१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १४ बुधबार ०७:५०:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

घान्द्रुकमा सिनेमा, साहित्य र पर्यटनबारे मन्थन

Read Time : > 1 मिनेट
२०७७ माघ १४ बुधबार ०७:५०:००

कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचार–प्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले चलचित्रकर्मी र पर्यटन व्यवसायीले गरे अन्तरक्रिया

कोरोना भाइरस महामारीबाट धेरै प्रभावित हुने क्षेत्रमा मनोरञ्जन र पर्यटन पनि पर्छ । पर्यटन क्षेत्र साउन पहिलो सातादेखि नै खुला गरिए पनि मनोरञ्जन क्षेत्र भने भर्खर मात्र खोलिएको छ । तर, अझै पनि मानिसहरू कोरोनाबाट ढुक्क हुन सकेका छैनन् । अलि–अलि पर्यटकीय गतिविधि बढे पनि सिनेमा प्रदर्शन अझै व्यवस्थित हुन सकेको छैन । सिनेमाहल खुले पनि नयाँ चलचित्र रिलिज गर्ने आँट निर्माता निर्देशकले गर्न सकेका छैनन् । यसैक्रममा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सिनेकर्मी र पर्यटन व्यवसायीले सोमबार र मंगलबार दुई दिन सिनेमा र पर्यटनका विषयमा अन्तरक्रिया गरेका छन् । 

कोरोना कहरका कारण शिथिल बनेको सिनेमा र पर्यटन क्षेत्रलाई गतिशील बनाउने उद्देश्यसहित चलचित्र पत्रकार संघ कास्कीले ‘सिनेमा संवाद एट घानद्रुक’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सिनेमा, पर्यटन, सञ्चार क्षेत्रका चार दर्जनभन्दा बढी सहभागी काठमाडौं, पोखरालगायतबाट घान्द्रुक पुगेका थिए । कोभिडपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुवै पर्छन् । कार्यक्रममा ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमा संवाद भएको थियो । सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना विषयमा चलचित्र निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईसँग पत्रकार वासु मिश्रले संवाद गरेका थिए । 

निर्देशक थापाले कोभिडका कारण सिनेमा र पर्यटन अति प्रभावित भएको बताए । पर्यटन र सिनेमा एक–अर्कामा जोडिएको विषय रहेको उनको भनाइ थियो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुग्ने क्रममा १२ वर्षअघि ‘मेरो एउटा साथी छ’ चलचित्र सुटिङका लागि आफू घान्द्रुक आएको स्मरण गर्दै त्यसवेला नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक ल्याएको स्मरण गरे । कुनै पनि स्थानलाई चिनाउन सिनेमा र गीत–संगीतले धेरै सहयोग गर्ने उनले बताए । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँ पर्यटकीय हब बनेको भन्दै सिनेमाकै कारण पोखरासँगै आसपासका क्षेत्र परिचित भएको बताए । हाल पर्यटन संस्थाहरू अस्ताएजस्तो देखिएको र यसलाई क्रियाशील बनाउन समन्वय जरुरी रहेको भनाइ उनको थियो । 

‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी विषय’मा कलाकार दीपकराज गिरी, लेखक गनेस पौडेल, कवि भूषिता वशिष्ठसँग सञ्चारकर्मी एवं कलाकार दिनेश डिसीले संवाद गरेका थिए । गिरीले व्यावहारिक जीवनसँग जोडिने संवादले सिनेमामा दर्शकलाई जोड्ने भनाइ राख्दै लेख्ने र बोल्ने चिज दुवै फरक भएको उल्लेख गरे । साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मी दर्शकसँग डराएको भन्दै गिरीले लेखिने र बोलिनेमा फरकपन रहने बताए । 

कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन् । साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा उनले सिनेकर्मी साहित्यकारहरूसँग डराउन नहुने भनाइ राखिन् । केही कृतिले ऐतिहासिक देशकालको कथा बोलेका छन् भने कुनैले समसामयिक परिवेशलाई चित्रण गरेका छन्, तिनैको कथामा सिनेमा निर्माण हुँदा साहित्यसँगको सम्बन्धलाई सिनेमाले जोडेको भनाइ उनको थियो । लेखक पौडेलले सिनेमा कला भएको र भाषा नभएको भन्दै आफ्नो परम्परा र संस्कृति राखेर कला सिनेमा देखाउन सकिने बताए ।