मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अजित अधिकारी काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार २२:११:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार २२:११:००

नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ, आन्तरिक वायुसेवा कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा  प्रतिकिलोलिटर  २५ अमेरिकी डलर वृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल समान ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धन ७२ रुपैयाँ र बाह्य हवाई इन्धन  प्रतिकिलोलिटर  आठ सय ९३ डलर प्रतिलिटर पुगेको छ । 

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले १ मार्च (सोमबार दिउँसो) मूल्य बढाएर पठाएकाले नेपाली बजारमा समायोजन गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

‘हामीले खरिद गर्ने इन्धनको मूल्य नै बढेर आएको छ । त्यसैले हामीले पनि यहाँ स्वचालित मूल्य प्रणालीअनुसार वृद्धि गर्नुको विकल्प नभएको हो,’ उनले भने । आयल निगमले पछिल्लो १५–१५ दिनमा मूल्य वृद्धि गर्न थालेको छ । आइओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने भएकाले हाल वृद्धि भएर आइरहेको र नेपाली बजारमा समायोजन गर्नुपरेको निगमले तर्क गर्दै आएको छ ।

सोमबार दिउँसो आइओसीबाट नयाँ मूल्य आउँदा साबिकको खरिददरको तुलनामा पेट्रोल ४.१९ रुपैयाँ र डिजेल ४.०६ रुपैयाँ वृद्धि भई आएको छ । आइओसीले पठाएकोभन्दा आधा मूल्य मात्रै बढाएर नेपाली बजारका लागि बिक्री मूल्य निर्धारण गरेको भन्दै मूल्य वृद्धिपछि पनि निगमलाई अझै नोक्सान रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिपछिको बिक्री दरमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनसम्ममा निगमलाई एक अर्ब ३२ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ वृद्धि भइरहेकाले निगमले चर्को घाटा सहनुपरेको दाबी गर्दै आएको छ ।