मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २४ सोमबार
  • Monday, 08 March, 2021
कौशिक नवराज
२०७७ फाल्गुण ११ मंगलबार ०८:३९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

असफलताउन्मुख क्लिनफिड

Read Time : > 3 मिनेट
कौशिक नवराज
२०७७ फाल्गुण ११ मंगलबार ०८:३९:००

आजभन्दा करिब १५ वर्षअगाडि विमर्श सुरु भएको क्लिनफिड अहिले नेपाली मिडिया बचाउने दीर्घकालीन रणनीतिमा रूपान्तरित हुन पुगेको छ । यही कारण क्लिनफिडको सर्वत्र प्रशंसा भएको पनि छ । नेपालका व्यवसायीको डेढ दशकअगाडिदेखिको माग सरकारले ०७३ सालमा आमसञ्चार नीतिमार्फत सम्बोधन गर्न खोजेको थियो ।

तर, त्यसवेला सरकार कमजोर धरातलमा उभिएको साथै क्लिनफिडसमेत कमजोर कानुनको सहारामा रहेको अवस्थामा भारतीय ब्रोडकास्टर र नेपाली केबुल व्यवसायीहरूको दबाबसामु सरकारले उक्त नीति कार्यान्वयन गर्नै सकेन । सरकारले बलियो कानुनको आवश्यकता महसुस गरेर विज्ञापन नियमन गर्ने ऐनमा नै क्लिनफिडसम्बन्धी प्रावधान राखेर अझ कार्यान्वयन मितिसमेत तोकेर कानुन ल्यायो । फलस्वरूप हाल क्लिनफिड कार्यान्वयनको स्थितिमा छ । 

नेपालमा क्लिनफिड लागू भएको एक सय दिन हुन लाग्यो । क्लिनफिडको यो अवधिलाई हेर्दा भने नेपालमा क्लिनफिडको यात्रा सफलताभन्दा पनि ओरालोको देखिन्छ । नेपालमा किन क्लिनफिड यात्रा ओरालो लाग्यो ? यसबारेमा यहाँ केही विश्लेषण प्रस्तुत छ :

संक्रमणकालीन सरकार : पछिल्लो समय विकसित घटनाक्रमहरू हेर्दा सरकारको प्राथमिकता क्लिनफिड कार्यान्वयनमा भन्दा अन्तै देखिन्छ । सडकमा आन्दोलन भएको साथै कर्मचारीहरूमा समेत अन्योल उत्पन्न भएको अवस्थामा क्लिनफिड अपेक्षित रूपमा सफल हुन सक्ने देखिँदैन । राजनीतिले जुनसुकै मोड लिए पनि अबको सरकारको प्राथमिकतामा क्लिनफिड नपर्ने अनुमान गर्न सकिन्छ । 

व्यवसायीहरूको निरन्तर असहयोग : नेपालमा विदेशी च्यानल वितरण गरेर व्यवसाय गरिरहेका सिग्नल वितरक, विदेशी च्यानलका आधिकारिक वितरक र केबुल व्यवसायीहरूले क्लिनफिडलाई सुरुदेखि नै सरकारले आफ्नो व्यवसाय र रोजीरोटीमाथि गरेको प्रहारको रूपमा हेरेका छन् । एकातिर बलियो गरी आएको कानुन र अर्कातिर नेपालमा विदेशी च्यानलहरूको प्रोपोगान्डाबाट आजित भएको अवस्थामा चुलिएको राष्ट्रवादका कारण विदेशी च्यानलका नेपाली वितरकहरू सरकारसामु झुक्न बाध्य भएका हुन् । तर, व्यवसायीहरूले यस सन्दर्भमा सरकारलाई असहयोग गर्न भने छाडेका छैनन् ।

नेपालमा विदेशी च्यानल वितरण गरिरहेका व्यवसायीहरूले भारतीय टेलिभिजन वितरकहरूसँग मिलेर मूल्यवृद्विको माग गराउनेदेखि च्यानलहरूबाट कार्यक्रमको बीच–बीचमा विज्ञापन देखाउने, विज्ञापनको ठाउँमा खाली स्क्रिन देखाउने गरिरहेका छन् । यसले टेलिभिजनका दर्शकलाई समस्यामा पारिरहेको छ । साबिकमा नेपालमा प्रसारणको अनुमति लिएका तर विज्ञापन र ग्राहकबाट शुल्क लिएर प्रसारण भइरहेका विदेशी च्यालनहरू क्लिनफिड लागू भएपछि क्लिनफिड दिन सकिने अवस्था नदेखिएको भन्दै क्लिनफिडको स्वरूपमा आउन मानिरहेका छैनन् । 

क्लिनफिडअघि झन्डै दुई सयको हाराहारीमा नेपालमा विदेशी च्यानल प्रसारण भइरहेको अवस्थामा अहिले क्लिनफिड पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गर्दा करिब २० जति मात्रै च्यानल क्लिनफिडमा प्रसारण भएका देख्न सकिन्छ । नेपाली दर्शकले साबिकमा निःशुल्क रूपमा हेरिरहेका च्यानलले अब निःशुल्क प्रसारण गर्न नसकिने भन्दै शुल्क माग गर्न नेपालका आफ्ना वितरक र प्रसारकलाई दबाब दिन थालेका छन् । 

विज्ञापन नियमन गर्ने ऐनले आमसञ्चारका माध्यममा मात्रै क्लिनफिड हुनुपर्ने भनेर परिकल्पना गरेको देखिन्छ, जुन अर्थहीन छ । ऐनले नेपालमा आमसञ्चारमाध्यमबाट मात्रै विज्ञापन प्रसारण हुन्छ भन्ने मानेर दूरसञ्चारका साधन र सूचना प्रविधिको विकास र प्रयोगको अवस्थालाई नजरअन्दाज गर्दा समस्या सुरु भएको छ । हाल नेपालमा करिब ६६ प्रतिशत जनसंख्यामा इन्टरनेट सुविधा पुगेको र पन्ध्रौँ योजनामा यसलाई बढाएर ८० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको अवस्था छ । थुप्रै सार्वजनिक स्थानमा निःशुल्क वाइफाई विस्तार भएको तथ्यप्रति ऐनका मस्यौदाकारहरूले ध्यान पुर्‍याएको देखिएन ।

सरकारले आमसञ्चारका साधनमा मात्रै क्लिनफिड लगाइँदा दूरसञ्चार र सामाजिक सञ्जालका माध्यमबाट क्लिनफिड त परै जाओस्, सेन्सरसमेत नभएका सामग्री हरेकको हातहातमा पुगिरहेको छ । इन्टरनेट र सामाजिक सञ्जालका माध्यममा क्लिनफिड नहुँदा आमसञ्चारको माध्यममा मात्रै क्लिनफिडको औचित्य पुष्टि गर्न गाह्रो हुने देखिन्छ । 

अर्काेतर्फ, दर्शक तथा ग्राहकले व्यवसायीहरूले तोकेको शुल्क तिर्दासमेत आफ्नो रुचिको च्यानल हेर्न नपाएपछि टेलिभिजन हेर्नै छाडेका छन् । पछिल्लो दुई महिनाको अवधिमा क्लिनफिडका कारण ३० प्रतिशत ग्राहकले सेटअप बक्स रिचार्ज गर्नै छाडेका कारण व्यवसायीहरू अत्तालिन थालेका छन् । यस अवस्थामा नेपालमा टेलिभिजन हेर्ने ग्राहकको संख्यासमेत उल्लेख्य घट्ने अनुमान गर्न सकिन्छ । आमसञ्चारमा मात्रै क्लिनफिड लगाएर दूरसञ्चारलाई खुला छाडिनु उचित होइन । यसबाट अपेक्षित नतिजा हासिल गर्न सकिँदैन । 

विकल्पहीन नेपाली मिडिया : क्लिनफिडपश्चात् नेपाली मिडियाहरूले विदेशी च्यानलको विकल्प दिन सक्नुपथ्र्याे । तर, नेपाली मिडियाले यो अवसर गुमाएका छन् । हालका दिनमा पनि धेरैजसो मिडियाका वेबसाइटसमेत छैनन्, भएकाको पनि अपडेट हुँदैनन्, लाइभ स्ट्रिमिङ कार्यक्रमहरू छैनन् ।

विज्ञापन नियमन गर्ने ऐनले आमसञ्चारका माध्यममा मात्रै क्लिनफिड हुनुपर्ने भनेर परिकल्पना गरेको देखिन्छ, जुन अर्थहीन छ  

घरघरमा वाइफाई र हातहातमा स्मार्ट फोन पुगेको अवस्थामा कसले पो युट्युबमा छ्यासछ्यास्ती पाइने गीत बजाउने, निरस पोलिटिकल टक सो मात्रै सञ्चालन गर्ने नेपाली टेलिभिजन हेरेर बस्ला ! यसर्थ, नेपाली मिडियाले दर्शकको रुचि र चाहनाबमोजिमका कार्यक्रमहरू सञ्चालन गर्न सकेको खण्डमा हाल नेपालमा क्लिनफिडपश्चात् देखिएको विदेशी च्यानलहरूको अभाव पूरा गर्न सक्नेछन् । नेपाली च्यानलहरूको दर्शक र विज्ञापन पनि बढ्नेछन् ।

नेपालमा अहिलेसम्म पनि पे च्यानल सञ्चालनमा छैनन् । २१० भन्दा बढी च्यानलले प्रसारणको अनुमतिपत्र लिए पनि सबै नै निःशुल्क प्रसारित छन् । नेपाली टेलिभिजनका दर्शक र ग्राहकलाई के थाहा छ भने नेपाली च्यानल सित्तैमा हेर्न पाइन्छ । सित्तैमा आउने च्यानलका कार्यक्रम गुणस्तरीय हुँदैनन् । नेपाली च्यानल नहेरे पनि केही फरक पर्दैन भन्ने बुझाइ छ । यसर्थ, नेपाली मिडियाले विदेशी च्यानलको विकल्पमा प्रस्तुत हुने प्रयास गर्नैपर्छ । 

मूकदर्शक तालुक निकाय : नेपालमा क्लिनफिड कार्यान्वयन गर्ने तालुकदार निकाय को हो भनेर अहिलेसम्म स्पष्ट हुन सकेको देखिँदैन । सूचना तथा प्रसारण विभागले मल्टी भ्युअर स्क्रिन राखेर रियल टाइम मनिटरिङ गर्ने व्यवस्था गरेको, कर्मचारीलाई तालिम दिइसकेको, चौबीसै घन्टा कन्ट्रोल रुमबाट मनिटरिङ गर्न सकिने भन्छ । तर, कतिपय च्यानलबाट विज्ञापन र प्रोमोहरू बजिरहँदासमेत अनुगमन गर्न सकेको देखिँदैन । विज्ञापन बोर्डले पूर्णता नपाउँदा क्लिनफिड लागू गर्ने जिम्मेवार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय यसप्रति गम्भीर नभएको देखिन्छ ।

त्यसैगरी, क्लिनफिडपश्चात् नेपालमा विज्ञापन व्यावसाय दोब्बरले बढ्छ । यसले राजस्व र रोजगारीमा समेत वृद्धि गर्छ भनेर व्यवसायीहरू प्रचारमा देखिए, तर विज्ञापन बजार बढाउने ठोस काम गर्न भने सकेनन् । क्लिनफिडपश्चात् विज्ञापन बजार कति विस्तार भयो ?

विदेशी कम्पनीका नेपाली विज्ञापनमा खेलेबापत कुन मोडल र कलाकारले कति रकम पारिश्रमिक पाए ? नेपाली विज्ञापन व्यवसायीले कुन बहुराष्ट्रिय कम्पनीको विज्ञापन ल्याउन पहल गरे ? यी विषय क्लिनफिडको सन्दर्भमा अहं छन् । कोभिड महामारीबाट बहुराष्ट्रिय कम्पनीहरू पनि प्रभावित भएकाले भारतीय बजारबाट आउनुपर्ने विज्ञापनसमेत आउने सम्भावना छैन । नेपाली मिडियामा विज्ञापन बढ्न नसक्दा क्लिनफिड अपेक्षाअनुरूप अघि बढ्न सकिरहेको छैन । 
nabarajrimal66@gmail.com