मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १८:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आयल निगमको तीन ठूला डिपो प्रमुख हेरफेर, अमलेखगन्जस्थित पाइपलाइन परियोजनामा प्रदीप यादव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १८:४०:००

नेपाल आयल निगमले इन्धन वितरण गर्ने प्रमुख तीन ठूला डिपो प्रमुख हेरफेर गरेको छ । शनिबार बिहान भएको निर्णयअनुसार सबैभन्दा ठूलो दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा प्रदीप यादवको सरुवा भएको छ । उनी हाल बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुख छन् ।

त्यस्तै, अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मी केन्द्रीय कार्यालयमा सरुवा भएका छन् । सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुखमा सुरेन्द्र महतोलाई जिम्मेवारी दिइएको छ । त्यहाँ प्रमुख रहेका अभिषेक ठाकुरलाई थानकोट डिपो प्रमुख बनाइएको छ । तीनवटै डिपो प्रमुखको एकवर्षे कार्यावधि सकिएकाले जिम्मेवारी हेरफेर गरिएको निगमले जनाएको छ ।

आयल निगमको कर्मचारी प्रशासन विनियमावलीले डिपो प्रमुखको कार्याकाल दुई वर्षको हुने व्यवस्था गरेको छ । तर, पछिल्लो समय डिपो प्रमुखहरू प्रत्येक वर्ष हेरफेर हुँदै आएका छन् । अमलेखगन्जमा दोस्रो चरणको पाइपलाइन परियोजनाको काम तीव्र गतिमा अघि बढाउन यादवलाई सरुवा गरेको निगमले जनाएको छ । उनी एक वर्षअघि सोही डिपोबाट थानकोट सरुवा भएका थिए ।

‘यादव अमलेखगन्जमा रहेकै वेला नेपाल–भारत क्रसबोर्डर पाइपलाइन तोकिएभन्दा पहिले नै (१८ महिनामा) सम्पन्न भएको थियो’ स्रोतले भन्यो, ‘अहिले सोही परियोजनाको दोस्रो चरण अघि बढाउनुपर्ने भएकाले यादवलाई पुनः अमलेखगन्ज लगिएको हो ।’ यादवले थानकोटमा रहँदा डिपोको सुदृढीकरण गरेका छन् । सुदृढीकरण भई नयाँ स्वरूपमा आएको डिपोको आउँदो साता उमुद्घाटनसमेत हुँदै छ ।

अमलेखगन्ज डिपो प्रमुखका रूपमा सरुवा भएका यादवले दोस्रो चरणको पाइपलाइन परियोजनाका बाँकी काम सम्पन्न गर्नुका साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन बिछ्याउनुपर्ने, लोथरमा देशकै सबैभन्दा ठूलो भण्डारणगृह निर्माण गर्नुपर्ने तथा सर्लाहीमा समेत भण्डारणगृह निर्माणको काम अघि बढाउनुपर्ने जिम्मेवारी पाएका छन् ।

हाल अमलेखगन्ज प्रमुखमा कार्यरत रेग्मीले दोस्रो चरणको पाइपलाइन परियोजनाका लागि जग बसालेका छन् । अहिले डिजेल मात्र आयात भइरहेको पाइपबाट चाँडै पेट्रोलसमेत आयात गर्ने प्रक्रिया रेग्मीकै पहलमा अघि बढेको छ । उनले पाइपबाट ल्याएको पेट्रोल भण्डारण गर्ने नयाँ भर्टिकल ट्यांक निर्माण, कम्पाउन्डिङ र नयाँ ६ बिघा क्षेत्रफलमा ‘लोडिङ–अनलोडिङ सेड’ विस्तारका लागि सबै कागजी प्रक्रिया टुंग्याएका छन् ।

एक वर्ष अवधि पुगेका गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख पुष्कर कार्कीलाई यथावत् राखिएको छ । त्यहाँ हाल नयाँ भण्डारणगृह बन्दै गरेको र पोखरा विमानस्थल अन्तिम अवस्थामा पुग्दै गर्दा त्यहाँ हवाई इन्धन भण्डारणगृहसमेत बनाउनुपर्ने दबाबमा आयल निगम छ । डिपोसहित दुईवटै भण्डारणगृह निर्माणको जिम्मेवारी दिनेगरी आगामी असारमा उपनिर्देशक मनोज ठाकुरलाई पोखरा सरुवा गर्ने सहमतिअनुसार अहिले त्यहाँ हेरफेर भएको छैन ।

सुदुरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्राञ्जन दास अहिले यथावत् रहे पनि चाँडै सरुवा हुने स्रोतको भनाइ छ । पछिल्लो समय उनीमाथि इन्धन अपचलन गरेको अरोप लागेको छ । त्यस्तै, त्यहाँ कार्यरत कर्मचारीले दासको कार्यशैलीलाई लिएर प्रधान कार्यालयमा उजुरीसमेत दिइसकेका छन् । सो डिपोमा सबै कर्मचारीको विकर्षण रहेकाले उपयुक्त कर्मचारी छनोट भएपछि दासको सरुवा गर्ने निगम स्रोतले जानकारी दियो ।