Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १२ सोमबार १९:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पौडेल समूहको प्रस्ताव, ‘आन्दोलन र महाधिवेशनको तयारी सँगसँगै गरौँ’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १२ सोमबार १९:०४:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने अडान राखेका छन् । केन्द्रीय कार्यसमितिको बैठकका लागि पौडेल समूहको साझा प्रस्ताव बनाउन सोमबार भएको छलफलमा पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएर थप आन्दोलनका कार्यक्रमको घोषणा गर्नुपर्ने बताएका हुन् । कांग्रेस कार्यसमिति बैठक मंगलबार बस्दै छ ।

महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको छलफलले वडास्तरसम्मका आन्दोलनका कार्यक्रमले कार्यकर्तामा जागरण आएको भन्दै अब थप शक्ति प्रदर्शनसहितका विरोध सभाहरू गर्नुपर्ने प्रस्ताव तय गरेको छ । 

पौडेल समूहले १४औँ महाधिवेशनको तयारीलाई समेत थप गति दिएर अगाडि बढाउनुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने भएको छ । ‘संविधान जोगाउने कुरा मुख्य हो, व्यवस्था नै नरहे हामीले के गर्ने ? त्यसैले आफ्नो धारणा खुलेर राख्नुपर्छ, थप आन्दोलनका कार्यक्रमहरू बनाउनुपर्छ,’ छलफलमा पौडेलले भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य जीवन परियारले भने । 

कांग्रेसले एक वर्षअगावै आगामी फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औँ महाधिवेशनको मिति निर्धारण गरेको भए पनि अब त्यो मितिमा महाधिवेशन नहुने निश्चित भइसकेको छ । 

महाधिवेशनको पूर्वतयारी र अर्को कार्यतालिकाका विषयमा समेत छलफल गरेर निर्णय लिनुपर्ने पौडेल समूहका नेताहरूले जोड दिएका छन् । ‘मुख्यतः दुईवटा एजेन्डा तय भएको छ, पहिलो प्रतिनिधिसभा विघटनको विरोधमा अर्को आन्दोलनको कार्यक्रम बनाउने, र दोस्रो भनेको महाधिवेशनको तयारीबारे हो । यिनै प्रस्ताव केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा लैजानेबारे छलफल भएको छ,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नयाँ पत्रिकासँग भने । 
कांग्रेसले माघ मसान्तभित्र सबै जिल्ला र क्षेत्रीय समितिहरूलाई क्रियाशील सदस्यता वितरण र नवीकरणको सबै विवरण केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ । 

प्रतिनिधिसभा विघटनपछि प्रदेश सरकारमा उत्पन्न भएको समस्याका विषयमा समेत छलफल भएको एक नेताले बताए । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीनिकट रहेका प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । दुवै प्रदेशमा कांग्रेस निर्णायक भूमिकामा छ । दुवै समूहले कांग्रेसलाई सहकार्यका लागि आग्रह गरेका छन् । तर, कांग्रेसले निर्णय दिएको छैन । 

सभापति शेरबहादुर देउवाले यसअघि प्रदेशका केन्द्रीय सदस्यहरूसँग बसेर छुट्टा–छुट्टै छलफल गरेका थिए । छलफलपछि सभापति देउवाले प्रदेश सभा संसदीय दललाई सांसदहरूसँग छलफल गरेर राय लिएर आउन संसदीय दलका नेताहरूलाई निर्देशन दिएका छन् । 

मंगलबारको केन्द्रीय समिति बैठकमा त्यसबारे पनि प्रस्ताव आउन सक्ने भएकाले पौडेल समूहले सोमबार आफ्नो रणनीति बनाएको छ । ‘नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको छ, तर अविश्वासको प्रस्तावको विपक्षमा कोही पनि छैन, थप छलफल भइरहेको छ,’ बैठकपछि एक नेताले भने । 

सभापति देउवानिकट नेताहरूले भने कांग्रेसले उपयुक्त समयमा निर्णय लिन सक्ने धारणा राख्दै आएका छन् ।