मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १९ शनिबार
  • Saturday, 02 March, 2024
प्रा.डा. राजकुमार पोखरेल
२०७७ माघ २० मंगलबार १०:१५:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इतिहास विषय किन उपेक्षामा ? 

Read Time : > 5 मिनेट
प्रा.डा. राजकुमार पोखरेल
२०७७ माघ २० मंगलबार १०:१५:००

विश्वविद्यालयले समेत इतिहास विषयको महत्व र गाम्भीर्यलाई बुझ्दैन भने यो मुलुकको दुर्दिनका लागि विश्वविद्यालय पनि भागिदार रहनुपर्छ 

इतिहास भनेको मानव समाजका सामाजिक, राजनीतिक, आर्थिक, विज्ञान प्रविधि, चिकित्सा, संस्कृति, धर्म, बौद्धिकता, कूटनीति, समाजशास्त्र, पत्रकारिता, सैन्यजस्ता विषयवस्तुसँग सम्बन्धित तथा समयक्रममा तिनमा भएका परिवर्तन सिलिसिलाको अध्ययन हो । अर्काे अर्थमा विगतका ज्ञानको व्यवस्थित निरन्तरता हो । समाजमा रहेका वर्ग, जाति, धर्म, साहित्य, कला, संस्कृति, भूगोल, दर्शन, खेलकुदलगायत हरेक कुराको आफ्नो इतिहास हुन्छ । यही अर्थमा विभिन्न दार्शनिकले इतिहासको व्याख्या गरेका छन् । हाम्रा पुर्खाले जानेर या नजानेर इतिहासको ज्ञानको महत्वलाई हामीसामु छोडेर गएका छन् । 

मानव सभ्यताको विकासक्रमदेखि नै मानव इतिहासको पनि सुरुवात भएको छ । आज र हिजोको विश्वलाई तुलनात्मक दृष्टिकोणले बुझ्ने र हिजोका सकारात्मक वा नकारात्मक अनुभवबाट शिक्षा लिँदै आजको दिशा निर्धारण गरी भविष्यको गन्तव्य तय गर्ने विधा हो, इतिहास । इतिहास मानव समाजको वास्तविक ऐना भएकाले विश्वमा इतिहास विषयलाई महत्वका साथ अध्ययन अध्यापनमा राज्यले प्राथमिकता दिएको हुन्छ । जुन राज्यले इतिहासको अध्यनलाई महत्व दिन्छ, आफ्नो सभ्यता र संस्कृतिलाई इतिहासबाट पाठ सिकेर जगेर्ना गर्ने प्रयत्न गरेको हुन्छ, त्यो देशले विकासमा फड्को मारेको पनि देखिन्छ ।

आजका महाशक्ति अमेरिका र चीनले गरेको प्रगति तिनको इतिहासको ज्ञानकै उपज हो । पश्चिमा शक्तिको प्रभावबाट आफूलाई संरक्षित गर्दै आफ्नो संस्कृतिको जगेर्नाका लागि चीनले निरन्तर कन्फुसियसको योगदान अहिले पनि ताजै बनाउने प्रयास गरिरहेको छ । वास्तवमा इतिहासको अध्ययन भनेकोे भूमण्डलदेखि राष्ट्र, राज्य र स्थानीय तहसम्मका मानव जाति र समाजको सम्बन्धको अध्ययन हो । मानव जीवन र समाजका सवै विधा समावेश भएको एउटा मात्र विषय इतिहास हो । तसर्थ, इतिहास अध्ययनको महत्व जति छ, त्यसको चर्चा यस आलेखमा अटाउन सकिँदैन ।

नेपालको पूर्व–पश्चिमका पहाड र कन्दराहरूमा समाज कहिले स्थापना भयो भन्ने विषयलाई खोजीको विषय हामीले कहिल्यै बनाएनौँ । काठमाडौं उपत्यकाको उत्पत्तिदेखि मात्र हामीले हाम्रो समाजको खोजी गरेका छौँ र त्यसैलाई नेपाली समाज भन्ने गरेका छौँ । यो गल्तीलाई आजको इतिहासमा अरुचि भएको पुस्ताले सच्याउन निकै कठिन छ ।
 

नेपालमा इतिहासको अध्ययन र शासकीय सोच : इतिहास लेख्न तथ्य र प्रमाण चाहिन्छन् । विनातथ्य इतिहास बन्दैन । नेपाली समाजको स्थापना कहिले भयो वा नेपाल राज्यको उदय कहिले भयो भन्ने कुरामा हामीमा प्रशस्त मतभेद छ । मेसोपोटामिया वा नाइल घाँटी सभ्यताको इतिहासको गर्भमा वा पश्चिमाहरूले परिकल्पना गरेको दर्शनमा नेपाली समाजको प्रारम्भ भएको होइन । अज्ञानताका कारण हामीसँग नेपालको इतिहासका प्रमाणहरू सुरक्षित हुन सकेनन् । तसर्थ, हामी पूर्वीय दर्शनको अध्ययनका आधारमा नेपालको इतिहास गोपालवंशी शासकको उदयबाट गणना गर्न विवश छौँ ।

नेपालको पूर्व–पश्चिमका पहाड र कन्दराहरूमा समाज कहिले स्थापना भयो भन्ने विषयलाई खोजीको विषय हामीले कहिल्यै बनाएनौँ । काठमाडौं उपत्यकाको उत्पत्तिदेखि मात्र हामीले हाम्रो समाजको खोजी गरेका छौँ र त्यसैलाई नेपाली समाज भन्ने गरेका छौँ । इतिहासमा भएको यो गल्तीलाई आजको इतिहासमा अरुचि भएको पुस्ताले सच्याउन निकै कठिन छ । हाम्रो पुस्ता वास्तविक नेपाल भनेको राजा पृथ्वीनारायण शाहले एकीकरण अभियान चलाएपछि स्थापित भएको भूगोल नै नेपाल भनेर बुझ्ने गर्छ । 

हाम्रा आफ्ना मौलिक समाज, संस्कृति, परम्परा र रीतिरिवाज हाम्रा अकाट्य ऐतिहासिक सम्पत्ति हुन् । तिनको संरक्षणमा सजग हुँदासम्म नेपाल सुरक्षित रहनेछ भन्ने कुरा अन्यत्रको इतिहासबाट पनि सिक्नुपर्ने हो । इतिहासको महत्व बुझेरै हुनुपर्छ हाम्रा विगतका शासकहरूले औपचारिक शिक्षाको थालनी गर्दा इतिहासको अध्ययन अध्यापनलाई अनिवार्य बनाएका थिए । राणाशासनको जग बसाल्ने जंगबहादुरले दरबार हाईस्कुल स्थापना गर्दा थालनी गरेको अनिवार्य इतिहास विषयको अध्ययनलाई निकै पछिसम्म निरन्तरता दिइएको पाइन्छ । कतिपय राणा शासकले आफ्नो इतिहास लेखाउने चलन पनि चलाए ।

जंगबहादुरको बारेमा उनका छोरा पद्मजंगले चलाएको कलम होस् वा ओल्डफिल्डको लेखनलाई, नेपाली इतिहास लेखनको क्षेत्रमा योगदान मान्नुपर्छ । बाबुराम आचार्यलाई इतिहास खोजीमा प्रोत्साहित गर्ने काममा राजा महेन्द्रले गरेको योगदानले नेपाली इतिहास लेखन र अध्यापनमा एउटा महत्व राख्छ । दरबारले दरबारियाको मात्र इतिहास लेख्न लगाएकोे भन्ने आवाज पछिल्ला दिनमा उठेका भए पनि इतिहासको निर्माण शासकबाटै बन्ने गरेको कुरा कोर्सिका टापुमा जन्मिएका नेपोलियनको इतिहास सेनामा जागिरे हुँदासम्म निर्माण नभएको र शासकमा उदय भएपछि बनेको एउटा दृष्टान्त हो । राष्ट्र वा समाजमा योगदान गर्नेको नै इतिहास लेखिन्छ, जसरी बिसे नगर्चीको लेखियो । 

नेपालमा पञ्चायतकालको मध्यान्तर, खासगरी गैरसरकारी संस्थाको उदय र विकासमा पश्चिमा डलरको खेती प्रथाको प्रारम्भपछि नेपाली इतिहासको अध्ययनमा ऐतिहासिक तथ्यमाथि आक्रमण सुरु भयो । इतिहासको यथार्थ नबुझी पृथ्वीनारायण शाहलाई खुनी र अमानवीयको संंज्ञा दिन थाल्नु यसको एउटा ज्वलन्त उदाहरण हो । धर्म, संस्कृति र सभ्यताको परिचयमाथिको प्रहार, नेपालमा अध्यापन हुने इतिहास विषय राजा महाराजाको मात्र बन्यो, जनताको इतिहास खै ? भन्ने प्रश्नको निर्माण र प्रचार केवल इतिहास अध्ययनमाथि भएको प्रहार मात्र थिएन । यो सिंगो राष्ट्रिय गौरवमाथिको प्रहार थियो । नेपालको सन्दर्भमा विदेशी मुद्राको आकर्षणले समाजशास्त्रीय पण्डितहरूले इतिहासका तथ्यको अपव्याख्या गरेर यहाँको धर्म, संस्कृति, सामाजिक एकता र राष्ट्रिय अस्मितामाथि विभिन्न बहानामा आक्रमण गर्न थालेपछि हाम्रो समाजमा इतिहास अध्ययनले गौणता पाउन थाल्यो । 

धर्म, संस्कृति र सभ्यताको परिचयमाथिको प्रहार, नेपालमा अध्यापन हुने इतिहास विषय राजा–महाराजाको मात्र बन्यो, जनताको इतिहास खै ? भन्ने प्रश्नको निर्माण र प्रचार केवल इतिहास अध्ययनमाथि भएको प्रहार मात्र थिएन । यो सिंगो राष्ट्रिय गौरवमाथिको प्रहार थियो ।
 

राज्यको दृष्टिकोण : पञ्चायतकालको अन्तिम समयदेखि सुरु भएको इतिहासका तथ्य र ज्ञानमाथि राजनीतिको नाममा प्रहार गर्ने क्रम प्रजातन्त्रको पुनरोदयपश्चात् अझ विकसित अवस्थामा देखा पर्‍यो । सत्ता वा प्रतिपक्षमा उभिएर नेपालमा राजनीति गर्नेहरूको दृष्टि इतिहासप्रति कहिल्यै सकारात्मक बनेन । ०४७ सालमा बनेको संविधानपछि स्थापित सरकारहरूले इतिहासको ज्ञान र मर्मको खोजी गरिदिएको भए सायद राजनीतिमा अवसरवाद न यति मौलाउने थियो, न त अस्थिरताले जग नै हाल्ने थियो । विदेशी स्वार्थ र खेल सायद यसवेला निमिट्यान्न अवस्थामा पुग्ने थियो । भूतकालीन अवस्थाको अध्ययन, वर्तमानको मार्गदिशा र भविष्यको गन्तव्यमा यति गन्जागोल हुने थिएन । राज्यको इतिहास विषयको ज्ञानप्रतिको यही उदासीनताले मुलुक ठूलो विध्वंसको भुमरीमा लामो समय लटपटियो । इतिहासको वस्तुपरक विश्लेषणभन्दा पनि बाहिरी स्वार्थका लागि आयातित विचारले हामीलाई गाँज्यो ।

हामी इतिहासको अलिकति पनि हेक्का नराखी ०७२ सालको संविधान निर्माण गर्दा खस राज्यको कमजोरीमा उदय भएको बाइसी चौबिसी राज्यको अनुकरण गर्ने दिशामा अघि बढ्यौँ । त्यो कालखण्डको त परै जावस्, निवर्तमानमा रहेको युगोस्लाभिया र सोभियत संघको पतनको कारण त्यसको संरचनामा नखोजी राजनीतिमा मात्र खोज्यौँ र हामी आज त्यो सम्भावित खतराको डिलमा उभिने गरी राज्यसंयन्त्र स्थापित गर्ने प्रयासमा छौँ । यही विचारको परिणाम पनि हो, देशमा इतिहास अध्ययन गर्ने विद्यार्थीको संख्या झन्डै शून्यमा पुगिसकेको । अहिले बितेको एक–दुई वर्षयता जनतामा आएको चेतनाको उपज मृत्युशड्ढयामा पुगेको इतिहास विषयको अध्ययन अलिकति ब्युँझिन थालेको प्रतीत हुन्छ ।

इतिहास विषयको अध्ययनमा लागेको रोगका लागि हामी इतिहासविद् पनि जिम्मेवार छौँ । हाम्रै मुलुकमा पछिल्ला कालखण्डमा सीमा विवादलगायतका विषयमा उठेका मुद्दामा इतिहास विषयलाई राज्यले अनदेखा गरेको सबैले अनुभूति गरेकै हुन् । राजनीति गर्नेहरू आफ्नो बायोग्राफी लेखाउन वा आफ्ना योजनाका सपनाहरू जनताका माझ ल्याउन साहित्यमा कलम चलाउनेहरूलाई बिन्तीपत्र हाल्न गएका दृष्टान्त पनि हामीसँग छन् । तर, तिनले लेखाएका कृतिहरू इतिहासकार वा त्यसको अन्वेषणकर्ताको हातमा नपुग्दासम्म त्यो इतिहास बन्न सक्दैन । हाम्रो राजनीतिको पाठशालामा इतिहास बुझ्ने–बुझाउने गरिएको छैन । यो नै हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य हो । 

विश्वविद्यालयमा इतिहास विषय : कुनै समय नेपालमा माध्यमिक विद्यालयस्तरमा ऐच्छिक भए पनि इतिहास एउटा सिंगो विषय थियो । तर, आज यो अर्कै विषयको एउटा हिस्सा मात्र बनेको छ । इतिहासमा जर्मनी एकीकरणलाई बुझ्न पर्सियादेखि लरेन्स वा नेपाल एकीकरणमा गोरखादेखि काठमाडौं खोज्नुपर्‍यो भने भूगोलविना बुझ्न सकिँदैन र तिनले अपनाएका विधि र रणनीतिहरू राजनीतिका पाटाहरू हुन् । त्यसैले नेपालमा विश्वविद्यालयमा इतिहास विषय प्रारम्भदेखि नै रहँदै आएको छ । तर, पछिल्ला दिनमा इतिहास विषय अध्ययनमा मानिसमा रुचिको अभाव देखिँदा विद्यार्थीशून्यताको प्रचार पनि हुन गयो । त्यसैले विषयको महत्वभन्दा लाभ–हानिका दृष्टिले विश्वविद्यालयका पदाधिकारीका नजरमा यो विषय गौण बन्न गयो । विषय अध्ययनमा रहेको अरुचिका कारण खोज्नतिर न कसैको ध्यान गयो, न यसले पार्ने दूरगामी प्रभावका विषयमा सोच्ने जिम्मेवारी वहन गरियो । विश्वविद्यालयले समेत इतिहास विषयको महत्व र गाम्भीर्यलाई बुझ्दैन भने यो मुलुकको दुर्दिनका लागि विश्वविद्यालय पनि भागिदार रहनुपर्छ । अहिले नेपालमा झन्डै एक दर्जन विश्वविद्यालय छन्, तर तिनमा इतिहास विषयको अध्ययन अध्यापन भने त्रिभुवन विश्वविद्यालयमा मात्र छ । 

विगत केही वर्षयता त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको पाठ्यक्रमलाई उपयोगी बनाउन सुधार गर्दै लगिएको छ । शासकका अलावा राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, जनसमुदायमा आधारित र स्थानीयलगायत विविध विषय समावेश गरी इतिहासको जानकारी दिने प्रयास गरिएको छ । विश्वविद्यालयले अलिकति सकारात्मक सोच बनाइदिने तथा सरकारी निकायले संरक्षणमा ध्यान दिने हो भने इतिहास विषयमा आकर्षण पुनः बढाउन सकिन्छ। 

(पोखरेल त्रिवि इतिहास केन्द्रीय विभाग प्रमुख हुन्)