मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एई जुन
२०७७ माघ १८ आइतबार ०८:१३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनलाई चिन्न नसकेको बिबिसी

Read Time : > 2 मिनेट
एई जुन
२०७७ माघ १८ आइतबार ०८:१३:००

उदारवादका कैयौँ फाइदा छन् । तर, जब यसले जिम्मेवारीलाई भन्दा स्वतन्त्रतालाई अगाडि राख्छ, तब यो स्वार्थीपनमा बदलिन्छ ।

उसो त चिनियाँ नागरिकले पछिल्लो समय पश्चिमी मिडियालाई त्यति गम्भीरताका साथ लिन छाडेका छन् । पश्चिमी मिडियाको भिडमा पछिल्लो समय बिबिसी अरूभन्दा पनि अविश्वसनीय देखिएको छ । भर्खरै बिबिसीले एउटा समाचारमा चीनले स्प्रिङ फेस्टिबल (वसन्त पर्व)को बिदामा घर जान चाहने नागरिकविरुद्ध कठोर नीति अवलम्बन गरेको लेख्यो । बिबिसीले त्यसलाई चीनले नागरिकलाई बन्धक बनाएको भन्दै लेख्यो । बिबिसीले प्रयोग गरेको भाषामा चिनियाँ जनताको सामूहिक भावनाप्रतिको उसको अज्ञानता झल्कियो । भाइरस नियन्त्रणमा चीनको नीति सबैभन्दा सफल देखिँदा–देखिँदै पनि उनीहरूले यो प्रकारको भाषा प्रयोग गर्न छाडेका छैनन् ।  

चीनमा कसैले पनि वसन्त पर्वको समयको आवतजावतमाथिको नियन्त्रणलाई कठोर मानेका छैनन् । जाडो महिनामा ठूलो संख्यामा मानिसहरू घर आउने–जाने गर्दा महमारी नियन्त्रण प्रयासमा असर पुग्छ भन्ने चिनियाँ जनताले बुझेका छन् । पारिवारिक भेटघाटपछि पनि गर्न सकिन्छ भन्ने उनीहरूले बुझेका छन् । अहिले पहिलो प्राथमिकतामा भाइरस नियन्त्रण हुुनुपर्छ । बिबिसीले यो बुझ्न सकेन कि अधिकांश चिनियाँ नागरिक यो बिदामा स्वेच्छिक रूपमा घरमै बसेका छन् । 

अघिल्लो वर्षको वसन्त पर्वको यात्रा सिजन तत्कालीन समयमा उति धेरै जानकारी नभएको भाइरस फैलिने उर्वर समय बन्यो । त्यस अवधिमा भाइरस चीनका धेरै स्थानमा पुग्यो । लगत्तै यात्रा प्रतिबन्ध लागू हुँदा धेरै मानिस आफू गएको स्थानमा रोकिन पुगे । त्यसैले यो वर्ष मानिसहरूलाई यात्रा नगर्न भन्दा उनीहरूले नमान्ने सम्भावना कम छ । र, यो अनिवार्य पनि गरिएको छैन । जसलाई घर जान मन लागेको छ, उनीहरू घर जान सक्छन् । 

चिनियाँ नागरिकलाई संकटको समयमा व्यक्तिगत स्वतन्त्रतालाई पूर्ण पालना गर्न सकिन्न भन्ने राम्ररी थाहा छ । विगतमा लकडाउनको समयमा केही मानिस यो नबुझेर जबर्जस्ती यात्रामा निस्किए । उनीहरूले पछि आमजनताबाटै आलोचना खेप्नुपर्‍यो । त्यसैले चिनियाँहरू देशको स्थितिबारे सचेत छन् । बिबिसीले भनेजस्तो उनीहरूले महमारीको समयमा व्यक्तिगत स्वतन्त्रता गुमेको भन्दै गुनासो गरिरहेका छैनन् । उनीहरूलाई सामूहिक प्रयासले मात्र यस महामारीलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने थाहा छ । पश्चिमी देशहरूमा नजर लगाउनुभयो भने धेरै युरोपेली देशमा महामारी नियन्त्रणका लागि अवलम्बन गरिएका कदमविरुद्ध नै ठुल्ठूला प्रदर्शन भएको देखियो । त्यस्तै कैयौँ स्थानमा विद्यालय खोल्ने समय पछाडि सारिएकोमा पनि विरोध देखियो । अमेरिकामा पनि विभिन्न नाममा विरोधहरू भइरहेका छन् ।

अमेरिकामा संक्रमितको संख्या बढेकोबढ्यै छ तर उनीहरू अझै चीनको प्रयासलाई ‘निरंकुशतावादी’ भनेर आलोचना गरिरहेका छन् । उदारवादका कैयौँ फाइदा छन् । तर, जब यसले जिम्मेवारीलाई भन्दा स्वतन्त्रतालाई अगाडि राख्छ, तब यो स्वार्थीपनमा बदलिन्छ । यस्तो कार्यले देशमा भाइरसको विस्तारलाई सघाउँछ । बिबिसीले चीनको प्रयासलाई बुझ्ने कोसिस गर्नुको साटो चिनियाँ सरकारले जनताको धरपकड गरेको फेक न्युजमार्फत मानिसमा भ्रम पार्न खोजेको लेखिरहेको छ । बिबिसीले अन्य समाचारमा पनि यस्तै पूर्वाग्रह देखाएको छ । जस्तो– वुहानमा कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन लागू गरेको एक वर्षपछिको सन्दर्भमा प्रकाशित समाचारमा पनि पूर्वाग्रह दखिएको थियो । समाचारप्रति कैयौँ चिनियाँ नेट प्रयोगकर्ताले विरोध जनाएका थिए । 

बिबिसीले समाचार तयार पार्ने क्रममा विभिन्न चिनियाँहरूसँग प्रश्न गरेको थियो । जवाफ दिने चिनियाँहरूमा आत्मविश्वास झल्किन्छ । उनीहरूमा पश्चिमाहरूको हरेक कुरा आँखा चिम्लेर विश्वास गर्न सकिन्न भन्ने परिपक्वता आइसकेको देखिन्छ । वसन्त पर्वबारेको लेखमा बिबिसीले यो वर्ष विदेश जान चाहने चिनियाँहरूले पनि मन मार्नुपर्ने लेखेको छ । खासमा अधिकांश चिनियाँहरू यो महामारीमा विदेश जाने मानसिकतामै छैनन् ।

बिबिसीले पहिले त ब्रिटेन कोरोना नियन्त्रण गर्न किन असफल भयो भनेर घोत्लिनु पो पर्छ कि ? खासमा बिबिसीले यथार्थलाई राम्ररी प्रस्तुत नगरेकाले नै उसको देशको महामारीविरुद्धको कदममा असर प¥यो । चीनमा वसन्त पर्व बिदा त सुरु भएको छ, तर यो वर्ष सम्भवतः धेरै चिनियाँले देश तथा मनवताका लागि परिवारिक भेट अर्को वर्षलाई सार्नेछन् । यसलाई नागरिक बन्धक भन्नुहुँदैन । 

(जुन ग्लोबल टाइम्सका पत्रकार हुन्)
ग्लोबल टाइम्सबाट