१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १४:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्मार्ट सिटी काठमाडौंभित्र र बाहिर समानान्तर रूपमा अघि बढाउँछौँ : मन्त्री साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १४:१५:००

सहरी विकासमन्त्री प्रभु साहले काठमाडौं र काठमाडौंबाहिरका स्मार्ट सिटीहरूलाई समानान्तर ढंगले अगाडि बढाइरहेको बताएका छन् । तीनवटा स्मार्ट सिटीबारे जानकारी दिन मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये तीनवटा स्मार्ट सिटीको काम अगाडि बढेको बताए । यस्तै, काठमाडौंबाहिरका स्मार्ट सिटीहरूलाई पनि सँगै लान खोजिएको उनले बताए । 

उनले भने, ‘काठमाडौंमा चारवटा स्मार्ट सिटी प्रस्तावित गरेका छौँ । जसमा तीनवटा त अगाडि नै बढिसकेका छन् । काठमाडौंबाहिरका पनि स्मार्ट सिटीहरूलाई हामी सँगै लान खोजिरहेका छौँ । काठमाडौंभित्रका स्मार्ट सिटी र काठमाडौंबाहिरका स्मार्ट सिटी दुईवटैलाई हामी समानान्तर ढंगले नै अगाडि बढाइरहेका छौँ । भन्नलाई मात्रै होइन, देख्नलाई नै स्मार्ट सिटी बनाउनेछौँ ।’

साहले काठमाडौं उपत्यका देशको मुटु भएकाले यहाँको बसोवास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिएको बताए । काठमाडौंको भद्रगोल सहरीकरणलाई योजनाबद्ध, व्यवस्थित सहरीकरणको सचेत प्रयासका रूपमा स्मार्ट सिटी निर्माण कार्य गरिँदै गरेको उनले बताए । 

उनले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुनविपरीत गर्नु नहुनेमा जोड दिए । स्मार्ट सिटी आमदेशवासीको सम्मानसँग जोडिएको महत्वांकाक्षी योजना भएको भन्दै साहले यसलाई सबैको सरोकार जोड्ने गरी अगाडि बढाउने पनि बताए ।