मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ २६ सोमबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बगरजस्तै फेवाताल

Read Time : > 2 मिनेट
२०७७ माघ २६ सोमबार १८:००:००

दुई साताअघि पोखरा आउँदा फेवाताल घुम्न पुगेकी भक्तपुरकी मीरा खड्का घरायसी कामका कारण आइतबार पुनः पोखरा आइपुगिन् । उनी सोमबार बिहान फेवातालस्थित वाराही मन्दिर दर्शनका लागि पुग्दा तालमा पानीको सतह घटेको देखेर अचम्मित भइन् । तुरुन्तै उनले नजिकै रहेका डुंगाचालकसँग यसको कारण सोधिन् ।

फोटो तथा भिडियोमा फेवाताल देखेकी चितवनकी शर्मिला पौडेल सोमबार फेवाताल पुग्दा फोटोमा देखेजस्तो रूप पाइनन् । उनले फोटोमा देखेको ताल र प्रत्यक्ष देखेको तालमा आकाश जमिनको फरक पाएपछि छक्क परिन् । हिजोआज पोखरा आउने अधिकांश पर्यटक पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालको स्वरूप देखेपछि अचम्ममा पर्ने गरेका छन् । कारण हो, बाँध मर्मतका लागि पानीको सतह घटाएपछि देखिएको दृश्य । 

तालको बाँध जीर्ण अवस्थामा पुगेपछि त्यसको मर्मतका लागि भन्दै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले पानीको सतह एक मिटर घटाएको हो । पानीको सतह घटेपछि तलको किनार कहीँ चार मिटरदेखि कतै ५० मिटर परसम्म पुगेको छ । ताल किनारका अधिकांश भाग समुद्रका बिचजस्ता देखिएका छन् । ताल किनारमा लेदो माटोसँगै रहेका डुंगाहरू हिलो माटोमा गाडिएको अवस्थामा रहेका थिए । 

४० वर्षपछि पहिलोपटक बाँध मर्मत
ताल संरक्षणका लागि भन्दै ०१८ मा पहिलोपटक बाँध बाँधिएको थियो । सो बाँध ०२८ मा भत्कियो । ०३५ मा पुरानो स्थानभन्दा केही तल चार ढोकासहितको नयाँ बाँध निर्माणको काम सुरु गरियो । निर्माणको काम भने तीन वर्षपछि सम्पन्न भएको थियो । निर्माण गरिएको बाँधको समय–समयमा मर्मत गर्नुपर्ने भए पनि सामान्य मर्मत गरिँदै आएको थियो । जसकारण बाँधको ढोकामा पानी रोक्न प्रयोग भएका रवरसिल खिइँदै गएपछि पानी लिक भइरहेको थियो ।

बाँध बनेको करिब ४० वर्षपछि पहिलोपटक ‘लार्ज स्केल’मा मर्मत गर्न लागिएको हो । ढोकाको रवरसिलसँगै गेटको मर्मत, गेटको स्टेप लकको दाँती मर्मत, बाँधबाट बगेको पानी खस्ने स्थान डाउनस्टिम साइटमा यसअघि जाली राखिएकोमा त्यसलाई हटाएर ढलान गर्ने र आवश्यकताअनुसार रंगरोगन गर्नेलगायतका काम गरिने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आर्चायले जानकारी दिए । मर्मतका लागि एक करोड बजेट विनियोजन भएको छ ।

बाँधसँगै तल्लो भाग अर्थात् फेवातालबाट सिँचाइका लागि पानी लगिएको कुलोको मर्मतका लागि पानीको सतह घटाइएको आर्चायले जानकारी दिए । मर्मतको सबै काम पानीभित्र गर्नुपर्ने भएकाले तालको सतह घटाउनुपरेको उनको भनाइ छ । तालको पानी यसअघि समुद्र सतहबाट ७९३ मिटरमा रहेकोमा हाल पानी घटाउँदा ७९२ मिटर रहेको आचार्य बताउँछन् । आफूहरूलाई कामका लागि दुई मिटर घटाउनुपर्ने भए पनि एक मिटर पानी घटाइपछि तालको चारैतिर आफूहरूले अवलोकन गरेको र स्थानीयले समेत धेरै घटाउन नहुने भनेपछि एक मिटर घटाएर काम सुरु गरेको उनको भनाइ छ । मर्मतपछि बाँधको आयु बढ्ने आचार्यले बताए ।

बाँधको गेट रवरसिल मर्मतपछि तालमा पानीको सतह पुनः पहिलेको अवस्थामा आउने र मर्मतका लागि करिब एक महिना लाग्ने बताइएको छ । मर्मत सकिएपछि फिर्के र सेती नदीको पानी डाइभर्ट गरेर तालमा ल्याइनेछ । तालको पानी घटाइएपछि तालबाराही मन्दिरसम्म आवतजावत गर्न हिलोमा बिछ्याइएका ढुंगा टेकेर जानुपर्ने भएको छ । 

जलारीहरू असन्तुष्ट 
फेवातालको उपल्लो भेगमा जलारी समुदायको बाक्लो बस्ती छ । उनीहरूले प्रायः तालमा माछापालन गर्ने र तालमा रहेको माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । मर्मतका लागि भन्दै एक्कासि पानी सुकाएको भन्दै जलारीहरू असन्तुष्ट बनेका छन् । आफूहरूलाई खबर नगरी पानी सुकाउँदा धेरै माछा मरेको र केही माछा बगेर गएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।