Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गगन अयडी बाजुरा
२०७७ फाल्गुण १८ मंगलबार ०९:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गाउँपालिकामा अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन, युवालाई गाउँमै रोजगारी

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ फाल्गुण १८ मंगलबार ०९:४९:००

बाजुराको जगन्ना गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले अति विपन्न घरधुरीलाई एक महिनाको रोजगारी दिनका लागि गाउँपालिकामा अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरेको अध्यक्ष कालीबहादुर शाहीले बताए । आर्थिक वर्ष ०७६/७७ मा ६ वडाका १ सय ८० जनाले ३० दिन रोजगारी प्राप्त गरेका थिए । 

आर्थिक वर्ष ०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन चाहने युवाहरूका लागि ०७७ साउनमा आवेदन मागेको थियो । गाउँपालिकाबाट १ हजार ६३ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका छन् । सरकारको नीतिअनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीले प्राथमिकताका आधारमा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनामा सयजना, प्रधानमन्त्री रोजगार कार्यक्रममा १ सय ७९ जना र अध्यक्ष रोजगार कार्यक्रममा ६० जना छनोट गरी जम्मा ३ सय ३८ जनाले गाउँमै राजगारी पाएको अध्यक्ष शाहीले बताए । 

एकजनाले प्रतिदिनमा ५ सय १७ रुपैयाँका दरले गाउँपालिकाबाट सय दिनको रोजगारी पाएका छन् । प्रत्येक योजनामा १० देखि १५ जनाको समूह बनाएर काम सञ्चालन गरिएको छ । गाउँपालिकाले औजार, सामग्री खरिद र ढुवानीका लागि ५० लाख विनियोजन गरेको अध्यक्ष शाहीले बताए ।

गाउँपालिकामा अध्यक्ष रोजगार र प्रधानमन्त्री रोजगार कार्यक्रममा चालू वर्ष ज्यालाबापत १ करोड ७४ हजार विनियोजन भएको छ । खानेपानी योजना २ वटा, सिँचाइ ९ वटा, विद्यालयका घेराबार ९ वटा र बाटो निर्माण ७ वटा गरी कुल २६ वटा भौतिक पूर्वाधारका योजनाहरू निर्माण प्रक्रियामा छन् । अध्यक्ष बेरोजगार कार्यक्रम सञ्चालन भएपछि जगन्नाथ गाउँपालिकाका बेरोजगारहरू निकै खुसी भएको स्थानीयवासी भरत विकले बताए ।

उनले भने, ‘पहिला सधैँ भारतलगायत खाडी मुलुक जाने गरेका थियौँ, तर गाउँमै बेरोजगार युवालाई रोजगार कार्यक्रम आएपछि विदेश जानुपर्ने बाध्यता हटेको छ ।’ सयौँ बेरोजगार युवाहरू गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन भएपछि रोजगारी भएको उनले बताए ।