मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o८:५४:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

रोजगारी नहुँदा बालुवा चालेर जीवन निर्वाह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५४:oo

दार्मा गाउँपालिकाको भल्चौरका लालबहादुर थापा बालुवा चाल्दै आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन् । स्थानीय विद्यालयमा एसइई सकेपछि उच्च शिक्षा हासिल गर्न आर्थिक अभाव भएपछि बालुवा चाल्नुपरेको हो । बालुवा चालेरै उनले शारदा नगरपालिका– १ श्रीनगरबाट १२ सम्मको अध्ययन पूरा गरेका छन् ।

आफूसँगै उनले भाइबहिनीको पढाइ खर्च जुटाउनका लागि शनिबार तथा बिदाको दिनमा बालुवा चाल्ने गरेको उनको भनाइ छ । घरको आर्थिक अवस्था कमजोर भएपछि बाध्य भएर बालुवा चाल्नुपरेको उनले बताए । रोजगारीका अवसर नपाउँदा जिल्लाका विपन्न परिवार जीवन निर्वाहका लागि नदीजन्य वस्तुमा निर्भर रहनुपर्ने बाध्यता रहेको छ । 

आर्थिक रूपमा विपन्न हुँदा रोजगारी पनि नपाइने र दैनिक निर्वाहका लागि अरू कुनै पनि विकल्प नभएपछि साँझ–बिहानकै छाक टार्नका लागि पनि गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । अहिले जिल्लाको शारदा नदीसँगै अन्य आसपासका खोलामा गिट्टी कुट्ने र बालुवा चालेर दैनिकी चलाउने परिवारको संख्या धेरै छ ।

नदी किनारमै  बित्छ दैनिकी
शारदा नगरपालिका– १ श्रीनगरनिवासी लीला थापाको दैनिकी पनि शारदा नदीको किनारमा नै बित्ने गरेको छ । नुन–तेललगायत घरखर्च चलाउन तथा आफ्ना खर्च टार्नका लागि अहिले खोलाको किनारमा बालुवा चाल्ने गरेको उनको भनाइ छ । रोजगारीको अर्को अवसर नभएपछि जीवन निर्वाह गर्नकै लागि बालुवा चाल्ने बाध्यता रहेको उनको भनाइ छ ।


पाँच दिनसम्म लगातार बालुवा चालेपछि मात्रै एक ट्र्याक्टर बालुवा संकलन गर्ने गरेको उनले बताइन् । ‘खोलामा भएका ढुंगा, गिट्टी हटाएर बालुवा निकाल्नुपर्छ, पाँच दिनमा एक ट्र्याक्टर हुन्छ, त्यसको पैसा दुई हजार हुन्छ, पाँच सय रुपैयाँ कर तिर्नुपर्छ, बाँकी १५ सय रुपैयाँ हातमा पर्छ, त्यसका आधारमा भन्ने हो भने दैनिक तीन सय रुपैयाँ ज्यालामा काम गर्नुपरेको छ ।’ 

साँझ–बिहानको छाक टार्नै मुस्किल
दिनभर बालुवा नचाले साँझ–बिहानको छाक टार्न समस्या भएकाले बाध्य भएर यस कार्यमा लागेको उनको भनाइ छ । कपुरकोट गाउँपालिका– ५ रिमनिवासी बबिता बोहराले दुई वर्षदेखि शारदा नदीको छेउमा बालुवा चाल्दै आएकी छिन् । सानो बच्चासँग श्रीनगर बजारमा मजदुरी गर्न समस्या भएपछि उनले अहिले शारदा नदीको छेउमा बालुवा चाल्छिन् । ‘बिहान ७ बजे नै खोलामा आउँछु, दिनभर बालुवा जम्मा गरेर बेलुका ५ बजे मात्रै कोठामा जान्छु,’ उनले भनिन्, ‘रोजगारीको कुनै उपाय नभएपछि बाध्य भएर बालुवा चाल्नुपरेको छ ।’

बाध्यताले सरकारी  नियम तोडिँदै
जिल्लाका खोला तथा नदीनालाबाट नदीजन्य वस्तु ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न नपाइने सरकारी नियम छ । तैपनि जीवन निर्वाह गर्ने अर्को कुनै विकल्प नहुँदा बाध्य भएर दैनिक रूपमा खोलामा बालुवा चाल्ने तथा गिट्टी कुट्नुपरेको उनीहरूको भनाइ छ । जिल्लाका बजार तथा गाउँहरूमा काम खोज्दै हिँडे पनि कहीँ नपाएपछि बाध्य भएर खोलाको भर पर्नुपरेको उनीहरूको गुनासो छ । सरकारले ल्याएका रोजगारमूलक कार्यक्रम लक्षित वर्गसम्म नपुग्दा समस्या भएको उनीहरूको गुनासो छ ।