मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १ शनिबार ०७:०६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप लिग दुई : अमेरिका र ओमानसँगको नेपालको शृंखला स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १ शनिबार ०७:०६:००

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप लिग दुईअन्तर्गत नेपालको दोस्रो शृंखला स्थगित भएकोे छ । नेपालले ओमानमा आगामी मार्चमा घरेलु टोलीसहित अमेरिका पनि सहभागी रहने त्रिदेशीय शृंखला खेल्ने तय भएको थियो । 

यद्यपि, आइसिसीले कोरोना भाइरस महामारीका कारण प्रतियोगिता स्थगित गर्नुपरेको जनाएको छ । आइसिसीको निर्णयअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले पनि शुक्रबार विज्ञप्तिमार्फत शृंखला स्थगित भएको जनाएको छ । 

‘कोभिड–१९ महामारीको बढ्दो प्रभाव, लामो क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र विभिन्न देशहरूले जारी गरेको भ्रमण प्रतिबन्धका कारण अमेरिका, ओमान र नेपाल सम्मिलित शृंखला स्थगित भएको छ,’ क्यानले विज्ञप्तिमार्फत भनेको छ, ‘अर्काे सूचना आउनुअघिसम्मका लागि यो शृंखला रोकिएको जानकारी गराउन चाहन्छौँ ।’आइसिसीले कोभिड–१९ महामारीकै कारण विश्वकप लिग दुईअन्तर्गतका अरू दुई शृंखला पनि स्थगित गरेको जनाएको छ । आइसिसीले लिग दुईअन्तर्गत अप्रिलमा हुने तय भएको पपुवा न्युगिनी, ओमान र स्कटल्यान्ड तथा मेमा हुने तय भएको पपुवा न्युगिनी, अमेरिका र नामिबियाबीचको शृंखला पनि स्थगित गरिएको जनाएको छ । 

नेपालले यसै शृंखलाका लागि पहिलो चरणको तयारी पनि सुरु गरिसकेको थियो । नेपालले गत १७ माघमा सम्पन्न भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको छनोट गरी बन्द प्रशिक्षण सुरुवात गरेको थियो । क्यानले शुक्रबार मात्रै पहिलो चरणको प्रशिक्षण सम्पन्न गरेको छ । पहिलो चरणको प्रशिक्षणमा ३२ खेलाडी सहभागी भएका थिए । शृंखला स्थगित भए पनि क्यानले खेलाडीको प्रशिक्षण भने निरन्तर रहने जनाएको छ । ‘शृंखला स्थगित भए पनि प्रशिक्षण निरन्तर रहनेछ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन् ।

क्यान स्रोतका अनुसार अबको प्रशिक्षणमा भने खेलाडीको संख्या घट्न सक्छ । पहिलो चरणको प्रशिक्षणबाट खेलाडीको संख्या घटाएर दोस्रो चरणको प्रशिक्षण सुरु गरिने तयारी क्यानले गरेको छ । आइसिसीको निलम्बन फुकुवा प्रक्रिया लम्बिनु र कोरोना भाइरस महामारीका कारण सन् २०१९ को अगस्टबाट सुरु भएको विश्वकप लिग दुईअन्तर्गतको शृंखलामा नेपालले अहिलेसम्म एउटा मात्रै शृंखला खेल्न भ्याएको छ । 

नेपालले गत वर्ष फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमान र अमेरिका सम्मिलित शृंखला खेलेको थियो । उक्त शृंखलामा नेपालले ओमानसँगको दुईमध्ये दुवै खेल गुमाएको थियो भने अमेरिकासँगको दुईमध्ये दुवै खेल जितेको थियो । दुई जितबाट चार अंक जोडेको नेपाल सात टोली सम्मिलित शृंखलाको अंकतालिकामा छैटौँ स्थानमा रहेको छ । 

के हो, लिग दुई ?
आइसिसी क्रिकेट विश्वकप लिग दुई प्रतियोगिता साढे दुई वर्षसम्म चल्ने प्रतियोगिता हो । यो प्रतियोगितामा सात टोली सहभागी रहेका छन् । यो प्रतियोगिता सन् २०२३ मा भारतमा आयोजना हुने क्रिकेट विश्वकप छनोटको आधार पनि हो ।

प्रतियोगितामा नामिबिया, नेपाल, ओमान, पपुवा न्युगिनी, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिका सहभागी रहेका छन् । यो प्रतियोगिताअन्तर्गत तीन–तीन टोली सहभागी रहने गरी २१ वटा शृंखला आयोजना हुनेछन् । प्रतियोगिताअन्तर्गत प्रत्येक टोलीले ३६ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्नेछन् ।

सन् २०१९ को अगस्टबाट सुरु भएको यो प्रतियोगिता सन् २०२२ को जनवरीसम्म चल्नेछ, जसअन्तर्गत एक सय २६ खेल हुनेछन् । यो प्रतियोगिताको शीर्ष तीन स्थानमा रहने टोली सन् २०२३ विश्वकपको अर्काे चरणको छनोट प्रतियोगिताका लागि बढुवा हुनेछन् । पुछारका चार टोली विश्वकप छनोट प्लेअफका लागि घटुवा हुनेछन् । प्लेअफमा च्यालेन्ज लिग ए र बीको विजेता दुई टोली पनि सहभागी हुनेछन् । प्लेअफका शीर्ष दुई टोली फेरि छनोट प्रतियोगितामा पुग्नेछन् ।