१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o२:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई सातामा दुई लाख खोप लगाइयो, अब एक सातामा तीन लाख खोप लगाउने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o२:५o:oo

पहिलो चरणको तेस्रो अभियानमा तीन लाख नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य

सरकारले पहिलो चरणको तेस्रो अभियानमा तीन लाख नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । २ देखि ८ फागुनसम्म तेस्रो अभियानअन्तर्गत खोप लगाउने सरकारको योजना छ । अहिलेसम्म करिब दुई लाख नागरिकले खोप लगाएका छन् । भारत सरकारले दिएको १० लाख डोज चाँडै सक्नुपर्ने बाध्यता सरकारलाई छ । 

शुक्रबार दोस्रो अभियान सकिएको छ । दोस्रो अभियानअन्तर्गत २५ माघबाट पत्रकार, राजदूतावासका कर्मचारी र युएन एजेन्सीमा कार्यरत स्वदेशी तथा विदेशी नागरिक तथा तिनका परिवारले खोप लगाएका छन् । यसअघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र जेलमा रहेका कैदीलाई खोप लगाइएको थियो । 

भारतले दिएको १० लाख डोजमा पहिलो चरणमा चार लाख ३० हजारलाई लगाउने सरकारी योजना छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार हालसम्म करिब दुई लाख नागरिकले मात्रै खोप लगाएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसबीचमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी, पहिलो अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वायंसेवक, एम्बुलेन्स तथा शवबाहनचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड खोप लगाइनेछ । यसका लागि जिल्ला अस्पतालका अघिल्ला खोपकेन्द्रहरू सञ्चालनमा रहनेछन् । 

खोप थोरै बाँकी रहेकाले तेस्रो अभियानमा पनि ज्येष्ठ नागरिक समेटिएका छैनन् । पहिलो डोज दिएको एक महिनापछि दोस्रो डोज पनि सोही खोप दिनुपर्ने हुँदा कम मौज्दात भएकाले ज्येष्ठ नागरिकलाई अपुग हुने मन्त्रालयको भनाइ छ । 

स्वास्थ्य मन्त्रालयले चार लाख ३० हजारलाई लगाइसकेपछि मात्रै दोस्रो चरणमा प्रवेश गर्ने बताएको छ । एक दुई दिनभित्र हाल सञ्चालनमा रहेको कोभिसिल्ड खोप नै आइपुग्ने भएकाले उक्त खोप दोस्रो चरणमा ज्येष्ठ नागरिकलाई लगाउने योजना छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी १४ फागुनबाट दोस्रो डोज सुरु हुनेछ । दोस्रो चरणको खोप २४ फागुनबाट चल्नेछ । उक्त समयमा ज्येष्ठ नागरिक, दीर्घरोगी प्रवासी कामदारले खोप पाउनेछन् । 

दोस्रो चरणमा ज्येष्ठ नागरिक (सबै ५५ वर्षमाथिका) अन्य दीर्घरोगी (४० वर्षदेखि ५४ वर्ष) र दीर्घरोगी प्रवासी कामदारहरू गरी कुल जनसंख्याको १७ प्रतिशत रहेको सरकारको अनुमान छ । एकैपटक ५१ लाख बढीलाई खोप दिन सम्भव नहुने भएपछि सरकारले दोस्रो चरणमा तीनवटा अभियान चलाउने उल्लेख गरेको छ । 

पहिलो अभियानमा ५५ वर्षमाथिका रोगको उच्च घातक दर भएका सबै ज्येष्ठ नागरिकलाई लगाइनेछ । यो संख्या कुल जनसंख्याको १२ दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै दोस्रो अभियानमा ४० देखि ५४ वर्षका बाँकी दीर्घरोगी उमेर समूहको २५ प्रतिशत अर्थात् कुल जनसंख्याको ३ दशमलव ६८ प्रतिशतलाई लगाइनेछ । दोस्रो चरणको खोप अभियानको अन्तिममा भने दीर्घरोगी प्रवासी कामदारलाई दिइनेछ । यो संख्या कुल जनसंख्याको एक प्रतिशत छ । 

ad
ad