१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण १७ सोमबार ०६:३१:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीको दाबी : कहीँ पनि बाँसको फड्के तर्नुपर्दैन

यथार्थ : ओलीकै गृहजिल्लाका जनता बाँसको पुलमा पैसा तिरेर ठूला नदी तर्न बाध्य

Read Time : > 5 मिनेट
२०७७ फाल्गुण १७ सोमबार ०६:३१:००

प्रधानमन्त्री केपी ओलीले आइतबार गृहजिल्ला झापाबाट उद्घोष गरे– ‘अब कहीँ पनि जनताले दुःख पाएर बाँसको फड्के तर्नुपर्नेछैन । धेरै साथीहरूले भन्नुहुन्थ्यो पक्की बाटो देख्न पाइएन । तर, अहिले ठाउँ–ठाउँमा पक्की बाटो बनेको छ । पक्की पुल बनेको छ । काठको मुढो राखेर खोलामा बनाएको फड्के तर्नुपथ्र्यो । म नै मोटसाइकलको पछि बसेर खोला तर्दै गर्दा लडेको छु । आज त्यहाँ अब पक्की पुल बनेको छ ।’

उनले तीन वर्षमा आफ्नो नेतृत्वको सरकारले तीव्र विकास गरेको दाबी गरे । पुल नभएको खोला कतै नभएको बताए । ‘पहिला म निर्वाचनको प्रचारमा आउँदा गाडीमा कोदाली बोकेर आउनुपथ्र्यो । तर, अहिले बाटो नपुगेको ठाउँ छैन । कहाँ–कहाँ गाडी पुगेको छैन हामीलाई भन्नुहोस्,’ ओलीले भने, ‘पुल नभएको खोला कहाँ छ ? हामीलाई भन्नुहोस्, हामी बनाउँछौँ ।’

तर, यथार्थ प्रधानमन्त्री ओलीले भनेजस्तो छैन । उनकै झापाका जनता अहिले पनि ठूला नदीमा बाँसको फड्केबाट तरिरहेका छन् । त्यो पनि पैसा तिरेर । ओलीले तीन वर्षमा नौ सय पुल बनेको दाबी गरे । तर, उनकै गृहजिल्ला झापामा हुलाकी राजमार्गअन्तर्गत आठवटा पुल वर्षौँदेखि अलपत्र छन् । दक्षिणी झापाका जनता बर्खामा डुंगामा जोखिम मोलेर यात्रा गर्छन् । हिउँदमा बाँसको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य छन् ।

झापाको कमल गाउँपालिका–७ स्थित झर्कामा आइतबार चीन–नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणले पछिल्लो तीन वर्षमा फड्को मारेको दाबी गरे । हुलाकी राजमार्ग निर्माणले तीव्रता लिएको दाबी गर्दै गर्दा ओलीले अलपत्र आठवटा पुल बिर्सिए ।

उनको दाबीलाई हुलाकी राजमार्गअन्तर्गत माई, बिरिङ, रतुवाजस्ता ठूला नदीका वर्षौँदेखि अलपत्र पुलले गिज्याइरहेका छन् । ठूला नदीमा बनाइएको बाँसको भाटाको पुलमा पचासदेखि सय रुपैयाँसम्म तिरेर दक्षिणी क्षेत्रका दुई हजारभन्दा बढी जनता दैनिक ओहोर–दोहोर गर्छन् । यीमध्ये प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गअन्तर्गत रतुवापुल मात्र चल्न नसकेको दाबी गरे । ‘निर्माण कम्पनीको गल्तीले हुलाकी राजमार्गमा रतुवापुल मात्र चल्न बाँकी छ । तर, त्यो पनि अब चाँडै चल्छ,’ उनले भने ।

हुलाकी राजमार्गमा आठवटा पुल अझै अलपत्र 
झापामा पर्ने ४८ किलोमिटरको हुलाकी राजमार्गमा आठवटा पुल अझै अलपत्र छन् । यी पुल निर्माण सुरु भएको एक दशक नाघिसकेको छ । तर, तत्काल बन्ने छाँटकाँट छैन । माई, रतुवा र बिरिङजस्ता ठूला नदीमा बर्खामा डुंगा चल्छन् । हिउँदमा स्थानीय केही व्यक्तिले बाँसको पुल हालेका छन् । जहाँ जनताले हिँडेको मात्र २० रुपैयाँ तिर्छन् । साइकलको ३० रुपैयाँ र मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्छ ।

ओलीकै निर्वाचन क्षेत्रअन्तर्गत गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल अलपत्र परेको १३ वर्ष भयो । निर्माण कम्पनीले काम सकियो भनेर बीचमै पुल अलपत्र छाडेको छ । जसकारण जनताले दैनिक सास्ती भोगिरहनुपरेको छ । आर्थिक वर्ष ०६४/६५ मा निर्माण सुरु भएको सो पुल खोलाको चौडाइभन्दा सानो बन्दा सञ्चालनमा आउन सकेको थिएन ।

खोलाको चौडाइ चार सय मिटरभन्दा धेरै छ । तर, पुल बन्यो दुई सय पाँच मिटरको । खोलाको बीचमा पुल हुँदा निर्माण सम्पन्न भएको लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन । हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुल मोरङ–सुनसरी पुल आयोजनाले आव ०६४/६५ मा काठमाडौंको कालिका–ओसिए जेभीले निर्माण ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का पाएको निर्माण कम्पनीले सम्झौताअनुसार काम सम्पन्न गरे पनि पुलका लम्बाइ छोटो हुँदा पुललाई बीचमा पारेर खोला कुदेको छ ।

माई नदीको पुल निर्माण सुरु भएको आठ वर्ष नाघ्यो । तर, अझै पूरा हुन सकेको छैन । चार वर्षभित्र सक्ने गरी ठेक्का लगाइएको पुल आठ वर्षमा पनि अधुरै छ । ३१ जेठ २०६८ मा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले यो पुल ठेक्का लिएका थिए । महादेव खिम्ती कन्स्ट्रक्सन निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हो । 

चार वर्षमा सक्ने गरी ३४ करोड रुपैयाँमा ठेक्का लिइएको यो पुल बल्ल बन्न सुरु भएको छ । ७२४ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नुपर्ने थियो । समयमा पुल निर्माण हुन नसकेपछि दैनिक सयौँका संख्यामा जोखिम मोलेर डुंगाबाट तर्नुपर्ने बाध्यता छ । यो नदीमा पनि बर्खामा डुंगा तर्न यात्रुले दुई सय रुपैयाँसम्म तिनुपर्ने हुन्छ । हिउँदमा पनि बाँसको पुल लगाइन्छ । यो वर्ष पनि स्थानीय ईश्वर माझीले बाँसको पुल बनाएका छन् । उनले त्यहाँ मान्छे हिँडेबापत २० र मोटरसाइकलको ५० रुपैयाँ लिने गरेका छन् ।

झापाको अर्को ठूलो नदी बिरिङको पनि हालत उस्तै छ । ३१९ मिटर लामो पुल निर्माण सुरु भएको एक दशक हुनै लाग्यो । तर, पिलर ठड्याउनेबाहेक काम हुन सकेको छैन । यो पुल लामा/मैनाचुली जेभीले ०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजार रुपैयाँमा ठेक्का लिएको थियो । मैनाचुली कन्स्ट्रक्सन दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् मदन अधिकारीको हो । उनी प्रधानमन्त्री ओलीसँग पहँुच भएका निर्माण व्यवसायी हुन् । ०७३ पुसमा समय सकिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । 

साना नदीमा बन्न लागेका पुलको हालत पनि बिजोग
हुलाकी राजमार्गअन्तर्गत माई र रतुवाजस्ता ठूला नदीमा मात्र होइन, अन्य साना नदीमा पनि यसरी नै वर्षौँदेखि पुल अलपत्र छन् । निर्माण कम्पनीले अनेक बहाना देखाउँदै काम नगर्दा यात्रुले भने दैनिक कष्टकर यात्रा गर्न बाध्य छन् । साना नदीमा बर्खाको समयमा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता छ भने हिउँदमा बाँस वा काठको पुलबाट यात्रा गर्नुपर्ने हुन्छ ।

हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज वडा नम्बर २ र ३ जोड्ने किस्नीखोला पुल निर्माण सम्पन्न गर्नुपर्ने समय सकिएको दुई वर्ष भयो । तर, अझै काम सकिएको छैन । निर्माण कम्पनीले अहिले भने धमाधम काम गरिरहेको छ । यो पुल ३० असार ०७३ मा दुई वर्षभित्र सक्ने गरी नागार्जुन सपना देव एन्ड सायर जेभी आठ करोड १८ लाख ७४ हजार ४६४ रुपैयाँमा ठेक्का लिएको थियो । तर, अहिलेसम्म काम सम्पन्न भएको छैन ।

हुलाकी सडककै गौरीगन्ज १ र २ जोड्ने कमल खोलाको पुल पनि वर्षौँदेखि अलपत्र छ । दुई वर्षमा सक्ने गरी बिटी–शिवरमण जेभीले २०७२ माघमा पाँच करोड ५६ लाख ६४ हजार २०७ रुपैयाँमा ठेक्का लिएको थियो । तर, अहिलेसम्म तीनवटा पिलर हाल्नेबाहेक केही काम भएको देखिँदैन । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्जमै लेहरा खोलाको पुल पनि वर्षौँदेखि अलपत्र छ । दुई वर्षमा सक्ने गरी ३० असार ०७३ मा चार करोड दश लाख ९८ हजार ३६७ रुपैयाँमा ठेक्का लागेको पुलको काम अझै सकिएको छैन । यो पुलको ठेक्का लामा–बागमती जेभीले पाएको थियो ।

झापा गाउँपालिकामा रहेको सानोमाई नदीको पुल पनि अलपत्र छ । ५१ मिटर लम्बाइ भएको पुल ०७५ असारमै सकिनुपर्ने थियो । यो पुल लामा–बागमती जेभीले ०७३ असारमा पाँच करोड ९७ लाख ९९ हजार ४४५ रुपैयाँमा ठेक्का लिएको थियो । तर, समय सकिएको चार वर्षसम्म पुल निर्माण सकिएको छैन ।

हुलाकी राजमार्गअन्तर्गत बाह्रदशी र हल्दिबारीगाउँपालिका जोड्ने भुत्नी खोलाको पुल पनि वर्षौँदेखि अलपत्र छ । ६४ दशमलव २० मिटरको लम्बाइ रहेको यो पुल ०७५ असारमै सकिनुपर्ने थियो । तर, हालसम्म अलपत्र छ । ०७३ असारमा लामा–बागमती जेभी काठमाडौंले ६ कारोड ५० लाख ६६ हजार ४८ रुपैयाँमा पुल ठेक्का लिएको थियो ।

मदन भण्डारी राजमार्गको ३१ पुल शिलान्यास, चार पुलको उद्घाटन
प्रधानमन्त्री ओली आइतबार दिनभर शिलान्यास र उद्घाटनका कार्यक्रममा व्यस्त भए । उनले मदन भण्डारी राजमार्गअन्तर्गत झापाको बाहुनडाँगी र सुनसरीको धरानसम्मको खण्डमा पर्ने ३१ वटा पुल दमकको रतुवा पुलबाटै एकैपटक शिलान्यास गरे । उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा पाँचवटा पुलको उद्घाटन गरेका छन् । 

जग्गा प्राप्ति नहुँदै औद्योगिक पार्कको शिलान्यास 
प्रधानमन्त्री ओलीले झापाको दमक–१०, कमल–७ र गौरादह–५ को २१ सय बिघा क्षेत्रफलमा निर्माण हुन लागेको चीन–नेपालमैत्री पार्कको शिलान्यास गरे । चीन सरकारले ६३ अर्बको लगानीमा निर्माण गर्ने यो पार्कको ओलीले शिलान्यास गरेका हुन् ।

यो पार्कका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सने निर्माण गर्नेछ । दुई वर्षदेखि सञ्चालनमा ल्याउने पार्कमा पहिलोपटक २६ प्रकारका उद्योग रहनेछन् । पार्क निर्माणका लागि पहिलो चरणमा ६४ अर्ब बजेटबाट नदी तटबन्धन, वृक्षरोपण, सडक र भवन निर्माणजस्ता कार्य हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए ।

उद्योग निर्माण पश्चात ४० वर्ष चिनियाँ कम्पनीले चलाएर मात्र नेपाललाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । प्रधानमन्त्रीले शिलान्यास गरेको यो औद्योगिक क्षेत्रमा अझै मुआब्जा विवाद टुंगिएको छैन । ठूलो जनसभा गरेर ओलीले शिलान्यास गरेको यो पार्कका लागि ७४२ निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ । त्यसमध्ये ४११ बिघा जग्गाको मात्र मुआब्जा टुंगिएको छ । अन्य जग्गा अझै पार्कको स्वामित्वमा आएको छैन । सरकारी जग्गामा पनि समस्या देखिएका कारण सबै जग्गा पार्कको स्वामित्वमा आएको छैन । औद्योगिक पार्क निर्माणका लागि बनाइएको डिपिआरसमेत लगानी बोर्डले स्वीकृत गरेको छैन । 

प्रधानमन्त्री ओलीले औद्यागिक पार्क निर्माणको प्रारम्भिक काम नसकिँदै शिलान्यास गर्न हतार गरेका हुन् । उनले देशमै रोजगार सिर्जनाका लागि यो पार्क निर्माण महत्वपूर्ण भएको दाबी गरे । ओलीले पार्क निर्माणमा पहिलो चरणमा तत्काल दुई अर्ब खर्च हुने बताए । ‘तत्काल दुई अर्ब खर्च हुन्छ । दुई वर्षमा औद्योगिक पार्क निर्माणले गति लिन्छ,’ उनले भने, ‘सुरुमा ४५ हजारले रोजगारी पाउँछन् । पछि लाखौँले रोजगारी पाउनेछन् । यहाँ ठूला उद्योग स्थापना हुनेछन् ।’ पार्क निर्माण समितिका अनुसार यहाँ इलोक्ट्रोनिक गाडी, मोबाइल, लत्ताकपडालगायतका ठूला उद्योगहरू स्थापना हुनेछन् । 

औद्योगिक पार्कमा प्रधानमन्त्रीको सालिक राख्ने घोषणा
चीन–नेपालमैत्री औद्योगिक पार्कमा प्रधानमन्त्री ओलीको सालिक राखिने भएको छ । पार्क निर्माण सँगसँगै प्रधानमन्त्रीको सालिक पनि राखिने पार्कका अध्यक्ष गोविन्द थापाले घोषणा गरे । ‘विकास र समृद्धिको नेतृत्वकर्ता केपी ओली । विकास र समृद्धिको बा पनि उहाँ नै,’ उनले भने, ‘हामी उहाँले शिलान्यास गरेको ठाउँमा उहाँ (ओली)को प्रतिमा बनाउनेछौँ ।’

 ‘अविश्वासको प्रस्ताव ल्याएर हटाए  जनताबाट दुईतिहाइ ल्याएर फर्किन्छु’
प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन चुनौती दिएका छन् । उनले संसद् पुनस्र्थापना भइसकेकाले अविश्वासको प्रस्ताव ल्याउन आफ्ना विपक्षीलाई चुनौती दिएका हुन् । ओलीले आफूलाई यसरी हटाए जनतामाझ गएर दुईतिहाइ ल्याउने दाबी गरे । ‘तपाईंहरूले जब संसद् फिर्ता गरेर ल्याउनुभएको छ ।

मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुस् न । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् । पहिला पनि अविश्वासको प्रस्ताव राखेर हटाएको हो । म जनताबाट फर्केर आएको हुँ,’ उनले भने, ‘अहिले पनि हटाएर देखाउनुस्, हटाउन सक्नुभएछ भने तीन करोड नेपाली जनताबाट दुईतिहाइ लिएर आउँछु । 

प्रधानमन्त्री ओलीले सरकारले ल्याएको विकास र समृद्धि देख्न नसकेर आफूविरुद्ध षड्यन्त्र भएको दाबी गरे । उनले आफू नेतृत्वको सरकारले सबै छिमेकीसँगको सम्बन्ध सुमधुर बनाएको बताए । तर, आफूलाई प्रधानमन्त्रीबाट हटाएर केही व्यक्तिले विदेशीलाई अनुकूल हुने सरकार ल्याउन खोजेको दाबी गरे । उनले विप्लव नेतृत्वको नेकपा चाँडै वार्तामा आउने दाबी पनि गरे ।