१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ९ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ फाल्गुण ९ आइतबार o९:४३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

के हो प्यानिक डिसअर्डर ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण ९ आइतबार o९:४३:oo

शरीरले कुनै खतराको महसुस गरे सबैको मन आत्तिने गर्छ । जसले शरीरमा फरकपन महसुस गराउँछ । तर, लगातार डर लागिरहनु र विभिन्न खालको अप्ठ्यारो महसुस भइरहे प्यानिक डिसअर्डर भएको हुन सक्छ, जुन एक प्रकारको मानसिक समस्या हो । 

कसैले एक्कासि आक्रमण गर्न खोजेमा वा अन्य कुनै कारणले खतरा महसुस भएमा मस्तिष्कले शरीरलाई तुरुन्त सूचना दिने गर्छ । त्यसलगत्तै शरीरले पनि प्रतिक्रिया जनाउँछ । मानव अवचेतन मनले खतरा महसुस गरेमा शरीरमा प्रभाव पर्छ । मांसपेसी कडा हुन्छन् र प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ ।

प्रतिक्रियाका लागि मांसपेसीलाई शक्ति चाहिन्छ, जसका लागि मुटु चाँडै र बेस्सरी चलेर मांसपेसीलाई आवश्यक अक्सिजन दिन्छ । त्यसका लागि श्वासप्रश्वास पनि छिटोछिटो हुन्छ । यदि मांसपेशी कडा भएनन् भने तुरुन्त लड्न या भाग्न सकिँदैन । परिणामतः ज्यान जोखिममा पर्न सक्छ ।

असामान्य अवस्था कहिले भन्ने ?
जब डराउनुपर्ने कारण हट्छ, तपाईंको सोचाइ र शरीर सामान्य अवस्थामा आउँछन् । यसपछि पनि ‘केही नराम्रो हुने पो हो कि’, ‘मरिने पो हो कि’, ‘मेरा केही शारीरिक खराबी पो छन् कि’, डाक्टरले पत्ता लगाउन नसकेको पो हो कि’, ‘यी मानिस मेरो बारे नराम्रो पो सोच्दै छन् कि ?’ भन्नेजस्ता भावना मनमा खेलिरहने र यसको सीधा असर शरीरमा पर्ने हुन्छ । सामान्यतया भावनालाई नियन्त्रण गर्न नसक्दा आत्तिने समस्या देखा पर्छ ।

विनाकारण डराउने र आत्तिने समस्या भएका व्यक्तिमा एक्कासि मुटुको धड्कन तेज हुनु, श्वासको गति बढ्नु, श्वास रोकिएजस्तो हुनु, शरीर या हातखुट्टा काँप्नु, चिटचिट पसिना आउनु आदि लक्षण देखिन्छन् । यस्तो समस्या भएको व्यक्तिमा मांसपेशीमा बढी असर परिरहेको हुन्छ । जसले टाउको, गर्दन दुख्ने समस्या निम्त्याउँछ ।

आत्तिने समस्या भएका व्यक्तिमा भय निरन्तर रहिरहन्छ । जसले गर्दा शारीरिक समस्या जस्तै– मुटु काँप्ने, जिउ या हातखुट्टा काँप्ने, चिटचिट पसिना आउने हुन्छ । शरीरमा तनाव भएको महसुस पनि हुन्छ । नकारात्मक विचार अर्थात् डर लाग्ने, अनावश्यक चिन्ता लाग्ने र मस्तिष्कमा विभिन्न कुरा खेलिरहने हुन्छन् ।

यस्तो अवस्थामा व्यक्तिले आफ्नो व्यक्तित्वमाथि शंका गर्ने र सामान्य विषयमा पनि डराउने गर्न थाल्छ । अन्य मानसिक रोगको तुलनामा सामान्य रोग मानिए पनि शरीरमा देखिने असरका कारण आफूमा शारीरिक समस्या भएको भ्रम रहने गर्छ । समस्याको सही पहिचान नहुँदा व्यक्तिमा थप तनाव थपिने सम्भावना रहन्छ । 

जस्तै, मुटुको कम्पनजस्ता लक्षण देखिएमा मुटुसम्बन्धी गम्भीर बिरामी भएको शंका गर्ने, चिकित्सकको सल्लाहमा विश्वास नगर्नेजस्ता व्यवहार देखिन्छन् । हेर्दा सामान्य रोग भए पनि कतिपय व्यक्तिमा कडा रूपमा प्रस्तुत भएको पाइन्छ । जसले गर्दा दैनिक क्रियाकलापमा समेत असर परिरहेको हुन्छ । समयमै उपचार नहुँदा समस्या बल्झिएर जान्छ । 
उपचार
उपचारका माध्यमबाट आत्तिने समस्यालाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिन्छ । घर परिवारमा वा आफैँमा पनि यस्ता लक्षण देखिएमा सम्बन्धित चिकित्सकसँग समयमै सल्लाह लिनुपर्ने हुन्छ । सामान्यतया रोगको प्रकृति र अवस्थाका आधारमा औषधि र मनोवैज्ञानिक उपचारबाट आत्तिने समस्या निको पार्न सकिन्छ । विचारलाई नियन्त्रण गर्ने, तनावमुक्त रहने, आत्तिने र नकारात्मक विचार दिमागमा आउन नदिनका लागि परामर्शको आवश्यकता हुन्छ । यदि समस्या जटिल भएमा औषधि पनि प्रयोगमा ल्याउनुपर्ने हुन्छ ।