मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १९ सोमबार २०:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्यानमारमा सैनिक ‘कु’बारे बोल्यो नेपाल, गिरफ्तार शीर्ष नेतालाई रिहाइको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १९ सोमबार २०:५९:००

म्यानमारमा भएको सैनिक ‘कु’को नेपालले औपचारिक रूपमा विरोध गरेको छ । साँझ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा गिरफ्तार राष्ट्रपति उ विन मिन्ट तथा स्टेट काउन्सिलर आङ सान सुकीलगायतको तत्काल रिहाइका लागि अनुरोध गरिएको छ । 

म्यानमारमा आज बिहान भएको सैनिक ‘कु’प्रति अन्तर्राष्ट्रिय समुदायले विरोध जनाइरहेकोमा नेपालले पनि विरोध जनाएको हो । गत नोभेम्बरमा भएको आमनिर्वाचनलाई धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएर नेसनल लिग फर डेमोक्रेसीका नेतासहित मन्त्री तथा प्रदेश प्रमुखहरूलाई गिरफ्तार गरेको छ । 

‘नेपालले म्यानमारमा भएका विकासक्रमलाई नजिकबाट नियालिरहेको छ । हामी विश्वास गर्छौँ कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै पुनस्र्थापना हुनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । नेपालले पक्राउ परेका राष्ट्रपति मिन्ट तथा स्टेट काउन्सिलर सुकीको सुरक्षाबारे चिन्तासमेत व्यक्त गरेको छ । 

यसैबीच, म्यानमारका लागि नेपाली राजदूत भीम उदासले त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको बताएका छन् । म्यानमारको पुरानो राजधानी रंगुनबाट टेलिफोनमा उनले नयाँ पत्रिकासँग भने, ‘यहाँको घटनाक्रमलाई हामीले नियालिरहेका छौँ र परराष्ट्र मन्त्रालयमा नियमित रिपोर्टिङ गरिरहेका छौँ । नेपाली नागरिक सबै हाम्रो सम्पर्कमा हुनुहुन्छ र उहाँहरू सबै सुरक्षित हुनुहुन्छ ।’