिर्ता दिएको छ । भारतले गोवा फिर्ता ल्याएको छ । नेपाल समृद्ध हुँदै गएपछि भविष्यमा सम्भावना हुन्छ भन्ने मलाई लाग्छ ।

कतिपयले त नेपाल र भारतबीच १९५० जुलाई ३१ मा भएको शान्ति तथा मैत्री सन्धिलाई नै सुगौली सन्धिको प्रतिस्थापन सन्धि भन्ने गरेका छन् नि ?

मलाई यो सान्दर्भिक लाग्दैन । सुगौली सन्धि भनेको सीमासम्बन्धी सन्धि हो । अंग्रेज र नेपालबीच सिमानाकै विषयमा लडाइँ भएको हो । १९५० को सन्धि भनेको शान्ति, मित्रता र सीमा व्यवस्थापनको सन्धि हो । सुगौली सन्धि बोर्डर डिमार्केसनको सन्धि हो, पछिल्लो सन्धि बोर्डर मेनेजमेन्टका लागि हो । १९५० को सन्धिका कतिपय धारा कार्यान्वयन भएका छैनन्, भलै यसबारे विवाद र बहस भइरहेको छ । नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सन्धिबारे सुझाबसहितको प्रतिवेदन तयार गरेको सार्वजनिक सञ्चारमाध्यममा आइसकेको छ । प्रधानमन्त्रीहरूले प्रतिवेदन बुझेपछि यसबारेमा थप स्पष्ट होला । तर, सुगौली सन्धिको प्रतिस्थापनका रूपमा १९५० को सन्धिलाई बुझ्नु हुँदैन । 

सुगौली सन्धिमा हस्ताक्षर हुनुलाई स्वाभाविक र अस्वाभाविक दुवै कोणबाट व्याख्या, विश्लेषण भइरहेको छ । तपाईंको मूल्यांकनमा सुगौली सन्धिमा नेपालले हस्ताक्षर नगरेको भए के हुन्थ्यो होला ? 

नेपालसँग नेपाल–भारत शान्ति तथा मैत्री सन्धि (सन् १९५० ) को सक्कल प्रति पनि छैन । तर, बेलायतको पब्लिक रेकर्ड अफिसमा सन्धिको सक्कल कसरी पुग्यो ? मलाई लाग्छ, सन् ५० को सन्धिको सक्कल कपी नेपालबाट बेचिएकै हो । यो आधारमा अनुमान लगाउन सकिन्छ, सुगौली सन्धिको सक्कल कपी पनि बेचिएकै हुनुपर्छ ।

मलाई लाग्छ, सुगौली सन्धिमा हस्ताक्षर नगरेको भए पनि नेपाल अंग्रेजको उपनिवेश हुने थिएन । नेपाल सशक्त हिमाली राज्य बन्ला भन्ने डरका कारण अंग्रेजले युद्ध घोषणा गरेको हो । उसले युद्ध घोषणा नगरेको भए नेपाल समृद्ध हुन्थ्यो, हामी शक्तिशाली पनि हुन्थ्यौँ । सुगौली सन्धिमा सही नगरेको भए युद्ध हुन्थ्यो, तर युद्ध हुँदा पनि नेपालको हार हुन्थ्यो भन्ने अवस्था थिएन । गोर्खाली सेनाले कप्तान किनलकको फौजलाई हराएको थियो । जनरल जिलेस्पी मारिएका थिए । तिब्बतलाई तीनपटक नेपालले हराएको थियो । बेलायतले प्रोपोगान्डा गरेको थियो कि हामी नेपाल कब्जा गर्दै छौँ । तर, नेपाली योद्धाहरू लडाइँका लागि तयार थिए । नेपालले युद्धमा हार खानेवाला थिएन । नालापानी युद्धमा नेपालीलाई युद्धमा हराइएको थिएन, पानीको मुहान थुनिएको थियो । कमान्डर बलभद्र कुँवरसहितका योद्धाहरू लुकेर भागेका थिएनन्, अंग्रेज फौजका अगाडि खुकुरी नचाएर हिँडे र सतलजसम्म आइपुगे । अंग्रेजभन्दा गोर्खालीहरू रणकौशलमा अगाडि थिए भन्ने प्रमाणित हुन्छ । तर, नेपाली पनि बहादुर हुन् । 

त्यसो भए सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्ने बाध्यताचाहिँ नेपाललाई किन आइपर्‍यो त ? 

त्यसवेलाका योद्धाहरू ब्रिटिससँग सन्धि गर्ने होइन, लडाइँ गरेर नेपाल जोगाउनुपर्ने पक्षमा थिए । तर, राजकाज जोगाउन प्रधानमन्त्री भीमसेन थापाले चन्द्रशेखर उपाध्याय र गजराज मिश्रलाई सन्धि गर्न पठाए । किनकि, अंग्रेजले काठमाडौं कब्जा गर्छु भन्ने हल्ला चलाएको थियो । त्यही वेला नेपाली भारदारहरूबीच वैमनस्यता र झैझगडा चरमचुलीमा पुगेको थियो । त्यही असामान्य परिस्थितिमा नेपालले सुगौली सन्धिमा हस्ताक्षर गर्न पुगेको हो । यदि बेलायतसँग लडाइँ नभएको भए नेपाल एकीकरण जारी रहन्थ्यो, नेपाल अहिलेको काराकोरम हुँदै लद्दाखसम्म पुग्ने अवस्था थियो । 

ब्रिटिस इन्डियाको तिब्बत पस्ने रणनीति थियो भन्नुभयो । नेपाल र इस्ट इन्डिया कम्पनीबीचको सन्धिको अघि र पछि चीन वा तिब्बतले कुनै प्रतिक्रिया जनाएका थिए कि थिएनन् ? 

नेपाल र तिब्बतबीच त्यो वेला पनि कटुता थियो । तिब्बतभन्दा नेपाल शक्तिशाली थियो । नेपालबाट तिब्बतमा खाद्यान्न मात्र जाँदैनथ्यो, त्यहाँको पैसा नै यहाँ बन्थ्यो । नेपाल र तिब्बतबीच तीनपटक युद्ध भयो । गोर्खालीहरूले हमला गर्दै जाने क्रममा नेपालको सिमाना ल्हासाभन्दा पश्चिमको सिगात्सेसम्म पु¥याएका थिए । तर, तिब्बतकोे सहयोगार्थ चिनियाँ फौज आएसँगै नेपाली फौज सिगात्सेबाट फिर्ता भयो । नेपाल–तिब्बत युद्धमा सधैँ तिब्बतीको हार हुन्थ्यो । त्यही कारण नेपाल र तिब्बतबीच बेत्रावती सन्धि, थापाथली सन्धि, केरुङ सन्धि भयो । त्यसैले सहयोग लेनदेन हुन सकेन । 

नेपाली युवाहरूले बेलायती सेनामा अर्थात् गोर्खा भर्तीमा सहभागी हुने प्रावधान सुगौली सन्धिमा छैन, तर सन्धिले त्यसका लागि सहज अवस्था बनाइदिएको भनिन्छ । यसमा तपाईंलाई के लाग्छ ? 

सुगौली सन्धिमा गोर्खा सैनिकबारे केही पनि उल्लेख छैन । मेरो अध्ययनअनुसार गोर्खालीहरू रणकौशल बहादुर योद्धा भएका कारण अंग्रेजले गोर्खा भर्ती सुरु गरेका हुन् । नेपालसँग कुनै वेला वैमनस्य भएको अवस्थामा पनि ती युवा काम लाग्छन् भन्ने उनीहरूको बुझाइ पाइन्छ । सन् १८१५ देखि नै गोर्खा भर्तीका लागि अंग्रेजहरू परिस्थिति बनाउँदै थिए । पहिला ब्रिटिस गल्लावाला आउँथे, पछि भारतीय गल्लावाला आएर नेपाली युवालाई भर्ती गर्थे । अहिले पनि नेपाली समाजमा भाडाको सिपाही पठाउनुहुँदैन भन्ने आवाज उठिरहेको छ । अर्कातिर, रोजीरोटीको विषय भन्ने तर्क पनि छ । ब्रिटिस सेनाले पाउने अवकाशपछिको पेन्सनसरह नेपाली गोर्खाले पाउन नसकेको भनेर भूतपूर्व गोर्खा समुदाय न्यायको लडाइँमा छ । सुगौली सन्धिपछि नेपालीलाई भाडाको सिपाहीका रूपमा भर्ती गरेपछि नेपालीको मनोबल गिरेको थियो । सन्धिले वातावरण बनाएको हो, तर सन्धिमा यो उल्लेख छैन ।