१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शर्मिला पाठक रासस
२०७७ माघ १८ आइतबार १३:५९:००
Read Time : > 1 मिनेट
फिचर

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

Read Time : > 1 मिनेट
शर्मिला पाठक रासस
२०७७ माघ १८ आइतबार १३:५९:००

पुनर्निर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आज (आइतबार)देखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो । यसअघि यहाँका विद्यार्थीलाई प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठको प्रांगणमा राखी पठनपाठन गरिँदै आइएको थियो ।  

१२ वैशाख ०७२ सालनमा गोर्खालाई केन्द्र बनाएर गएको भूकम्पले विद्यालय पूर्ण रूपमा क्षति भएको थियो । विद्यालयको पुनर्निर्माण गत फागुनमै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन आकर्षक ढंगले पुनर्निर्माण भएको छ । गत ५ कात्तिकमै विद्यालयको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । 

कोरोनाकै कारण लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट पठनपाठन अघि बढाएका थिए । एक साताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गरेको कामपा– २७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिए ।

 
निर्धारित कोटाअनुरूप अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी संख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले तीन सय १२ जना विद्यार्थी पठनपाठन गरिरहेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए । 

नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको छ । पुनर्निर्माणपछि सो विद्यालयमा प्रतिकक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः ६ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ । 

नौ रोपनी क्षेत्रफलमा निर्माण गरिएको विद्यालय भवन चारतले छ । यसमा ६० वटा कक्षा कोठा छन् । नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोगशालासमेत
नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।  चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवन निर्माण चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरेको हो ।  भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुईवटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत छ । ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ । 

तत्कालीन राणा सरकारले १९१० सालमा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि २७ असोज १९१० मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । त्यसबेला यहाँ राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने व्यवस्था थियो । १९५७ सालमा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारणका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको हो ।