अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिनको प्रभाव ९६ प्रतिशत, दोस्रो डोज भ्याक्सिन तत्कालन नलगाउन आग्रह

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध विश्वका विभिन्न देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन प्रयोग भइरहेको छ । यो भ्याक्सिनको नतिजा निकै राम्रो भएको प्रतिक्रिया भ्याक्सिन लगाएका देशहरूबाट आइरहेका छन् । 

यसैबीच बेलायतको स्वास्थ्य विभागका सचिव म्याट हान्कोकले पनि भ्याक्सिनले उत्कृष्ट नतिजा निकालेको बताएका छन् । ‘यो अहिलेसम्मकै उत्कृष्ट नतिजा र काम भन्नुपर्छ,’ म्याटले भनेका छन् । कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न यो भ्याक्सिन प्रभावशाली रूपमा अघि बढिरहेको कम्पनीले पनि दाबी गरेको छ । बेलायतले पहिलो चरणमा नौ लाख ६० हजार नागरिकलाई यो भ्याक्सिन लगाएको थियो । 

बेलायतमा पहिलो चरणको खोप सुरु गर्दा यसअघिको नतिजा र विश्लेषण गरिएको थिएन । यहाँका स्वास्थ्य विभागका सचिव म्याटले बुधबार अध्ययन तथा अनुसन्धानपछि भ्याक्सिनको काम अति नै सन्तोषजनक रहेको जनाएका हुन् । ‘अहिलेको परिणाम हेर्दा यसले पर्याप्त प्रभाव पार्न सक्छ जस्तो महसुस भएको छ,’ उनले भने । 
भ्याक्सिनले असर गर्दै जाँदा आफूहरूमाथि दबाब सिर्जना हुने उनको भनाइ छ । 

म्याटले बिबिसीको ब्रेकफास्ट कार्यक्रममा भनेका छन्, ‘हामी सबैलाई यस महामारीबाट बाहिर निस्कन यो भ्याक्सिनले मद्दत पु¥याउँछ ।’ केही साताअघि युनिभर्सिटी अफ अक्सफोर्डले नै भ्याक्सिन निर्माण कम्पनीमा गएर अध्ययन गरेको थियो । त्यहाँ अक्सफोर्डका अनुसन्धानकर्ताहरूले प्रत्येक भ्याक्सिन बनाउन अपनाएको प्रविधि निरीक्षण गरेको म्याटले बताए । 

भ्याक्सिन लिएपछि तीन महिनासम्म सुरक्षित
भ्याक्सिन लगाएका व्यक्तिमा स्वास्थ्य समस्या आउँदा उनीहरूको स्बाब तत्कालै लिने गरेको र के खराबी भएको हो भनी अनुसन्धान भएको म्याटको भनाइ छ । ‘हामीले प्रत्येक साता भ्याक्सिन लिएका केही व्यक्तिको स्बाब संकलन गरेका थियौँ, उनीहरूको स्वास्थ्यमा केही खराबी आउँदा थप अनुसन्धान अगाडि बढायौँ,’ उनले भने । अहिले यस कम्पनीको भ्याक्सिनको प्रभाव ९६ प्रतिशत रहेको छ । एक व्यक्तिले भ्याक्सिन लिएपछि तीन महिनासम्म कोभिड–१९ संक्रमणबाट सुरक्षित रहने दाबी म्याटले गरेका छन् । 

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन लिएका व्यक्तिले तीन महिनाको अवधिमा अन्य कुनै पनि औषधि लिनु नपर्ने पनि उनको भनाइ छ । यता भ्याक्सिनमाथि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले चारदेखि १२ सातासम्म भ्याक्सिनको पहिलो डोजले नै काम गरिरहने जानकारी दिएका छन् । दोस्रोपटकको खोप लगाउँदा भ्याक्सिनको काम गर्ने शक्ति ८२ प्रतिशत रहेको छ । ‘अध्ययनअनुसार दोस्रो खोपको प्रभाव ८२ प्रतिशत देखिन्छ,’ स्वास्थ्य विभाग सचिव म्याटले भने । 

दोस्रो डोज खोप दिन हतार नगर्न सुझाब
कोरोना भाइरसविरुद्धको पहिलो चरणको भ्याक्सिनेसन अभियान विश्वभर नै जारी छ । पहिलो डोज सकिएका कतिपय राष्ट्रहरूले दोस्रो डोज चरणको खोप वितरणको तयारी गरिरहेका छन् । तर, बेलायतको मेडिकल एसोसिएसनले भने तत्काल दोस्रो डोज खोप प्रयोगमा ल्याउन नहुने भनाइ अघि सारेको छ । 

एसोसिएसनका प्रोफेसर तथा अक्सफोर्ड भ्याक्सिनका विज्ञ एन्ड्रयु पोलार्डले सबैतिरको नतिजा आएपछि मात्र दोस्रो डोज खोप दिन सुझाब दिएका छन् । आफूहरूले गरेको अध्ययनले यस्तो निष्कर्षमा पुगेको उनले बताएका छन् । ‘२२ दिनसम्म भ्याक्सिन लगाएका व्यक्तिको अवस्था हेर्नुपर्छ, पहिलो डोजले राम्रोसँग काम गरेपछि मात्र अर्को डोजका लागि योग्य मानिन्छ,’ प्रोफेसर पोलार्डले भने ।

फान्समा अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन प्रतिबन्ध
फ्रान्सको स्वास्थ्य विभागले भने अक्साफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन तत्कालका लागि प्रतिबन्ध लगाएको छ । फ्रान्सले अक्सफोर्ड भ्याक्सिन ६५ वर्षमुनि मात्र दिन मिल्ने दाबी गरिरहेको छ ।

यसभन्दा माथि उमेरका व्यक्तिलाई यो भ्याक्सिन दिँदा असर गर्ने फ्रान्सको स्वास्थ्य विभागको भनाइ छ । तर, बेलायतको स्वास्थ्य विभागका सचिव म्याटले वैज्ञानिकहरूले सबै किसिमको अध्ययन तथा अनुसन्धान गरेपछि मात्र भ्याक्सिन ६५ वर्षमाथि उमेरका व्यक्तिलाई पनि दिन मिल्ने अनुमति दिएको जानकारी दिएका छन् । 

उनी भन्छन्, ‘हामीले एकैपटक वृद्धवृद्धाहरूलाई भ्याक्सिन दिएका छैनौँ, यसअघि यसको राम्रोसँग अध्ययन भएको थियो, यसकारण भ्याक्सिन सबै उमेरकाले लिन सक्छन् ।’ 
बेलायतमा फाइजर तथा मोडर्ना भ्याक्सिनले विश्वास जित्न नसकेको स्वास्थ्यसचिव म्याटले बताए । यद्यपि बजारमा भएका सबै भ्याक्सिनको काम एउटै भए पनि यसको परिणामले असर गर्ने म्याटले जनाए । बेलायतमा मंगलबार १६ हजार आठ सय ४० संक्रमित थपिएका छन् । गत साताको तुलनामा यो संक्रमित संख्या २७ प्रतिशतले कम हो । अहिलेसम्म बेलायतमा नौ लाख ६० हजारले भ्याक्सिनको पहिलो खोप लिइसकेका छन् । यसै कारण बेलायतमा संक्रमित संख्यामा ह्रास आएको स्वास्थ्य विभाग सचिव म्याटले बताए 
अनुसन्धानकर्ताहरूले भ्याक्सिन सम्बन्धमा अझै पनि अध्ययन गर्न बाँकी रहेको बताएका छन् । यदि थप अनुसन्धान हुन सके आउँदो ६ महिनामा बेलायत मात्र नभएर अन्य राष्ट्रहरूमा समेत कोरोना संक्रमित संख्यामा कमी आउने म्याटको भनाइ छ । 
–बिबिसीबाट

सुझावित समाचार