१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ११ आइतबार २१:२०:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आर्मी र एपिएफको ठूलो अन्तरको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ११ आइतबार २१:२०:००

विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा ठूलो अन्तरको जित हात पारेका छन् । 

आर्मीले स्याङ्जाको वालिङ नगरपालिका र एपिएफले विराटनगर महानगरपालिकालाई समान ७–० को अन्तरले पराजित गरे । सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा भएको पहिलो खेलमा विमला चौधरीले ह्याट्रिक गोल गरेपछि आर्मीले वालिङविरुद्ध एकतर्फी जित निकालेको हो ।

विमलाले खेलको १५औँ मिनेटमै टोलीलाई १–० ले अगाडि बढाएकी थिइन् । त्यसपछि खेलको २८औँ मिनेटमा दीपा राईले आर्मीको अग्रता दोब्बर बनाइन् । पहिलो हाफको केही समयअघि मात्रै शर्मिला थापाले अग्रता ३–० मा पु¥याएकी थिइन् । 

आर्मीले दोस्रो हाफमा पनि निरन्तर गोल ग¥यो । खेलको ६६औँ र ७५औँ मिनेटमा लगातार दुई गोल गर्दै विमलाले ह्याट्रिक पूरा गरिन् । त्यसपछि अतिरिक्त खेलाडीको रूपमा मैदानमा प्रवेश गरेकी हेमा चौधरीले खेलको ८९औँ र भुजंगा राईले ९२औँ मिनेटमा गोल गर्दै आर्मीको जित ७–० ले पक्का गरे । 

खेलपछि वालिङका प्रशिक्षक दिलीप थापाले आफ्ना विदेशी खेलाडी चोटग्रस्त हुनु र भएका खेलाडीबीच तालमेल मिल्न नसक्नु पराजयको कारण भएको बताए । ‘हामीसँग भएको अफ्रिकी खेलाडी चोटग्रस्त छिन् । बाँकी जसले अवसर पाएका थिए, उनीहरूबीच तालमेल नै मिलेन,’ उनले भने, ‘मलाई आशा छ कि हामी खेलमा यस्ता गल्तीमा सुधार गर्नेछौँ ।’

आर्मीका प्रशिक्षक राजु तामाङले भने खेलाडीको प्रदर्शनमा खुसी व्यक्त गरे । ‘पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएपछि हामीले स्कोरिङमै जोड दिएका थियौँ । योजनाअनुसारको खेल भएको छ,’ उनले भने, ‘खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु ।’

यस्तै, आजै भएको दोस्रो खेलमा सावित्रा भण्डारी एक्लैको चार गोलको मद्दतमा एपिएफले विराटनगरविरुद्ध सहज जित निकाल्यो । एपिएफलाई अनिता केसीले छैटौँ मिनेटमै अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राले खेलको २५औँ, ४२औँ ७४औँ र ८९औँ मिनेटमा लगातार चार गोल गरिन् । त्यसअघि खेलको ७२औँ मिनेटमा सरु लिम्बूले गोल गरिन् । खेलको ८०औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफको जित ७–० ले पक्का भएको थियो ।

विराटनगरका प्रशिक्षक पारस चौधरीले बलियो टोलीविरुद्ध खेलाडीले योजनाअनुसारको खेल्न नसकेको प्रतिक्रिया दिए । ‘एपिएफ बलियो टोली हो । त्यसैले हामीले उनीहरूविरुद्ध रक्षात्मक खेल्ने र सकेसम्म कम गोल खाने रणनीति बनाएका थियौँ,’ उनले भने, ‘तर, योजनाअनुसारको खेल हुन सकेन । बलियो टोलीविरुद्ध हाम्रा खेलाडीले दबाब थेग्न सकेनन् ।’ 

एपिएफका प्रशिक्षक जनकसिंह थारूले खेलाडीले धेरै अवसर खेर फाल्दा जितको अन्तर कम भएको जनाए । ‘दोस्रो हाफमा गोलका धेरै राम्रा अवसर खेर गए । ती अवसर सदुपयोग गर्न सकिएको भए अन्तर अझ ठूलो हुने थियो,’ उनले भने, ‘आगामी खेलमा यी गल्ती सुधार हुने अपेक्षा गरेका छौँ ।’