१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसमा युवालाई आकर्षित गर्न नवीन्द्रराज जोशीका चार प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:o५:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले पार्टी र देशको राजनीतिमा युवाको आकर्षण घटेकोप्रति चिन्ता व्यक्त गर्दै युवासँग संवादको कार्यक्रम थालेका छन् । ‘कांग्रेसमा मात्रै होइन, अहिले राजनीतिमै युवाको आकर्षण घटेको आभास हुन्छ, पार्टीको १४औँ महाधिवेशन नजिकिएको छ, देशमा संकट उत्पन्न भएको छ, यस्तो वेला युवाको विचार र गुनासा, समस्या सुन्नका लागि युवासँग संवाद थालेको हुँ,’ उनले भने । 

जोशीले कांग्रेसका भातृ संस्थाहरू नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायत संगठन सम्बद्ध युवा नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् । ‘पार्टीमा युवासँग संवाद गर्ने, युवाका कुरा सुन्ने चलन हरायो, त्यसैले पनि मैले कम्तीमा महिनामा एकपटक युवासँग बसेर छलफल गर्ने थालनी गरेको हुँ,’ जोशीले भने । 

जोशीले शुक्रबार मात्रै राष्ट्रियता, लोकतन्त्र र समाजवादका निमित्त युवाहरूको भूमिका विषयक अन्तर्क्रिया गरे । कार्यक्रममा जोशीले नेपालको राजनीतिमा युवाहरूको समानुपातिक प्रतिनिधित्व आवश्यक देखिएको बताए । ‘अहिलेका युवा राजनीतिप्रति अनिच्छुक रहेको हो कि ? भन्ने आभास हुन्छ, यसको प्रमुख कारण विगत ७० वर्षदेखिको अथक संघर्षपश्चात् पनि देशमा लोकतन्त्र सुदृढ हुन नसक्नु हो,’ जोशीले भनेका छन्, ‘कुनै पनि सरकार पूरा अवधि टिक्न सक्दैनन् । यसको नकारात्मक असर युवा दिमाग परेको छ । वास्तवमा लोकतन्त्र संस्थागत नहुनुमा एउटा प्रमुख कारण चेतनशील र ऊर्जावान् युवावर्ग राजनीतिप्रति अनिच्छुक हुनु पनि हो भन्ने युवाले बुझ्नुपर्छ ।’

युवालाई पार्टीमा जिम्मेवार र अनुशासित बनाउन निरन्तर संवाद र छलफलको संस्कार बसाउनुपर्ने जोशीले बताएका छन् । ‘नेपालमा युवाको जनसंख्या ४० प्रतिशत छ, उनीहरूलाई यदि हामी लोकतन्त्रवादी हौँ भने पार्टीका सबै तहमा कम्तीमा ४० प्रतिशत सहभागिता सुनिश्चित गरौँ, तब मात्र युवालाई पार्टी र राजनीतिमा आकर्षित गराउन सकिन्छ,’ जोशीले भनेका छन् । पार्टीमा युवाको उचित प्रतिनिधित्व नहुँदा पार्टीमा युवा नेतृत्वको अभाव हुने थालेको उनले बताए । 

जोशीले कांग्रेसले युवाहरूलाई राजनीतितर्फ आकर्षित गर्ने मात्र होइन, देशमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको संरक्षणको जिम्मेवारी पनि दिनुपर्ने बताए । जोशीले कांग्रेस र राजनीतिमा युवालाई आकर्षित गर्ने विभिन्न चार प्रस्तावसमेत अघि सारे । पहिलो, युवाहरूको जीविकोपार्जनको सुनिश्चितताका लागि आवाज उठाउने, दोस्रो पार्टीभित्र आन्तरिक लोकतन्त्र कायम गर्न स्पष्ट र विश्वसनीय कदम चाल्ने, तेस्रो पार्टी र देशका लागि युवाहरूसँग निरन्तर छलफल गर्ने र अन्तिम युवासँग राष्ट्रियता, लोकतन्त्र र समाजवादकै विषयमा सैद्धान्तिक छलफल गर्ने । ‘२१औँ शताब्दीमा नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ, अहिलेको सूचना प्रविधिको युग सुहाउँदो हुनुपर्छ, तब मात्रै युवाहरूले राजनीतिमा आफ्नो भविष्य देख्न सक्छन् ।’

उनले कांग्रेसले युवाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । ‘बेरोजगार सबैका लागि रोजगारीको वातावरण बनाउनुपर्छ । युग सुहाउँदो शिक्षा, रोजगारी र राजनीतिको अनुक्रमलाई अवलम्बन गर्नुपर्छ,’ उनले भने ।  जोशीले सुशासन र जनजीविकाको सवालमा केन्द्रित रहेर कांग्रेसले सबै जिल्ला र पालिकाहरूमा विभिन्न चरणका कार्यक्रम चलाउन प्रस्ताव गरेका छन् । ‘लोकतन्त्र र संविधानको रक्षाका लागि सत्याग्रह आन्दोलन गर्ने, सुशासन र जनजीविकाको सवाललाई सशक्त रूपमा उठाउने, सरकारी सेवा कार्यालयको ढिलासुस्ती कम गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न दबाब दिने, सरकारी सेवामा पहुँच नभएका नागरिकलाई सेवामा पहुँचको सहजीकरण गर्नुपर्ने आवश्यक छ,’ जोशीले भने ।

ad
ad